शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बरेङमा वडैपिच्छे फरक उत्पादन

बरेङमा वडैपिच्छे फरक उत्पादन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७८, बिहिबार

बागलुङ/ बरेङ गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका ५ वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो ।

मकैको उत्पादन राम्रो हुने वडा नं. १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रुपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले जनाएको छ ।
घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैसीका पाडापाडी उत्पादन, दुध उत्पादन र व्यवसायिक मकै खेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । वडा नं. २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यवसायिक अलैंची खेती गर्दै आएका छन् ।
‘बाँझो जमिन र खेतीयोग्य जमिनमा समेत अलैंचीको व्यवसायिक उत्पादन थालेका छौं,’ नमुना अलैचीं फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको बिक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफुल खेतीका लागि उर्वरभूमि रहेको वडा नं. ३ बाटाकाचौरलाई फलफुल पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफुलको व्यवसायिक उत्पादन हुने अध्यक्ष शर्मा बताउँछन् ।

‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोही अनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ शर्माले भने ‘नेपाल सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ ।

खेतीयोग्य जमिन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको अध्यक्ष शर्मा बताउँछन् । बाख्रा पालनका लागि राम्रो मानिएको वडा नं. ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ ।
आलुको उत्पादन राम्रो हुने वडा नं. ५ सुखौरा आलु पकेट क्षेत्र हो । यहाँका किसानले परम्परागत रुपमा नै उत्पादन गर्दै आएको आलु पछिल्लो समय बाहिरी बजारमा जाने गरेको छ । ‘सुखौरा आलुका लागि चर्चित ठाउँ नै हो, पहिले पहिले अन्नसँग साट्नेबाहेक घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुने आलु अहिले व्यवसायीक बनेको छ,’ शर्माले भने, ‘किसानले फलाएको आलुको बजारीकरण र मूल्य निर्धारणमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->