बागलुङ/ विदेशमा बसेका युवाले उठाएको चन्दाबाट गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा रहेको पुरानो शहिद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुननिर्माण गरिएको हो ।
जापानमा काम गर्न गएका युवाहरुले सहयोग संकलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुननिर्माण गरिएको वडा अध्यक्ष नारायणध्वज मल्ल्ले बताए । यो पुस्तकालयसँगै युवाहरुले अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि रकम सहयोग गरेका छन् ।
गलकोट समाज जापानका युवाहरुले संकलन गरेको रकमबाट ६५ लाख रुपैयाँसहित स्थानीय समेतको लगानी गरेर १ करोड लगानी भएको हो । उक्त रकमले तीनतले घरसहित सामाग्री समेत बनाएर आर्कषक बनाइएको छ । हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जोडिएको यो पुस्तकालय ऐतिहासिक हो । २००७ सालमा सहिद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गराईदिएको यो पुस्तकालयमा ऐतहिासिक पुस्तकहरु छन् ।
यो पुस्तकालय इतिहासको साछी भएको स्थानीयले बताउने गर्छन् । यहाँ इतिहास, भूगोल र विभिन्न जातजातीको संस्कृति बारेका किताब समेत छन् । भवनको पहिलो तल्लामा आँखा उपचार केन्द्र, दोश्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाइएको छ । ‘युवाहरुले पहल गरेर पैसा पठाएपछि हामीलाई पनि दबाब प¥यो र भवन बनाइयो’ मल्ल्ले भने, ‘भवन बनेपछि सबै काममा उपयोगीसमेत बनेको छ ।’
नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयको रुपमा विकास गर्न थप सामाग्री र इतिहासका अन्य दस्तावेज संकलनको काम समेत गरेको छ । गलकोटस्थित तत्कालिन मल्ल राजाको दरबार, त्यहाँको इतिहासबारे बुझ्नेलाई पुस्तकालयमा आवस्यक सामाग्री रहेको उनले बताए ।
यो पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुरातात्विक महत्वका सामान समेत राखिनेछ । भवन जीर्ण भएर उपकरण र पुस्तक हराउन थालेपछि लामो समयसम्म भाडामा घर लिनुपरेको थियो । पुस्तकालय बनेपछि दैनिक अध्ययन गर्न जानेहरु बढेको स्थानीय देवी बोहोराले बताइन् ।
नेपाल नेत्रज्योती संघको सहयोगमा वडा कार्यालयले हरेक महिना यहाँ आँखा उपचार शिविर पनि संचालन गर्दै आएको छ । नियमित परीक्षणपछि अपरेशन गर्नुपर्ने भएमा बागलुङ र पोखरा पठाउने काम समेत भएको हो । संघले २०६७ सालदेखि नियमित आँखा शिविर संचालन गर्दै आएकोले गलकोट क्षेत्रका मानिसले गाउँमै सेवा पाएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।





