बागलुङ/बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती गुठीमा चार करोड २३ लाखको कोष जम्मा भएको छ ।
गुठी व्यवस्थापन समितिले कालीका मन्दिर परिसरमा करोडौंको विकास निर्माण गरिसकेर पनि उक्त कोष जम्मा गरेको हो । बिशेषगरी भक्तजनले चढाएको भेटीबाट यति धेरै कोष जम्मा गर्न सकेको समितिले जनाएको छ ।
गुठीले भक्तजनबाट चढेको हरेक दिनको भेटी व्यवस्थापन गर्दा राम्रो कमाइ र विकास निर्माणमा लगानीसमेत गर्न सकेको हो । पारदर्शी बनाएर खर्च कटाएर उक्त रकम बचत गरेको हो । चारवर्षे कार्यकाल सकेर बिदाइ भएका गुठीका अध्यक्ष राजु खड्काले हिसाब सार्वजनिक गरेका हुन् ।
खड्का अध्यक्ष हुनुअघि संचालक समिति र पूजारीले सबै भेटी डालोमा हालेर लैजाने गर्थे । उनी अध्यक्ष भएपछि भेटी सार्वजनिक गर्ने चलन शुरु भएको हो । गुठीमै लेखापाल राखेर दोहोरो हिसाब राख्न थालेपछि मन्दिर क्षेत्रमा विकास निर्माणका काम हुन थालेका छन् । कर्मचारी व्यवस्थापन र कोषसमेत संचालन हुन थालेको हो ।
कोष बनेपछि कालीका मन्दिर जाने ७ सय मीटर बाटो ढलान गरेर ढुंगा छाप्ने काम समेत भएको छ । पूजा तथा बली व्यवस्थापन, मन्दिरको छाना तामाले छाउने र नयाँ सत्तल निर्माण भएको छ । ती सबै व्यवस्थापनका लागि चार बर्षमा १० करोड बढी खर्च भएको छ । कालीका भजन समूह निर्माण, मन्दिर नजिकै वन्यजन्तु पार्क निर्माण, भ्युप्वाइन्ट निर्माण र बली व्यवस्थापन पनि हुन थालेको हो ।
कालीका भगवती मन्दिर तथा पूजा व्यवस्थापनबाहेक पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना पनि निर्माण भएको छ । गुरुयोजनामा धर्मशाला, वृद्धाश्रम, सवारी पार्किङ, मालढुंगादेखि कालीका मन्दिर जाने लिफ्ट समेत बनाइने उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापन पनि गुरुयोजनामा समावेश छ । गुठीले आगामी २०८० लाई कालीका दर्शन वर्ष घोषणा गरेको छ ।





