बागलुङ/ बागलुङमा बेमोसमी बर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।
बर्षाका कारण बारीमा लगाईएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले बताए । ‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’ रानाले भने ‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रहयो ।’
जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले संकलन गरिरहेको छ । धान पछिको मुख्य खाद्यान्न बालीको रुपमा रहेको कोदोबालीमा भएको क्षतिले किसान चिन्तित छन् । यसबर्ष ७ महिना लामो बर्षा भएकाले कोदो पाक्न समय लागेको थियो । ‘दाना लागिसक्नुपर्ने बेलामा फुल खेल्दै थियो, अब बर्षा रोकियो छिट्टै छिपिन्छ भन्नेबेला गह्राभरी बनायो’ रानाले भने ‘अलि तल बेसीमा लगाएको कोदो पाक्ने बेला भएकाले झरेको छ ।’
ज्ञान केन्द्रका अनुसार जिल्लाभर एक हजार ८ सय हेक्टर जमिनमा कोदोबाली लगाईएको छ । स्थानीय जातको तुलनामा विकसित जातको कोदोमा धेरै क्षति भएको छ । ‘विवरण संकलनको काम भैरहेको छ, अहिलेसम्म लगाईएकोमध्ये २० प्रतिशत कोदोबाली क्षति भएको विवरण तयार भएको छ’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने ‘भित्राउनका लागि काटिसकेको कोदोमा भएको क्षतिको मात्रै विवरण लिईएको छ, बारीमा ठाडो रहेको कोदोमा के कति क्षति भयो भन्न सकिँदैन् ।’ जिल्लाभर १ सय ३ हेक्टर जमिनको कादोबाली नष्ट हुँदा लाखौंको क्षति किसानले व्यहोर्नु पर्नेछ । अन्य बालीको तुलनामा राहका लागि कोदोबाली कम प्राथमिकतामा पर्ने गरेको किसान चन्द्रमा शर्माले बताईन् ।
‘टनेलको गोलभेँडा कुहिँदा सबैको नजर पर्छ, खेतको धान ढलेको सबैले देख्छन् तर बारीको कोदोको कसैलाई वास्ता हुँदैन्’ शर्माले भनिन् ‘कोदोकै भरमा बर्षभरीको खर्च चलाउने किसान धेरै छौं, हाम्रो बिल्लीबाठ हुन्छ ।’ खेत प्राप्त नभएका पानी कम लाग्ने टारीहरुमा कोदो खेती गर्ने चलन छ ।
बागलुङमा ५ हजार ८ सय हेक्टर जमिनमा लगाईएको धानमध्ये एक सयदेखि दुई सय हेक्टरको हाराहारीमा धानबाी नष्ट भएको छ । ६० प्रतिशत खेतमा लगाईएको धान ढलेको केन्द्रको तथ्यांक छ । ‘धान ढलेको छ, नपुष्टिन सक्छ, उत्पादन घट्ने निश्चित छ’ भट्टराई भन्छन् ‘अब बर्षा भएन भने अन्यत्र जस्तो क्षति व्यहोर्नु पर्दैन् ।’
जिल्लाका बरेङ, जैमिनी, ताराखोला र ढोरपाटनमा कोदोखेती बढी हुन्छ भने गलकोट, जैमिनी, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा धानखेती धेरै हुने गरेको छ । नहर तथा सिंचाईको सुविधा भएका फाँटहरुमा भन्दा बर्षाको पानीका भरमा खेती हुने फाँटहरुमा लगाईएको धानमा बढी क्षति भएको छ ।





