बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रशासनमा भिडैभिड, नागरिकलाई हैरानी : नागरिकता बनाउन ३ दिन !

प्रशासनमा भिडैभिड, नागरिकलाई हैरानी : नागरिकता बनाउन ३ दिन !

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हरेक कागजातको स्क्यान गरेर मन्त्रालयमा पठाउनु पर्ने बाध्यताले काम ढिला भएको भन्दै कर्मचारीको बचाउ गरे ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

बागलुङ – गलकोट नगरपालिका ८, काँडेबासमै जन्मेर हुर्केकी विमला घिमिरेले त्यहींको विद्यालयबाट एसइई उत्तीर्ण गरिन् । नागरिकता बनाउन बागलुङ प्रशासनमा आउँदा उनको बाबुको नागरिकता गुल्मीको देखेर प्रशासनले गुल्मीमा बुझ्न पठाउनु पर्ने भन्यो ।

गत शुक्रबार उनको कागजात बुझ्न भनेकोमा सोमबारसम्म पनि कागजात आएन । बाबु नरसिंह घिमिरेले बसाइँ सरेर गलकोटमा व्यवसाय गर्न थालेको २० वर्ष पुगिसकेको छ । मतदाता नामावलीदेखि सबै बागलुङमै छ । तर, छोरीको नागरिकता बनाउन खोज्दा काम नबनेर तीन दिनसम्म होटलमा बस्न बाध्य भए ।

नागरिक बडापत्रमा नागरिकता बनाउने जस्ता सामान्य काम बिनाशुल्क र २ घण्टामै बन्ने उल्लेख छ । तर घिमिरे परिवारको अभिलेख आउन तीन दिन लाग्यो । ‘पहिलो दुई दिन त कुरा मात्रै भएको रहेछ, यताबाट सोधनी समेत नभएको पाएँ’ घिमिरेले भने, ‘तेस्रो दिन गुल्मीका साथीलाई प्रशासनमै जान भनेपछि मात्रै बागलुङबाट अभिलेखको पत्र नगएको थाहा लाग्यो ।’ तेस्रो दिन जिल्लाका नेता र चिनेजानेकालाई हारगुहार गरेपछि मात्रै प्रशासनका कर्मचारीले पत्र लेखेर गुल्मी पठाइदिएको उनले बताए ।

गुल्मी प्रशासनमा पत्र पुगेको एक घण्टामा अभिलेख भिडाएको पत्र आइपुग्यो । शुक्रबारदेखि सदरमुकाम बसेका घिमिरे परिवारले सोमबार साँढे ५ बजे नागरिकता पाए । तर घर फर्कन भ्याएनन् । सोमबार पनि होटलमा बस्नुप¥यो । नागरिकताका लागि आउजाउ गरेर तीन दिन होटलमा बस्दा १५ हजार रुपैयाँले पनि नपुगेको उनले गुनासो गरे ।

उनी मात्रै होइन, बरेङ गाउँपालिका २ की माया फौजाको समस्या पनि उस्तै भयो । नागरिकताकै लागि आएकी उनले अझै बनाउन सकेकी छैनन् । उनको पनि कागजात पठाएको भन्दै कुर्दा अझै नआएको गुनासो गरिन् । ‘कसलाई भनेर हुने हो थाहा छैन, पर्खेर बस्यो, होटलमा फक्र्यो त्यत्तिकै भएको छ,’ उनले भनिन्, ‘सोध्न गयो भने कर्मचारी झर्किेन्छन्, त्यति पनि थाहा छैन भन्छन् ।’

दसैं सकिएलगत्तै प्रशासनमा नागरिकता र राहदानी बनाउनेको भिड छ । दैनिक तीनसय बढी नागरिक आउने गरेका छन् । नागरिकता र राहदानीका लागि अभिभावक तथा सनाखत गर्नेको उपस्थिति चाहिने भएपछि भिड बढेको प्रशासनका नायब सुब्बा बिष्णु ढकालले बताए । कर्मचारीले भने त्यही भीडको फाइदा लिएर सोझालाई थर्काउने गरेको गुनासो बढेको छ ।

यो समस्या नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नारायणदत्त कँडेलले समेत भोगे । पत्नी शान्तिको राहदानी नवीकरण गर्न खोज्दा माइतीको जिल्लामा अभिलेख भिडाउनु पर्छ भनेर हैरानी बनाएको उनले बताए । ‘मेरी श्रीमतीको माइती खरबाङको पुल पारि हो, उनले गुल्मीको सदरमुकाम समेत देखेकी छैनन्, पढेको पनि बागलुङमै हो, शैक्षिक योग्यताको प्रमाणपत्रदेखि नागरिकता र पहिलो राहदानी पनि बागलुङकै छ, तर गुल्मी बुझ्न पर्छ भनेर हैरान बनाए,’ उनले भने, ‘पुरानो राहदानी साथैमा छ, नवीकरणको कागजात भरेर ल्याएको थिएँ, तर कर्मचारीले तीन दिन झुलाए ।’

नागरिकको नाताले काम गर्न खोज्दा तीन दिनसम्म नबनेपछि महासंघको पूर्व अध्यक्षको नाता र राजनीतिक पहुँच लगाउन बाध्य भएको उनले गुनासो गरे । ‘कति दिनसम्म प्रशासनमा धाउने ? आफ्नै कार्यालयको फाइल हेर्न नसकेर अर्को प्रशासनमा पत्र लेख्नुपर्ने समस्या किन आयो ?’ उनले भने, ‘कर्मचारीमा दुःख दिने नियत बढी देखियो ।’

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले विदेश बसेका, दसैंमा बिदा आएकाजस्ता मानिसले भीड बढेकोले काम ढिला भएको बताए । उनले हरेक कागजातको स्क्यान गरेर मन्त्रालयमा पठाउनु पर्ने बाध्यताले काम ढिला भएको भन्दै कर्मचारीको बचाउ गरे ।

‘कर्मचारीले ढिला गरेका होइनन्, प्रक्रिया ढिला हो,’ उनले भने, ‘यतिबेला अभिलेख भिडाउनु पर्नेहरु धेरै आएकोले समस्या भएको हो ।’ तर प्रशासनले दिएको टोकन लिएर बसेका नागरिकलाई काम बन्ने नबन्ने जानकारी नदिँदा सास्ती खेप्ने गरेको गुनासो छ ।

‘काम बन्दैन भनिदिएको भए घर गएर आउन हुन्थ्यो, यही बस्दा होटल समेत नपाउने सास्ती भयो,’ काठेखोला ५ कि ओमकुमारी शर्माले भनिन्, ‘६७ नम्बरको टोकन लिएर बसियो, तर पालै आएन, भोलिपल्ट पनि धेरै जोडतोड गरेर मात्रै नाबालक परिचयपत्र बनाउन सकियो ।’ गत बर्ष नक्कली र दोहोरो नागरिकता काण्डमा कर्मचारीविरुद्ध मुद्दा परेपछि केरकार गर्ने निहुँमा कामै ढिला हुन थालेको नागरिकस्तरमा गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->