बागलुङ/ स्वास्थ्य र पर्यावरण जोगाउने सन्देश प्रवाह गर्न बागलुङमा साइकल यात्रा गरिने भएको छ । बागलुङ बजार र आसपासका क्षेत्रमा साइकल यात्रा गरेर कार्वन उत्सर्जन कम गर्ने सन्देश प्रवाह गर्न थालिएको हो । बागलुङ जेसीजले कात्तिक ९ गते साईकल यात्राको आयोजना गरेको जनाएको छ । ‘वातावरण जोगाउनु हाम्रो दायित्व हो, वातावरण जोगियो भने हाम्रो स्वास्थ्य जोगिन्छ’, बागलुङ जेसीजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले भने ‘यो सांकेतीक कार्यक्रम मात्रै हो, जनचेतना प्रवाहका लागि साइकल यात्रा गर्दैछौं ।’
यात्रामा जो–कोही स्वतःस्फूर्त सहभागि हुन सक्ने छन् । पाँचदेखि ७ किलोमिटर साइकल यात्राको आयोजना गरिएको रेग्मीले बताए । ‘कुनै प्रतियोगिता होइृन्, सन्देशमुलक कार्यक्रम मात्रै हो’ उनले भने ‘तत्काल केही नदेखिएला तर यसको प्रभावको बिषय मुख्य विषय हो ।’ जेसीजले दुर्घटना कम गर्न मोटरसाइकलको गति कम गर्ने सन्देश प्रवाह गर्न स्लो बाइक रेससमेत आयोजना गरिएको जनाएको छ ।
बागलुङ जेसीजले हरेक वर्ष गर्दै आएको जेसीज सप्ताह यस वर्ष पनि गर्दै छ । वातावरण संरक्षण, मानव स्वास्थ्य, युवा रोजगारी र दुर्घटना कमी गर्ने सन्देश प्रवाह गर्ने खालका कार्यक्रम आयोजना गरिएको मुल संयोजक अमरबहादुर थापाले बताए । कात्तिक ६ गतेबाट सुरु हुने सप्ताहमा युुवा सम्मान, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, स्लो मोटरसाइकल रेस, बैंकर्स करियर तालिम, र्साकल यात्रा, नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थापाले बताए । जेसीजले बिहीबार पत्रकार सम्मेलन गरेर सप्ताहव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको हो ।





