बागलुङ/ जन्मदिनमा हुने खर्च कटाएर यहाँका एक युवाले विपन्न विद्यार्थीको लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तथा नेपाल भलिबल संघ जापानका सदस्य तुलवीर थापाले गलकोट नगरपालिका ७, मल्ममा रहेको जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालयमा अध्ययनरत ६ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
मल्म स्थायी घर भएका थापाले २० हजार मूल्यको शैक्षिक सामाग्री सहयोग गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । जन्मदिनमा फजुल खर्च कटाए उनले विपन्न विद्यार्थीका लागि सहयोग गरेका हुन् । थापाले विद्यार्थीहरुलाई कपी, कलमसहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
जन्मदिनको अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी, विपन्न विद्यार्थी लभिसा खड्कालाई शैक्षिक सामाग्री प्रदान गरेका विद्यालयका सहायक प्रधानध्यापक भविन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस, विपन्न विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिए ।
उक्त शैक्षिक सामाग्री गलकोट नगरपालिका, ७ का वडा सदस्य लोक बहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गरे । दुवै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने थापालाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेका छन । सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालय मल्मका अक्षयकोषकर्ता, सहयोगी एवं पूर्व विद्यार्थीसमेत हुन ।





