बागलुङ/ विद्यालय सहयोगी सीता सापकोटाले कालिका कन्या मावि बागलुङमा काम गर्न थालेको २१ बर्ष भयो । स्थायी भएको भए उनको पेन्सन आईसक्थ्यो । अवकास पाउने सेवाअबधि पुग्दा सीता सुविधा बृद्धिको माग गर्दै नगरपालिका धाईरहेकी छन् ।
यसअघि कहिल्यै आफ्नो सेवा सुविधाको बिषयमा चासो नराखेकी सीता अहिले संगठनमा आबद्ध छिन् । नेपाल विद्यालय कर्मचारी परिषद्मा आबद्ध सिता र उनका साथीहरु अहिले अधिकारको लडाईं लडिरहेका छन् । सरकारले घोषणा गरेको तलबभत्ता बृद्धि नभएको भन्दै उनीहरु नगरपालिका धाउन थालेका हुन् । सीताजस्तै बागलुङ नगरपालिकाभित्र रहेका सबै विद्यालयका बिद्यालय कर्मचारी र विद्यालय सहयोगी पटक पटक ज्ञापनपत्र बोकेर नगरपालिका पुगेका छन् ।
‘यस्तो अफ्ठेरो कहिले आएन, आफ्नै काम हो भनेर गरिरहेका छौं तर हामीलाई हेप्ने काम भयो’ सीताले भनिन् ‘सेवा हेरेर मुल्यांकन हुने बेला पाउनुपर्ने सुविधा नपाएर नगरपालिका धाउनुपरेको छ ।’ आँफुजस्तै बागलुङ नगरपालिकाभित्रका विद्यालयमा काम गर्ने लामो समय बिताएका विद्यालय कर्मचारी र सहयोगी पीडित बनेको सीताले सुनाईन् ।
कहिले प्रमुख प्रशासकीय अधिकृत त कहिले नगरशिक्षा अधिकारी भेटेका उनीहरुले बुधबार नगरप्रमुखलाई भेटेर तलबभत्ता बृद्धिको माग गरे । उनीहरुको भनाई थियो– ‘काम हेरेर त कहिल्यै मुल्यांकन भएन, कम्तिमा संघीय सरकारले घोषणा गरेअनुसारको तलब त दिनुस् ।’ कालिका कन्या माविकै विद्यालय कर्मचारी मनोज सापकोटाले संघीय सरकारले बजेटमा घोषणा गरेअनुसारको अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपरेको बताए ।
बालविकास केन्द्रका सहजकर्ताको तलबभत्ता बृद्धि गरेको बागलुङ नगरपालिकाले विद्यालय कर्मचारी र सहयोगीको तलबभत्ता बृद्धि गरेको छैन् । संघीय सरकारले उपलव्ध गराएको तलबभक्ता मात्रै बृद्धि गरेर स्थानीय सरकारले गर्नुपर्ने साझेदारी गरेको छैन् । विद्यालय सहयोगीको ७ हजार ५ सयबाट बृद्धि गरी १५ हजार र विद्यालय कर्मचारीको १३ हजार ५ सयबाट बृद्धि गरी २० हजार पाँच सय हुनुपर्ने उनीहरुको माग छ ।
‘स्थानीय सरकारले ७ हजार थप गरेर तलव बृद्धि गर्ने भनेर संघीय सरकारले भने अनुसारनै हाम्रो माग हो’ नेपाल विद्यालय कर्मचारी परिषद बागलुङका अध्यक्ष कर्ण कुमारी केसीले भनिन् ‘यहाँ त माथीबाट थपिएको रकम मात्रै थपियो, साझेदारी भएन् ।’ संघीय सरकारले समयमा परिपत्र नगरेको र अपुष्ट बजेट शिर्षकका कारण उनीहरुको तलब बृद्धि गर्न नसकिएको नगर प्रमुख जनकराज पौडेलले बताए ।
‘पाँच अर्ब बढीको बजे आयो, सबै संघीय सरकारकै जिम्मेबारी हो भन्ने लागेर बजेटको व्यवस्था गरेनौं’ पौडेलले भने ‘हिउँदेसभामा रकमान्तर गरेरै भएपनि उहाँहरुको समस्या समाधान गर्छौं ।’ पौडेलले कात्तिक मसान्तभित्र विद्यालय कर्मचारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । अहिले नगरपालिका विद्यालयमा कार्यरत सहयोगीको ८ हजार र कर्मचारीको तलव १५ हजार मात्रै पु¥याईएको छ ।





