शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

छोरा र श्रीमतीविरुद्ध जाहेरी

छोरा र श्रीमतीविरुद्ध जाहेरी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७८, बिहिबार

‘पढ्न लेख्न जानेको थिइन्, त्यसैले ल्याप्चे लगाएको थिएँ, मेरो गल्ती छैन । आफ्नै छोरा होइन भनेर कान्छी श्रीमती च्यापेका छन् ।’

बागलुङ/ आफ्नै बाबुले छोरा र श्रीमतीविरुद्ध किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी परेपछि उनको श्रीमती र छोरा प्रहरी नियन्त्रणमा परेका छन् । छोरा चार दिनमा छुटेका छन् भने श्रीमती प्रहरी हिरासतमै छिन् ।
जन्मदर्ताको सूचक भर्दा आमाले बाबुको ल्याप्चे किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेको थियो । जैमिनी नगरपालिका ८ का होमनाथ शर्माले २२ वर्षीय छोरा टेकनारायण र पत्नी डिल कुमारीविरुद्ध जाहेरी दिएका हुन् । उनको उजुरीपछि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो ।

२०४५ सालमा विवाह गरेका होमनाथले पत्नी डिलकुमारीले जन्माएको छोरा आफ्नो होइन भनेर जन्मदर्ता गराउन मानेका थिएनन् । आमाले बाबुको नाम चढाएर २०६३ सालमा जन्मदर्ता गराउँदा बाबुआमाको हस्ताक्षर गर्ने स्थानमा ल्याप्चे लगाएको भेटिएको हो ।

‘पढ्न लेख्न जानेको थिइन्, त्यसैले ल्याप्चे लगाएको थिएँ, मेरो गल्ती छैन,’ डिलकुमारीले भनिन्, ‘आफ्नै छोरा होइन भनेर कान्छी श्रीमती च्यापेका छन् ।’ चितवनमा शिक्षक भएर काम गर्दा होमनाथले दोस्रो विवाह गरेको खुलेको छ । दोस्रो पत्नीतर्फ पनि उनका सन्तान छन् ।

जन्मदर्ताको आधारमा टेकनारायणले नागरिकता पनि बनाएका छन् । स्नातक तहमा अध्ययनरत टेकनारायणले बाबुबाट अंश खोजेपछि होमनाथले आफ्नै छोरा र पत्नीविरुद्ध मुद्दा मामिलामा उत्रेका हुन् । जन्मदर्ताको आधारमा दुई वर्षअघि नागरिकता बनाउन वडाध्यक्ष विजय अधिकारीले सिफारिस दिएका थिए । कान्छी विवाह गरेपछि होमनाथले बेवास्ता गर्दा माइतीमा बस्दै आएकी थिइन् ।

‘ज्याला मजदुरी गरेर छोरा हुर्काए, अहिले छोरालाई पनि होइन भनेर थुनामा पठाए,’ उनले भनिन्, ‘पढेलेखेको भइन भनेर हामीले जीवनभर दुःख पायौं ।’ उजुरी दिएका होमनाथ भने सम्पर्कमा आएका छैनन् ।
प्रहरीले होमनाथ हाल सम्पर्कमा नआएपनि कागजात किर्ते देखिएकोले पक्राउ गरेको बतायो । होमनाथले छोराको बाबु नै अर्कै व्यक्ति भएको आरोप समेत लगाएका छन् । आमाले किर्ते गरेको अनुमान भएपनि प्रहरीले भने छोरालाई पक्राउ गरेको हो ।

‘सरसर्ती हेर्दा छोराको कमजोरी केही देखिएन, त्यसैले छोरालाई छाडिदिने योजना छ,’ प्रहरी निरीक्षक विजय भण्डारीले भने, ‘आमाले पतिको हस्ताक्षरमा किर्ते गरेको देखिन्छ, त्यसैले उनीविरुद्ध मुद्दा चल्छ ।’ भण्डारीका अनुसार होमनाथले छोराको बाबुसमेत छिमेकी अर्कै व्यक्ति तोकेर उजुरी दिएका छन् ।

डिलकुमारीका ज्वाइँ प्रकाश पौडेलले भने अनपढलाई दुख दिने नियतमात्रै भएको बताए । ‘घरमा बस्न नदिएर गोठमा बस्नुप¥यो, गोठमा बस्दा पति पटक–पटक जर्बजस्ती गर्न जान्थे, छिमेकीले पनि यो कुरा थाहा पाएका छन्,’ पौडेलले भने, ‘अहिले अंश दिनुपर्छ भनेर सोझी महिलालाई दुःख दिने काम भयो ।’

खान नपाएर कैयौं दिन भोकै बसेको भन्दै गर्भ तुहाउन खोज्दा भागेर माइतीमा पुगेर जन्माएको डिलकुमारीले बताइन् । उजुरी दर्ता नभई चार दिनसम्म राख्दा गृहमन्त्रालयसम्म पहुँच बढाएर होमनाथले दर्ता गर्न दबाब दिएको उनले बताए ।

‘उनको सम्पर्क गृह मन्त्रालयसम्म रहेछ, हुँदैन भनेको मुद्दा प्रहरीले दर्ता गरेको छ,’ पौडेलले भने, ‘जन्मदर्ता गराइदिने कर्मचारीको खोजीसमेत छैन, निर्दोष र अनपढ महिला किन पक्राउ गरियो ?’
प्रहरी निरीक्षक भण्डारीले भने मुद्दाको गहिराइमा पुग्दा जे जस्तो भेटिन्छ त्यो विषय पछि आउने बताए । ‘छोराको डिएनए परीक्षणपछि मात्रै मुद्दाको छिनोफानो हुनेछ,’ भण्डारीले भने, ‘छोराको दोष खासै छैन, आमाको भने दोष छ ।’
बहुविवाह भएको, जेठीलाई खान लाउन नदिएको र घर निकाला गरेकोले लामो समय मजदुरी गरेको बिषय भने प्रहरीमा छलफलमा नआएको पौडेलले गुनासो गरे । प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले भने उजुरी दर्ता भएपनि जाहेरवालालाई नभेटेको बताए ।

‘कागजात झिकाउन भन्दै गाउँ जानु भएको भन्ने थाहा छ, भेट भने भएको छैन,’ पल्लीमगरले भने, ‘मुद्दाको विस्तृत अनुसन्धानपछि मात्रै कसुर यकिन हुनेछ ।’ नागरिकतामा पति कायम भएकोले पत्नि हैन भन्ने आधार भने नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->