पोखरा – पोहोर एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङमा यसवर्ष पनि उस्तै नियति दोहोरियो । कुश्मा ३ दुर्लुङ सरुञ्चौरबासीको गत जेठ अन्तिममा खसेको पहिरोको घाउ सुक्न नपाउँदै फेरि अर्को पीडा थपियो । गएरातिको पहिरोले दुर्लुङ भोगेनीबासीले फेरि एकै परिवारका ५ जनालाई गुमाए ।
बर्सेनि पहिरोले दुर्लुङको डाँडो छियाछिया पारेजस्तै हरेक वर्षातमा गाउँबासीको छियाछिया बनाउँछ । कुश्मा ३, दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या भन्छन्, ‘जब झरी पर्छ तब पाखोको दुर्लुङवासीलाई तर्साउँछ ।’
शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारकै ५ सदस्य गुमाउनुप¥यो । पहिरोमा परी शर्माका आमा ७५ वर्षीय आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीय भगवती पौडेल, छोरीहरु १६ वर्षीय विमला पौडेल, ११ वर्षीय विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेलले ज्यान गुमाए ।
यद्यपि, शुक्रबार जहाँ पहिरो खसेको थियो, त्यहाँ पहिरो खस्छ भनेर कल्पनै गर्न नसकेको वडाध्यक्ष पाध्या बताउँछन् । ‘केही दिनदेखि झरी परिरहेकै थियो । राति खाना खाइवरी सुतेको परिवार बिहान उठ्नै नपाई पहिरोले लग्यो । घरभन्दा माथि घोरेटो बाटो छ । घर तल मोटर बाटो छ,’ उनी भन्छन्, ‘भूकम्पले जमिन हल्लएको थियो । घोरेटो बाटो मुनिबाट खसेको पहिरोले घर पु¥यो ।’
यो पहाडको पाखोमा बस्नुको पीडा आफूले पनि भोगेको उनको भनाइ थियो । ‘पोहोर दुर्लुङमा पहिरोले ९ जनाको ज्यान निल्यो,’ पाध्याले भने, ‘यसपालि एउटा परिवारलाई तबाह पारिदियो । पाखोमा घर हुनेलाई झरीले पनि तसाइरहन्छ । कतिबेला कहाँ पहिलो खस्ने हो भन्ने चिन्ता भइरहन्छ ।’
पोहोर दुर्लङमा पहिरो खसेर २ परिवारका ९ जनाले गृहमन्त्रालयले स्थलगत अध्ययन नै गरेको थियो । अध्ययनले दुर्लुङका ४५ घर ठूलो पानी परे उच्च जोखिममा रहेको देखाएको थियो ।
अध्ययनले उक्त स्थान पहिरोको जोखिममा रहे पनि प्राविधिक हिसाबले कुनै पनि रुपमा जोखिममा पर्ने जस्तो ‘नदेखिने’ देखाएको थियो । ‘गाउँ माथि पनि घना वन छ । भिरालो जमिन भएर जोखिम मानिनेभन्दा पनि कम देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खोला, खोल्सी, कुलो केही पनि छैन ।’ तर, यस वर्षको झरीबाट दुर्लुंङबासी चोखो रहन सकेनन् ।
२ दिनमा १७ जनाले ज्यान गुमाए, पर्वतकामात्रै ११ जना
पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १७ जनाले ज्यान गुमाए । जसमध्ये पर्वतकामात्रै ११ जना छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् ।
पर्वतकै कुश्मा ३, दुर्लुङका ५ जनासहित कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा ११ कै पकुवा ताल्चेमा बिहान करिब ९ बजेको समयमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र पौडेलकी सासु ७० वर्षीय डल्ली पाध्या पौडेल छिन् ।
‘पहिरोमा परी बेपत्ता रहेको सबैको शव भेटिइसकेको छ । पछिल्लो पटक ७० वर्षीय डल्ली पाध्याको शवसमेत फेला परिसकेको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले ढोरपाटनसँग भने ।
शुक्रबार बिहानकै पहिरोले पर्वत मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षीय फूलमाया थापाको ज्यान लिएको थियो । बाढी पहिरोले पर्वतमा सञ्चारविच्छेद भएको छ भने पहिरो गर्दा मुख्य सडकमा समेत क्षति पुगेको छ ।
‘अविरल वर्षालकै कारण पहिरो झर्दा पोखरा– कुश्मा सडकखण्ड अवरोध भएको छ । क्षति विवरण आउन बाँकी रहेकाले कति भयो भन्ने एकीन भएको छैन,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले भने ।
कास्कीका ७ जनाको मृत्यु
कास्कीमा बाढी, पहिरोमा परी २ दिनमा ७ जनाको ज्यान गएको छ । बिहीबार पहिरोले ५ जनाको ज्यान लिएकोमा शुक्रबार पोखरा ३२ खुदी खोलाले बगाउँदा थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
डिएसपी हमालका अनुसार शुक्रबार बिहान करिब ११ बजेको समयमा बेगनास तालबाट आएको खोलाले खोला तरेर गगनगौंडा जाने क्रममा स्थानीय ६० वर्षीय रमेश मगरको ज्यान लिएको हो । ‘करिब ३० मिटर बगाएर एउटा रुखमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका थिए । उद्धारपश्चात चेकजाँच गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरे,’ उनले भने ।
पहिरोमा परी बिहीबारमात्रै पोखरा २० भलामका ४५ र ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता रहेका श्रेष्ठ दम्पत्तीका ३ वर्षीय छोराको शव शुक्रबार दिउँसोमात्रै फेला परेको छ ।
पोखरा २० कै मुलाबारीमा पहिरो जाँदा २९ वर्षीय विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोष सार्कीको मृत्यु भएको थियो । यस्तै, पोखरा ११ नमूनाटोमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको थियो ।




