
‘मान्छेहरु दायाँबायाँ लाग्छन् भनेर एउटा पोइन्टबाट हेर्नलाई हामीले भ्यु पोइन्ट बनाएको हौं । त्यसले त पर्यटकीय प्रर्बद्धन हुन्छ, आर्थिक फाईदा हुन्छ । नबुझेका मान्छेहरुले टिकाटिप्पणी गर्छन् । अझ माथिल्लो ठाउँबाट हेर्न पाइन्छ भन्ने उद्देश्यले पर्यटक आउँछन््, जान्छन् ।’
तनहुँ/ पछिल्लो समय अग्ला डाँडामा प्राकृतिक सुन्दरता मासिने गरेर कंक्रिट र फलामका अग्ला भ्यु टावर ठड्याउने होडबाजी चलेको छ । निकै अग्ला डाँडामा भ्यु टावर ठड्याउन संघीय, प्रदेश र स्थानीय सरकारले प्रतिष्पर्धा नै गरे जस्तो देखिन्छ । प्रकृतिले स्वत दिएको उचाइलाई होच्याउँदै कृत्रिम भ्यु टावर निर्माण गर्न तनहुँका स्थानीय सरकारले बजेट खन्याइरहेका छन् ।
२०७४ सालमा स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मात्र जिल्लामा आधा दर्जन भ्यु टावर ठडिएको छ । अनुत्पादक क्षेत्रमा लगानी गर्न सिपालु स्थानीय सरकार र जनप्रतिनिधिले कार्यकालको अन्तिम वर्ष पनि ९वटा भ्यु टावर थप्दैछन् । तीमध्ये कुनै निर्माणधिन छन्, कहीँ बजेट विनियोजन गरिएको छ । स्थानीय सरकारले डाँडालाई पर्यटकीय गन्तव्य बनाउन भन्दै भ्युटावर ठड्याएका त छन्, तर ती डाँडामा अरु पुर्वाधार थप्न न चासो छ न लगानी ।
सदरमुकाम दमौली बजारको पश्चिमपट्टी मानहुँकोटको अग्लो डाँडा छ । दमौली बजारबाट हेर्दा त्यो डाँडाबाट आकास छोइएलाजस्तै देखिन्छ । सामुन्द्रिक सतहबाट झन्डै ११ सय मिटरको उचाईमा रहेको मानहुँकोटमा सार्वजनिक शौचालय समेत बनाउन नभ्याएको व्यास नगरपालिकाले भ्यु टावर ठड्याइदिएको छ । गत वर्षको हिउँदमा पर्यटकको अत्याधिक आगमन भएपछि पूर्वाधार थप्न कस्सिएको व्यासले भ्युटावर ठड्याएको हो ।
आफैंमा प्राकृतिक भ्यु टावर मानहुँकोट डाँडामा नगरपालिकाले ३५ लाख ५९ हजार १ सय ८६ रुपैयाँ लगानी गरेर कंक्रिटको भ्यु टावर ठड्याउन सफल भएको छ । २ तलाको भ्यु टावरको २ तलामा एउटा कोठा र शौचालय छ । पहिलो र दोस्रो तलामा बसेर पर्यटकले दमौली बजार र हिमश्रृंखलाको दृश्य नियाल्नेछन् । जुन दृश्य भ्यु टावरको जगभन्दा तल रहेको चौरबाट पनि स्पष्ट देख्न सकिन्छ ।
नयाँ बनेको भ्यु टावरमा चढेर पर्यटकले फोटो खिच्छन्, भिडियो बनाउँछन् र रमाउँछन् । तर, मानहुँकोटका स्थानीयको मन भ्यु टावरले मात्रै रमाउन सकेको छैन् । भ्यु टावर भन्दा पहिले अरु पूर्वाधार बनाउन स्थानीय सरकार चुकेको उनीहरु बताउँछन् । ‘भ्यु टावर त यही डाँडो थियो नि । त्यो भ्यु टावरमा हालेको रकम पानीमा हाल्दिए जनता कति रमाउथे होला ! मैले मेयरसित पनि भनेको हो । वडाध्यक्षलाई भनेको पनि हो भ्यु टावर के को आवश्यकता थियो र भनेर’, स्थानीय रेवती आलेले भनिन् ।
मानहुँकोटमा खानेपानीको चरम समस्या छ । दमौली बजारबाट जार र ट्यांकरमा पानी मगाएर गुजरा चलाउन बाध्य छन् स्थानीय । बर्खामा आकाशे पानी संकलन गरेर प्रयोग गर्दछन् । मानहुँकोटमा रेस्टुरेन्ट चलाइरहेकी ईन्द्रा परियार भ्यु टावरमा चढ्न पाउँदा पर्यटक खुशी हुने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘भ्यु टावरले दमौली बजारमात्रै फोकस भयो । दमौली बजार टावर नभएनि देखिन्थ्यो । भ्यु टावरबाट जताततै देखिने गरेर बनाउनुपर्ने थियो ।’ भ्यु टावर भन्दा पहिला पदमार्ग, प्रतीक्षालय, पार्क निर्माण र खानेपानीको व्यवस्थापन गरेको भए उत्तम हुने उनको भनाइछ ।
व्यास नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मानहुँकोटभन्दा अझ अग्लो डाँडा व्यास–६ गलेखामकोटमा पनि भ्यु टावर बनाउन सफल भएको छ । साविकको गाउँ विकास समितिले निर्माण सुरु गरेको भ्यु टावरलाई आर्थिक बर्ष २०७६/०७७ मा १६ लाख ५० हजार रुपैयाँ खर्चिएर व्यासले पुर्णता दिएको हो ।
अग्ला डाँडामा भ्यु टावर निर्माणलाई अनावश्यक भन्दै आलोचना भइरहदा पर्यटन प्रवद्र्धनमा भ्यु टावर परिणाममुखी लगानी भएको व्यासका मेयर बैकुण्ठ न्यौपाने बताउँछन् । पर्यटन प्रबद्र्धनका लागि भ्युटावर बनाएको उनको भनाइछ ।
२०७४ सालमा स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि मात्र जिल्लामा आधा दर्जन भ्यु टावर ठडिएको छ । अनुत्पादक क्षेत्रमा लगानी गर्न सिपालु स्थानीय सरकार र जनप्रतिनिधिले कार्यकालको अन्तिम वर्ष पनि ९ वटा भ्यु टावर थप्दैछन् ।
‘मान्छेहरु दायाँबायाँ लाग्छन् भनेर एउटा पोइन्टबाट हेर्नलाई हामीले भ्यु पोइन्ट बनाएको हौं । त्यसले त पर्यटकीय प्रर्बद्धन हुन्छ, आर्थिक फाईदा हुन्छ । नबुझेका मान्छेहरुले टिकाटिप्पणी गर्छन् । अझ माथिल्लो ठाउँबाट हेर्न पाइन्छ भन्ने उदेश्यले पर्यटक आउँछन््, जान्छन् । आर्थिक गतिविधि बढ्छ, त्यही उदेश्य हामीले राखेका छौं’, उनले भने ।
भ्यु टावर निर्माणको प्रतिस्पर्धामा जिल्लाका स्थानीय सरकारमा घिरिङ गाउँपालिका सबैभन्दा अगाडी देखिएको छ । अग्ला अग्ला डाँडाले भरिपुर्ण घिरिङले आर्थिक २०७६/७७ मा वडा नम्बर ३ को घिरिङकोट डाँडामा भ्यू टावर निर्माण गरिसकेको छ । गाउँपालिकाले १९ लाख ९८ हजार २४ रुपैयाँको लागतमा भ्यु टावर निर्माण गरेको हो । हाल दुई वटा भ्यु टावर निर्माण हुदैँछ । घिरिङ५ चन्द्रकोटमा १५ लाख ५ हजार २ सय ८३ रुपैयाँमा ठेक्का लगाएर गत चैतबाट काम भइरहेको छ । वडा नम्बर २ को गजरकोटमा उपभोक्ता समितिमार्फत भ्यु टावर निर्माणको काम भईरहेको छ ।
गत वर्ष गाउँपालिकाले ९ लाख ९९ हजार रुपैयाँ भुक्तानी ग¥यो । भ्यु टावर निर्माणलाई पुर्णता दिन यो आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै चालु आर्थिक बर्षमा वडा नम्बर ५ को च्याचुलमा र वडा नम्बर ४ उम्सेमा भ्यु टावर बनाउनलाई १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
किन यति धेरै भ्यु टावर भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष रनबहादुर रानाको जवाफ थियो, ‘पर्यटन हब बनाउदै घिरिङ गाउँपालिकाको नारालाई सार्थक सावित गर्न ।’ उनले घिरिङको ऐतिहासिक महत्वलाई पर्यटनसँग जोडेर स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य रहेको सुनाए । भ्यु टावर बनेपछि होमस्टेमा आउने पर्यटक बढेको उनको दाबी छ । पर्यटन उकास्न गाउँपालिकाले होमस्टे, ताल निर्माणमा पनि बजेट छुट्याएको अध्यक्ष रानाले बताए ।
ऋषिङ गाउँपालिका–३ दुबुङमा गत बर्ष १० लाख रुपैयाँ लगानी गरेर भ्युटावर बनाईएको छ । दुबुङ तनहुँका अग्ला डाँडाहरु मध्येमा गनिन्छ । गत आर्थिक बर्ष प्रदेश सरकारको शशर्त अनुदानको रकमबाट १० लाख रुपैयाँ विनियोजन गरेर ऋषिङ–९ गढीडाँडामा भ्यु टावर बनाउन गाउँपालिकाले थालनी गरेको छ । निर्माणको चरणमा रहेको भ्युटावरलाई यो बर्ष पनि ऋषिङ गाउँपालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, गाउँपालिकाले चण्डीकालिका भ्यु टावर निर्माण शिर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका योजना शाखाका प्रमुख चिनबहादुर रानाभाटले बताए ।
अग्ला डाँडामा भ्यु टावर बनाउनु बाध्यता र रहरसँगै जनचाहना जोडिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘भ्यु टावर बनाउनु बाध्यता रहरसँगै ऋषिङका नागरिकहरुको चाहना जोडिएर नै गाउँसभाबाट बजेट छुट्याईएको हो ।’ जनप्रतिनिधीलाई काम गर्न फलामे चिउरा चपाए जस्तै भईरहेको उनको भनाई छ । ‘नबनाएपनि त्यहाँ बनाएन भन्ने हुन्छ । बनाउदा नि सुखो छैन्, नबनाउदाँ नि सुखो छैन्, जनप्रतिनिधीलाई फलामको चिउरा भा’छ’, उनले भने । अध्यक्ष श्रेष्ठ भ्यु टावरमा भएको लगानीलाई अनुत्पादक मान्न तयार छैनन् । भ्यु टावरले ऋषिङको महत्वलाई अझ बढाएको उनको दाबी छ ।
भिमाद नगरपालिकामा जनप्रतिनिधी आएपछि यहाँका दुई वटा अग्ला डाँडामा भ्यु टावर ठड््याईएको छ । भिमाद नगरपालिका–८ राङरुङ्ग पिपलडाँडा र भिमाद नगरपालिका–९ पाइमीको डाँडामा भ्यु टावर ठड््याईएको हो । पिपलडाँडामा भिमाद नगरपालिकाकी उपमेयर शारदा खनालको जोडबलमा भ्यु टावर ठड्याईएको हो । किनकी राङरुङ उनको पुख्र्यौली गाउँँ हो । र भ्युटावरको नजिकै उनका छोराले रिसोर्ट सञ्चालन गरिरहेका छन् ।
आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ मा नगरपालिकाले भ्यु टावर निर्माणमा ११ लाख रुपैयाँ लगानी गरेको वडाध्यक्ष बुद्धीमान श्रेष्ठले जानकारी दिए । डाँडोमा १०/१५ मिटर अग्लो भ्यु टावर ठड्याउनु उपलब्धिमुलक नभएको वडाध्यक्ष श्रेष्ठ नै स्विकार्छन् । तर, भ्यु टावरले सौन्दर्यता थप्दा पर्यटक बढाएको उनको जिकिर छ ।
पिपलडाँडाको भ्यु टावरले राङरुङको पर्यटकीय सम्भावना उजागर गरेको राङरुङ ठुलो हटिया टोल बिकास संस्थाका अध्यक्ष अशोकसुन्दर श्रेष्ठले बताए ।
पाइमीमा आर्थिक बर्ष २०७५÷७६ मा ६ लाख ७५ हजार रुपैयाँ लगानी गरेर भ्यु टावर निर्माण गरिएको हो । नगरपालिकाले लगानी गरेको रकममा स्थानीयले १० प्रतिशत जनश्रमदान गरेका थिए । वडाध्यक्ष ईमानबहादुर थापा पर्यटक भिœयाएर स्थानीयको जीवनस्तर उकास्न भ्यु टावर निर्माण गरेको बताउँछन् । तर, स्थानीयको जीवनस्तरमा केही प्रभाव पारेको छैन् । ‘स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउन भने सकेको छैन्’, वडाध्यक्ष थापा नै स्विकार्छन् ।
यो आर्थिक बर्षमा भिमादले वडा नम्बर १ को कोटडाँडामा भ्यु टावर बनाउनलाई पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । भिमाद नगरपालिका–५ मिर्छुलुङ्गमा स्थानीयले लागनी गरेर भ्यु टावर बनाउदैछन् । उक्त भ्यु टावर निर्माणमा पनि सहयोग गर्ने वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए ।
भानु नगरपालिकाले यो बर्ष ५ तले फलामे भ्यु टावर ठड्याउदैछ । भानु–९ गढीडाँडामा भ्यु टावर बनाउनलाई नगरपालिकाले ५९ लाख ६५ हजार रुपैयाँमा आर्कलाइट इञ्जिनियर प्रालीलाई गएको २८ बैशाखमा ठेक्का दिएको हो । आगामी २७ बैशाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ, तर काम सुरु भएकै छैन् । गढीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन भ्यु टावरको योजना अगाडी सारेको वडाध्यक्ष निलम संजिवा श्रेष्ठले बताए । उनका अनुसार भ्यु टावर चढेर पर्यटकले हिमाल हेर्नेछन्, डाँडाकाडा नियाल्नेछन् ।
संघीय सरकारसँगको सहकार्यमा वडा नम्बर २ को घण्टाचुलीमा देवघाट गाउँपालिकाले पर्यटन विकासका लागी विभिन्न पुर्वाधार निर्माण गर्दैछ । दुई करोड ९४ लाख रुपैयाँमा घण्टाचुली पर्यटन बिकासका लागी ठेक्का दिईएको छ । त्यहाँ पनि भ्यु टावरसँगै लिफ्टिङ खानेपानी, पैदलमार्ग, रानीपोखरी निर्माण लगायतका संरचना बन्दैछन् ।
पर्यटनकर्मी भन्छन्, ‘कंक्रिटका भ्यु टावरले न पर्यटक बढाउँछ, न प्रकृतिको सौन्दर्यता थप्छ ।’ तर, स्थानीय सरकारको चेत खुलेको छैन् । पुर्वाधारलाई बिकासको आधार मान्ने स्थानीय सरकारका जनप्रतिनिधी भ्यु टावरलाई आफ्नो कार्यकालको महत्वपुर्ण उपलब्धी ठान्छन् ।
नेपाल पर्यटन बोर्डका पुर्व सदस्य टिकाराम सापकोटा नेपालका डाँडाकाडा आफैँमा प्राकृतिक भ्यु टावर भएकाले मानव निर्मित कंक्रिटको टावर आवश्यक नरहेको बताउँछन् । उनी भन्छन्, ‘भ्यु टावर मात्रै बनाउदैमा पर्यटन फस्टाउदैन् । त्यसको सट्टा अन्य पर्यटकीय आकर्षण बढाए राम्रो हुन्छ । डाँडामा कंक्रिटको टावर बनाएर लाग्नुपर्ने जरुरी छैन् ।’ भ्यु टावरको सट्टा प्रकृति संरक्षण, संस्कृति संरक्षणसँगै अरु पर्यटकीय पुर्वाधार थप्दा उपयुक्त हुने सापकोटाले बताए । भ्यु टावरको लगानी पर्यटन क्षेत्रमा पनि अनुत्पादक हुने उनको भनाई छ ।





