बागलुङ/ गलकोट नगरपालिका भाडाको घरमा छ । आफ्नै भवन बनाउने योजना छ । आफ्नै भवन बनिसक्न अझै दुई÷चार वर्ष लाग्ने सम्भावना छ । तर, वडा कार्यालयहरु धमाधम ठडिएका छन् । वडाले भाडा तिर्न छाडिसकेका छन् । सुविधा सम्पन्न आफ्नै भवनमा बसेर सेवासमेत दिन थालेका छन् ।
गलकोटले वडा नंं १ देखि ११ सम्म आफ्ना वडा भवन बनाइसकेका छन् । नगरपालिका र प्रदेश सरकारको बजेट परिचालन गरेर भवनहरु बनेका हुन् । ‘हामीले ३७ लाख लगानी गरेर भवन बनायौं, अहिले सहज सेवा दिन सक्ने भएका छौं,’ वडाध्यक्ष तेजबहादुर थापाले भने, ‘थप १५ लाख लगानी गरेर रङरोगन र तारबारसमेत गरिसकेका छौं ।’ वडा कार्यालयहरु एकै रङ र डिजाइनका बनेकोले गलकोटमा आर्कषकसमेत देखिएका छन् ।
बागलुङ नगरपालिकाको दुर्गम मानिने रायडाँडामा पनि वडा कार्यालय बनेको छ । लामो समयसम्म विद्यालयको जीर्ण भवनको कोठामा बसेको वडा आफ्नै भवनमा सरेपछि सेवा प्रवाहसमेत चुस्त भएको छ ।
‘एउटै कोठामा लामो समयसम्म दुईवटा टेबुल राखेर बस्यौं, अहिले बल्ल सेवा प्रवाहमा सहज भएको छ,’ वडाध्यक्ष ज्ञानेन्द गौतमले भने, ‘नगरपालिकले पर्याप्त बजेट नदिएकोले निर्माणमा ढिलाइ भयो, श्रमदान समेत जुटाएर कामचलाउ बनाएका छौं ।’
एकतले भवनमा कार्यालय संचालनमा आइसकेको उनले बताए । ट्रस्ट राखेर माथिल्लो तलामा सभाहल बनाउने योजना गौतमले सुनाए । वडा नंं ६, ७ र ९ मा भने भवन निर्माणाधीन छन् ।
वडिगाड र निसीखोलामा पनि वडा कार्यालयहरु धमाधम बन्दैछन् । वडा, पालिका र अन्य श्रोत संकलन गरेर बनेका वडा भवनले संघियताका संरचनाहरु व्यवस्थित र संस्थागत बन्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले बताए । ‘जे जसरी बनेपनि भवन बनेर व्यवस्थित कार्यालय संचालन गर्दा आफ्नो वडाको सान बढ्छ’ उनले भने, संस्थागत भैसकेका कार्यालयमा कुनै कर्मचारी वा जनप्रतिनिधि नहुँदापनि नियमित काम गर्न सहज हुन्छ ।’
यसरी वडा तहमै भवन बनाएर व्यवस्थित बन्ने लहर चलिरहेपनि बागलुङ नगरपालिकाले भने आफ्नै भवन अलपत्र पारेको छ । अहिलेसम्म आफ्नो भवनको तयारी नै नगर्नेमा काठेखोला गाउँपालिका छ ।
जग्गाको व्यवस्थापन नभएपछि भवन बन्न नसकेको अध्यक्ष अमर थापाले बताए । त्यस बाहेक ताराखोला गाउँपालिकाले आफ्नो भवन बाहेक कर्मचारी आवास गृह, संग्राहलय र सभाहल पनि बनाइसकेको छ । विषयगत कार्यालय र वडा भवनहरु पनि व्यवस्थित रुपमा चल्न थालिसकेको अध्यक्ष प्रकाश घर्तीले बताए ।
बरेङले गत वर्षनै भवन निर्माण थालेको छ भने जैमिनी नगरपालिकाले पहिलो चरणको काम थालिसकेको छ । ‘जग्गा प्राप्तिमा ढिला भएकोले अड्केका थियौं, अब कामले गति लिन्छ,’ नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘क्रमश वडा भवनहरु पनि बन्ने क्रम सुरु हुन्छ ।’
जैमिनीका वडामा भने आफ्नै भवन हुने थोरै छन् । तमानखोलामा पनि वडा भवन बन्ने क्रम सुरु भएको छ । आफ्नै प्रशासकीय भवन बनाइसकेको तमानले सुशासनलाई प्राथमिकता राखेको अध्यक्ष जोकलाल बुढाले बताए । वडाहरु पनि आफ्नै भवनमा सर्ने गरी कतै जग्गा व्यवस्थापन, कतै भवन निर्माण शुरु भएको उनले बताए ।
वडा नंं १ र २ को भने अधिकांश सेवा पालिकाबाटै हुने गरेको छ । केही वडाहरु पुराना गाविसको भवनमा सञ्चालित छन् भने केही स्थानमा अझै भाडामा छन् । जग्गाको व्यवस्थापन भएपछि भने वडाले भाडा तिर्न छाडेर भवनकै तयारी गरेको जनप्रतिनिधिले बताए ।





