बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

जिम्मेवारबाटै निषेधाज्ञा उल्लंघन !

जिम्मेवारबाटै निषेधाज्ञा उल्लंघन !

प्रशासनको स्वीकृतबिनै हुन्छन भव्य कार्यक्रम ।


  • विजय नेपाली
  • भाद्र ६ २०७८, आइतबार

पोखरा/ कोरोना महामारीको संक्रमण बढिरहेको अवस्थामा पोखरा रंगशालामा खेलकुद निकायबाट निषेधाज्ञाको उल्लंघन गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद विकास समिति तथा पोखरा महानगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्वागत, बधाइ तथा शुभकामना कार्यक्रम गरिएको छ ।

कोरोना संक्रमणदर बढ्दै गएका कारण जिल्ला प्रशासनले सार्वजनिक कार्यक्रम, भेला, गोष्ठी गर्न निषेध गरेको छ । तर, प्रशासनलाई नै जानकारी नदिई कार्यक्रम गरिएको हो । खेलकुद मन्त्रालय अन्तर्गत रहेका खेल परिषद् तथा समितिहरुले संयुक्त रुपमा पोखरामा बन्द प्रशिक्षण गरिरहेका राष्ट्रिय फुटबल टोली तथा अफिसियललाई स्वागतका साथै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङ बधाइ तथा शुभकामना दिएको हो ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले समेत निषेधाज्ञा उल्लंघन गर्दै पोखरा ३३ भरतपोखरीको एक कार्यक्रममा उपस्थित भए । उनले त्यहाँ युवाहरुलाई भेला पारेर १५ थान भलिबल र जाली हस्तान्तरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा रंगशाला गतिविधिबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । उनले महामारीको समयमा भीडभाड हुने किसिमका काम नगर्दा नै उचित हुने बताए । ‘उहाँहरुले आफ्नै हिसावले कार्यक्रमको आयोजना गर्नुभयो होला । प्रशासनसँग समन्वय भएको छैन । महामारीको समयमा भीडभाड गर्नु राम्रो कुरा होइन,’ उनले भने ।

रंगशालामा भइरहेको प्रशिक्षणबारे समेत प्रशासनसँग कुरा भएपनि के कसरी गर्ने भन्नेबारे निर्णय भइनसकेको गौतमले बताए । उनले प्रशिक्षणबारे समेत बुझेर निर्णय गरिने स्पष्ट पारे ।
कार्यक्रममा सहभागी राष्ट्रिय खेलकुद परिष्द सदस्य राजेश गुरुङले ‘खासै ठूलो कार्यक्रम’ नभएको बताए । परिषद्का अर्का सदस्य सम्पन्न श्रेष्ठले महामारीको समयमा कार्यक्रम गर्नुको कुनै अर्थ नरहेको बताए ।

‘महामारीको समयमा देखावटी कार्यक्रम गर्न आवश्यक छैन । खेलाडीका लागि प्रशिक्षण कसरी गराउने भन्ने सोच्नुपर्ने समयमा मान्छे जम्मा गरेर कार्यक्रम गर्नु राम्रो होइन,’ उनले भने, ‘संक्रमण बढिरहेको छ । मृत्युदर पनि उत्तिकै बढेको छ । यस्तो बेलामा भड्किलो गरेर के हुन्छ ? उल्टै खेलाडीलाई संक्रमण बढ्ने जोखिम मात्र हो ।’ श्रेष्ठले प्रशासन भन्दा माथि उठेर कोहीपनि जान नहुने बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले पोखरामा दैनिक २ सय देखि ३ सयको हारहारीमा संक्रमित बढिरहेको अवस्थामा कार्यक्रम गर्नु अनुचित रहेको बताए । ‘पोखरा कोरोनाको केन्द्र बिन्दु बन्दै गएको छ । प्रदेशभरका विरामीमात्र नभई अन्य जिल्लाका समेत आउने यही हो । त्यसैलेपनि यहाँ संक्रमित ह्वात्तै बढिरहेका छन् । यस्तो समयमा कार्यक्रम हुनु राम्रो कुरा होइन,’ उनले भने ।

गण्डकी प्रदेशमा पछिल्ला ४ दिनमा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८ संक्रमित थपिएका छन् । कास्कीमा पछिल्लो एक हप्तामा १५ जना संक्रमितको मृत्यु भएको छ । १ हजार २ सय ९३ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा कडाइ गर्दै यातायातमा फेरि जोरविजोर प्रणाली लागू गरेको छ ।

निषेधाज्ञा नटेर्ने ५ सय सवारी कारबाहीमा

प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेकै कारण शुक्रबार र शनिबार ५ सय ७ सवारी कारबाहीमा परेका छन् । बिहीबार रातिदेखि सवारी साधनमा लागू भएको जोरविजोर प्रणालीको उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरी र प्रहरीले सवारी कारबाही गरेको हो ।
जोर दिनमा विजोर र विजोर दिनमा जोर नम्बरका सवारी चलाएको भन्दै कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले दिएको जानकारी अनुसार शुक्रबारमात्रै ४ सय २१ सवारी कारबाहीमा परेका थिए । यस्तै शनिबार दुई पांग्रे ७८ र चार पांग्रे ८ सवारी कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->