बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लोकमार्गको काममा ढिलासुस्ती, स्थानीयको बिरोध

लोकमार्गको काममा ढिलासुस्ती, स्थानीयको बिरोध


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७८, बुधबार

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नती तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाहरुले बिरोध गरेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. ५ र ६ बिहुँका युवाहरुले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर बिरोध गरेका हुन् । सडकमा निस्किएका युवाहरुले जनतालाई सास्ती दिने काम भएको भन्दै सांकेतिक बिरोध गरेका हुन् । दुई खण्डमा काम भैरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्रे गर्नुपर्ने युवाहरुको माग छ ।

निर्माण कम्पनीको लापरवाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा समेत कालोपत्रेको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले बताए । सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाईसेन्स खारेज गर्नुपर्ने, काम तत्काल थाल्नुपर्ने लगायतका माग राख्दै युवाहरुले दबाव दिन सुरु गरेको कँडेलले बताए ।

बिहुँको अक्षेतेदेखि इनारपानीसम्म काम गर्ने कम्पनी लामो समयदेखि सम्पर्कबिहिन रहेकाले बिरोध अभियान सुरु गर्नुपरेको कँडेलले बताए । स्तरोन्नतीसहित कालोपत्रे थालिएको सडकका कारण स्थानीयले हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती खेप्दै आएका छन् । ‘अब हाम्रो विरोधको कार्यक्रम चरणवद्ध हुन्छन्, सबै क्षेत्र जिम्मेबार बन्नु जरुरी छ’ कँडेलले भने ‘हामीले सधैं सास्ती खेपिरहनु पर्ने ? उनीहरुले काम गर्न नपर्ने ?’

२०७२/७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३/७४ मा सुरु भएको बागलुङ अक्षेते खण्ड तीन बर्षमा सकिनुपर्ने थियो । ६ बर्ष समय बितिसक्दा समेत म्याद थप्नेबाहेक काम नभएको भन्दै स्थानीयले बेला बेलामा विरोध गर्ने गरेका छन् । बागलुङ अक्षेते खण्ड स्तरोन्नती र कालोपत्रेको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलब ५ किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेबारी पाएको सूर्य कन्ट्रक्सनले काम नगरेको स्थानीयको आरोप छ ।

‘चैतसम्म म्याद थप भएको छ, कोभिडको बेलाको म्याद सबैलाई थपिँदा उनीहरुले पनि पाए’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले भने ‘हामी खोजी गरिरहेका छौं, ठेकेदार कम्पनीसँग कुरा गरेर काम अघि बढाउँछौं ।’ बेला बेलामा आउने गरेका निर्माण कम्पनीका प्रतिनिधिले थपिएको समयमा काम सक्ने प्रतिबद्धता जनाउने गरेको भएपनि म्याद थप भएपछि बेखवर हुने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले संघ, प्रदेश र स्थानीय सरकारको खबरदारी निरन्तर हुनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->