बागलुङ/ शनिबार साँझ सवा सात बजेको थियो । प्रहरीलाई स्थानीयले खबर गरे ‘बागलुङ नगरपालिका–६ धारापानीमा ट्याक्सी दुर्घटना भयो ।’
प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोट पुग्ने अधिकांश पर्यटकले ट्याक्सीको प्रयोग गर्छन् । प्रहरीले आँकलन ग¥यो भीडभाड वा कुनै कारणले ट्याक्सी पल्टियो । दुर्घटनामा थप क्षति हुन नदिन तत्काल प्रहरी घटनस्थल पुग्यो । प्रहरी घटनास्थलमा पुग्दा धारापानीको ओरालोमा भित्तामा ठोकिएपछि पल्टिएको ट्याक्सी मात्रै देखियो ।
घटनास्थलमा न दुर्घटनामा परेका यात्रु थिए न ट्याक्सीका चालक । प्रहरीले तत्कालै जनशक्ति परिचालन गरेर चालकको खोजी गर्यो तर चालक भेटिएनन् । स्थानीयका अनुसार ट्याक्सी बिनायात्रु धारापानीबाट बागलुङका लागि हिँडेको थियो । ध १ ज ५८२ नम्बरको ट्याक्सी बागलुङ नगरपालिका–५ मालिकाका टेक प्रसाद उपाध्यायले चलाएका थिए । दुर्घटनापछि उपाध्याय बेपत्ता छन् ।
‘अचम्मको घटना भयो, नत कसैसँग ठोकिएको हो नत यात्रु थिए, नालीमा पल्टिएको ट्याक्सी छोडेर चालक किन भाग्यो ? रहस्यमय घटना भयो’ प्रहरी नायव उपरीक्षक इकवाल हवारीले भने ‘परिवारले पनि खोजीरहेको छ, हामीले पनि खोजेका छौं, चालकको पत्तो लागेको छैन् ।’
४१ वर्षिय उपाध्याय विवाहित पुरुष हुन् । घरमा बालबच्चा र श्रीमती समेत रहेकाले परिवारको सम्पर्कमा आउनुपर्ने प्रहरीको अनुमान छ । तर प्रहरीका अनुसार परिवारसमेत खोजीमा रहेकाले उनी कसैको सम्पर्कमा छैनन् । बागलुङ बजारदेखि पञ्चकोटका लागि यात्रु बोक्ने ट्याक्सी उपाध्यायका दाजु भागिरथ उपाध्यायको हो ।
सधैं चलिरहेको सडकमा अचानक भएको दुर्घटना र चालक भाई हराएकोप्रति भागिरथ दुखी छन् । ‘दुर्घटना के कारणले गराएको हो भन्नेभन्दा पनि दुर्घटनापछि चालक किन बेपत्ता छ भन्ने कुरा खोजीको बिषय बन्यो’ हवारीले भने ‘हामी निरन्तर खोजीमा छौं, जसरी पनि पत्ता लाग्छ ।’ प्रहरीले उनको हुलियासहित तस्विर मातहतका इकाईहरुमा पठाउने तयारी गरेको छ ।





