बागलुङ – सर्बोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको काम न्यायपालिकाको असफलतामा उद्दत भएको भन्दै बागलुङका वकिलले राजिनामा माग गरेका छन् । उनीहरुले जवराको राजिनामा माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा आइतवारदेखि धर्ना दिने कार्यक्रम समेत सुरु गरेका छन् ।
आइतवारदेखि शुरु भएको दैनिक एक घण्टे धर्ना मंगलवारसम्म जारी रहने उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अखिलनाथ शर्माले जानकारी दिए । उच्च अदालत बार एसोसिएसन बागलुङको आयोजनामा बरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले आइतवार बिहान साँढे १० देखि साँढे ११ बजे सम्म धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्याधिसको राजिनामा समेत माग गरेका थिए ।
बिबाद र भ्रष्टा«ाचारमा डुवेको भन्दै प्रधानन्यायाधिस बिरुद्ध कालोपट्टी समेत बाँधेर प्रर्दशन गरेका हुन् । उनीहरुले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार बिरुद्ध हाम्रो अभियान भन्ने नारा लेखेको व्यानर पनि टाँसेका थिए । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिसले राजिनामा दिनुपर्छ भन्ने उनीहरुको माग छ ।
धर्नामा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा र कृष्णप्रसाद शर्मा निउरे सहित बारका पूर्व अध्यक्षहरु सहभागि थिए । उनीहरुको आन्दोलनमा लेखापढी व्यवसायीलेपनि साथ दिएका थिए । बारले सोमबार र मंगलवार पनि अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको छ ।




