बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खुल्न थाले अवरुद्ध बाटो

खुल्न थाले अवरुद्ध बाटो

दसैंमा गाउँ बस्तीमा गाडी पुग्न सहज ।


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार
बरेङ शान्तिपुर सडक मर्मत गरिँदै । तस्विरः दिपेन्द्र परियार/ बरेङ

बागलुङ/असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भएपनि लामो समय चल्न सकेनन् ।
स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर स्काभेटर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटकपटक अवरुद्ध हुँदै आएका स्थानीय सडक दसैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढी पहिरोले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो ।

वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडकहरु दसैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाहरुले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।
जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मान्न गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडकहरु खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए ।

ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडकहरु सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडकहरु खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए ।

अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुहरुलाई सहज हुने गरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढी पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउन थालेको छ ।
गाउँपालिकामा पर्ने सहिद मार्गसहित पालिका भित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् ।

मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दसैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका ७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘करिडोर चलेपछि जेठ यता पहिलो पटक घरजाँदै छु ।’ ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए । वर्षा केही कम हुन थालेकाले अब ठूलो समस्या नआउने जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->