बागलुङ/ आइतबार बिहानैदेखि जिल्ला प्रहरीमा ठूलो भिड थियो । सबैले आक्रोशपूर्ण र चर्को आवाजमा भनिरहेका थिए, ‘पीडितलाई न्याय चाहियो, हत्याराले कारवाही पाउनु पर्छ ।’
त्यहाँ आएका पीडितहरु धेरै टाढाबाट आएका थिए । उनीहरुले हत्यामा संलग्नलाई कारवाहीको माग गरेका थिए । मृतकको बाबुआमा, दाजुभाइ र आफन्त भएकोले पीडितको आक्रोश पनि बढी नै थियो ।
रुकुमको त्रिवेणी गाउँपालिका १ का प्रविर कठायत र धनकुमारीकी १९ वर्षीय छोरी जमुनाको हत्या भएकोले हत्यामा संलग्न मुसिकोट नगरपालिका १३ का पति दिनेश रोकालाई कडा कारवाही माग गर्दै पीडितहरु प्रहरीमा आएका थिए । गत असोज १९ गते दिनेशले जमुनाको हत्या गरेको आरोप छ । दिनेश गलकोट नगरपालिकाको अमिन पदमा कार्यरत कर्मचारी हुन् । जमुना लोकसेवा तयारी गर्दै पतिसँगै गलकोटमै बस्थिन् ।
गत बैशाखमा बिबाह बन्धनमा बाँधिएका उनीहरुबीच केही समयदेखि मनमुटाव थियो । जमुनाले पढ्न काठमाडौं जान खोज्ने, दिनेशले बागलुङमै बस्न भन्ने गरेकोले बेला बेला झगडा भइरहेको अभिभावकले बताए । तर, दिनेशले भने दाइजो लगायतको विषयमा जमुनालाई मानसिक यातनासमेत दिने गरेको आमा धनकुमारीले बताइन् ।
‘मोबाइल किनेर दिँदापनि घरमा पठाएर छोरीलाई बोल्न दिएनन्,’ धनकुमारीले भनिन्, ‘पैसाको माग गर्दै मेरी छोरीलाई यातना दिएका रहेछन्, पछि हत्यासमेत गरे ।’ धनकुमारीले पीडितलाई न्याय दिएर दिनेशलाई कडा कारवाहीको माग गरिन् । उनले आफ्नी ‘छोरीजस्तै अरुले मर्न नपरोस्’ भन्दै कारवाही माग गरेको बताइन् ।
उनीहरुलाई साथ दिँदै पीडित पक्षबाट रुकुमका झन्डै सयजना मानिस आइतबार बागलुङ आएका थिए । जिल्ला समन्वय समितिका पदाधिकारी, अन्तरपार्टी महिला सञ्जाल, अधिकारकर्मी, मृतकका मावली, घरपरिवार र दाजुभाइ आएर न्याय मागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले पीडितलाई न्याय दिनका लागि प्रमाण जुटाउने काम भइरहेको र हत्याका आरोपी दिनेश हिरासतमा रहेको बताए । अदालतमा मुद्दा पेश भई म्याद थप भएकोले प्रमाण पूरा गरेर मुद्दा अगाडि बढाइने उनले बताए ।
सरकारी वकिल कार्यालयले उक्त मुद्दा दायराका लागि अन्तिम तयारी गरेको बताएको छ । पीडितले आइतबार प्रहरीसहित सरकारी वकिल कार्यालयमा पनि गुनासो पोखेका थिए । उनीहरुले न्यायका लागि सामुहिक ऐक्यबद्धता जनाएको बताए । बिबाह भएकै वर्षपनि जमुनाले तीजमा माइत नगएपछि अभिभावकले छोरीले यातना खेपेको अनुमान गरेका थिए । जमुनाले दबाबमा धेरै कुरा लुकाएको धनकुमारीको भनाइ छ । दाजुभाइले पनि पटकपटक पैसा पठाउने गरेको बताए । तर, पटक पटक पैसाकै निहुँमा यातना दिने गरेको उनीहरुको भनाइ छ ।
गलकोटस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएकी जमुनाको हत्या आरोपमा मृतकका दाजु प्रज्ज्वलले किटानी जाहेरी दिएका छन् । उनको जाहेरीले सरकारी वकिलले अदालतमा कर्तव्य ज्यन मुद्दा दायरको तयारी गरेका हुन् । सरकारी वकिल लालप्रसाद लामिछानेले मुद्दा दायरको अन्तिम तयारी भएको बताए ।
गत वर्ष रुकुमको सोती घटना, त्यसपछि पीडितकै गाउँमा भएका केही हत्या घटनामा समेत पीडितले न्याय पाउन नसकेकोले सामुहिक दवाब दिन आफन्तहरु जुटेको बताए । ‘घटना फरक जिल्लामा भयो, टाढाको भएकोले न्याय पाउन पनि कठिन छ, त्यसैले हामी धाएका हौं,’ मृतकका दाजु प्रज्ज्वलले भने, ‘बोल्न नसक्दा पीडितले न्याय पाएका छैनन् ।’ न्यायका लािग अधिकारकर्मी समेत गुहार गरेको उनले बताए ।





