
समयमै पुल नबन्दा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् ।
तनहुँ/ ठेकेदारले निर्धारित समयमा काम नगर्दा सेती नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । शुक्लागण्डकी नगरपालिका७ दोभान र भिमाद नगरपालिका८ भागर जोड्नलाई सेती नदीमा निर्माण थालिएको पुल ६ वर्षदेखि अलपत्र परेको हो ।
संघीय सरकारको लगानीमा निर्माण थालिएको पुलको तेस्रो पटक थपिएको म्याद ९ भदौमा सकिएको छ । तर, पुल निर्माण भने सकिएको छैन । अहिलेकै गतिमा पुल निर्माण भइरहे पुल बन्न अझै केही वर्ष कुर्नपर्ने छाँट देखिन्छ ।
२९ असार २०७५ सम्म निर्माण सक्ने शर्तमा ३० असार २०७२ मा एडभेन्चर कन्ट्रक्सन प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा काम नसकिएपछि१५ चैत २०७सम्मको म्याद थपियो । दोस्रो पटक थपिएको म्यादमा काम आधा पनि भएन ।
१४ फागुन २०७७ सम्म फेरितेस्रो म्याद थप भयो । यो अवधिमा पनि पुलको प्रगति निराशाजनक नै रह्यो । ९ भदौ २०७८ सम्मलाई चौथो पटक थपिएको म्याद सकिएको छ । काम भने अधुरै छ ।
पुल निर्माणस्थलमा ३ वटा पिल्लर मात्रै ठडिएको छ । नदी किनारमा २ र नदीबीचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी छ । गएको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको वहाव बढेपछि काम रोकियो । हालसम्म ६५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
कोरोनाले प्रभावित निर्माणाधीन आयोजनालाई ६ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार दोभानको पुलको पनि म्याद थप हुन सक्ने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनियर अमितकुमार श्रेष्ठ बताउँछन् । तर, कार्यविधि स्पष्ट नभएकाले म्याद थप हुने नहुने अन्यौल नै रहेको उनको भनाइछ ।
यदि सरकारको निर्णय अनुसार स्वतः म्याद थप नभएको अवस्थामा १५ असोज अगावै निर्माण कम्पनीले काम नथाले कारबाहीको प्रक्रिया थाल्ने उनले बताए । ‘अहिले बर्खाको बेलामाबोलाएर पनि काम गर्न सक्ने अवस्था छैन। नदीमा पानीको वहाव घटेपछि काममा नआए कारबाहीको प्रक्रिया थाल्छौं । ठेक्का रद्ध गरेर कालोसूचीमा राख्ने, धरौटी जफतको काम हुन्छ’, उनले भने ।
समयमै पुल नबन्दासेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् । पृथ्वी राजमार्ग नजिकैका बस्तीहरु बर्खामा यातायात सञ्जालबाट टाढा भएको भागरका प्रेमबहादुर थापाले बताए । उनका अनुसार २ पांग्रे सवारी झोलुंगे पुलबाट जोखिम मोलेर तार्ने गरिएको छ । ‘अधुरो पुल हेर्दै झोलुंगे पुलबाट बाइक, स्कुटर तार्नुपर्छ’, उनी भन्छन्, ‘सवारी चलाउने र पुल तर्ने पैदलयात्रीलाई जोखिम छ । धेरै पटक दुर्घटना भएको पनि छ । तर, अरु विकल्प छैन। झोलुंगे पुलबाट नतरे कि भिमाद बजार घुमेर जानुप¥यो ।’ पुल नबन्दा सेती पारीको समग्र विकासको ढोका नखुलेको उनको भनाइछ ।
पुलको काम समयमै सक्न सरोकारवालालाई पटक–पटक झक्झकाए पनि सुनवाई नभएको भिमाद नगरपालिका८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पुल निर्माणको ढिलाइले यहाँका बस्तीलाई विकासले पछाडि परेको छ ।’ हिउँदमा जेनतन घुमाउरै बाटो प्रयोग गरेपनि बर्खाको बेला मोटरेबल पुलको अभाव बढी खड्कने गरेको वडाध्यक्ष श्रेष्ठले सुनाए ।
मोटरसाइकल, स्कुटर बाहेकका ठूला सवारी साधन घुमाउरो बाटो हुँदै नजिकको पृथ्वीराजमार्ग र बजारमा पुग्नुपर्ने बाध्यता छ । क्याङ्दी खोला तरेर पुल्चोक हुँदैदुलेगौँडा बजार जाने एउटा विकल्प छ । बर्खायाममा क्याङ्दी खोलाबाट सवारी वारपार नहुदाँ भिमाद बजार हुँदै राजमार्गमा पुग्ने गरेका छन् ।
भौगोलिक अध्ययन नगरी डिजाइन !
पुल निर्माणमा ढिलाई हुनुमा निर्माण कम्पनीसँगै सडक विभाग अन्तर्गतको पुल महाशाखाको पनि दोष छ । भौगोलिक अवस्थाको विश्लेषण नगरी महाशाखाले सुरुमा ओपन फाउन्डेसनमा पुलको डिजाइन गरेको थियो । पुलको २ वटा पिल्लरको काम सकेर नदीको बीच भागमा पिल्लर राख्ने क्रममा पानीको वहाव बढी भएपछि डिजाइन परिवर्तन गर्नुप¥यो ।
डिजाइन परिर्वतनमा पुल महाशाखाले ढिलाइगरेको थियो । झण्डै डेढ वर्ष पुलको डिजाइन परिवर्तनमा काम रोकिएको सडक डिभिजन दमौली नै स्वीकार्छ। अहिले डिजाइन परिर्वतन गरेर पुल पायल फाउन्डेसनमा बन्दैछ । तर, काम भने कछुवाको गतिमा ।
८ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपैयाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । ५ करोड ४२ लाख ४ हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो वर्षको बजेटमा संघीय सरकारले पुल निर्माणका लागिएक करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।





