बागलुङ/जैमिनी नगरपालिका वडा नं. १ को टिमुरखोला सिंचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उनी बजेटका लागि खोजीमा धाउँदा हैरान भैसकेका छन् ।
२०६० सालदेखि सानो सानो बजेटले काम गर्नुपर्दा यो आयोजना अन्यौलमा परेको हो । सिंचाइ अभावमा ५१ हेक्टर जमिनमा खेतीपातीमा समस्या परेको छ । योजना स्वीकृत भएको सुरुवाती बर्षमा चारपाँच लाखको दरले रकम पनि विनियोजन भयो । १ करोड २५ लाख लागत स्टिमेट गरिएको टिमुरोला कुश्मीसेरा सिंचाइ आयोजना अझै बनिसकेको छैन ।
झण्डै ३ किमी लामो नहरबाट यहाँको टार र छसय भन्ने स्थानमा सिंचाई गर्ने योजना बनेको थियो । उक्त योजना अनुसार काम शुरु भएपछि लामो समय बजेट नआएर उपभोक्ता हैरान भएका छन् । ‘अठार वर्ष भयो, कामको ५० प्रतिशतपनि सकिएको छैन’ उपभोक्ता समितिका अध्यक्ष मोतीप्रसाद पौडेलले भने, ‘कहिले सकिएला र सहज सिंचाइ गर्न पाइएला ।’ सिंचाइ अभावमा किसानले कतिपय खेतबारी बाँझै राख्नु परेको गुनासो समेत गरे । यो योजना बनेमा ५१ हेक्टरमा थप १५ हेक्टर पनि सिंचाइ गर्न सकिने उनले बताए ।
यो आयोजना स्थलमा किसानले बर्षातमा धान लगाउँछन् भने हिउँदमा मुलाको बीऊ तथा तरकारी खेती गर्छन् । तर पर्याप्त सिंचाइ नभएर उत्पादन लिन नसकेको उपभोक्ता उमाकान्त शर्माले बताए । केही स्थानमा किसानले आफ्नै खर्चमा खोलाको पानी पम्प गरेर तान्छन् । तर दिगो नभएको उनले बताए । ‘वर्षमा पाँच दश लाख आएर यतिलामो नहर कसरी बन्ला ?’ शर्माले भने, ‘धेरै बर्ष बजेटै पाइएन, प्रदेश सरकारले पठाएको रकमबाट काम गर्दैछौं ।’ गण्डकी प्रदेश सरकारले दुई बर्षअघि २५ लाख, गत बर्ष ३५ लाख र चालु वर्ष १५ लाख रुपैयाँ मात्रै विनियोजन गरेकोले काम अगाडि बढ्न नसकेको हो ।
‘चालु वर्ष कम्तिमा ५० लाख आएको भए कामले गति लिन्थ्यो’ पौडेलले भने, ‘तर यो वर्ष पहिरो पन्छाउन पनि नसकिने भयो ।’ वर्षातमा खसेको पहिरोले यहाँ ठूलो क्षति पुगेपछि पानी लगाउनै नपाएको उनले बताए । बागलुङ नगरपालिका वडा नंं १४ को कैया सिंचाइ आयोजनामा पनि निर्माणाधिन अबस्थामा कालीगण्डकी करिडोर खन्दा कुलो बगायो । कैयाको झण्डै ३ सय रोपनी जमिनमा पानी लगाउने कुलो बग्दा किसानले हैरानी खेपे । दुइ वर्षसम्म खेत रोप्नै नपाएका किसानले गत बर्षदेखि पाइप लगाएर पानी तारेका छन् । तर करिडोरबाट अझैपनि पहिरो खसेर पटक पटक कुलो बगाउँदा सिंचाइमा समस्या भएको बताए ।
उनीहरुले खानेपानी तथा सिंचाइ मन्त्री, सचिव लगायतलाई कुलो मर्मत गरेर नियमित पानी चलाउने बनाउन सहयोग गरिदिन आग्रह गरेको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । ‘किसान मारमा छन्, मन्त्रालयले हेरिदिनुपर्छ’ खत्रीले भने, ‘धेरै लामो कुलो छ, उपभोक्ताले सामान्य मर्मत गरिरहन्छन्, तर करिडोरकै कारण क्षति पुगेको स्थानमा भने लाखौं लगानी चाहिन्छ ।’ झण्डै ५० लाख नभए कुलो नियमित गर्न नसकिने उनले बताए ।
जैमिनी नगरपालिकाको रितीपफेदी राउदी सिंचाइ आयोजना र बागलुङ नगरपालिकाको नारायणस्थान लिफ्ट सिंचाइ आयोजना त भौगोलिक रुपमा असंभव भएपछि कामै थालिएको छैन । संघिय सरकारको अनुदानमा निर्माण गर्न लागिएका १६ योजनामध्ये ६ वटा योजना असंभव देखिएकोले गत बर्ष कामै थाल्न नपाएको डिभिजन सिंचाइ आयोजना कार्यालयका इन्जिनिर शंकर बुढाथोकीको भनाई छ ।
गत आबका लागि नारायणस्थान लिफ्ट सिंचाइ आयोजनाका लागि ५० लाख र रितीपफेदी राउदी सिंचाइ आयोजनाका लागि ४० लाख बजेट थियो । तर काम गर्न नसकेपछि उक्त बजेट भने फिर्ता भएको थियो । उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले सानो बजेटले काम रोकिएका स्थानमा बर्षको अन्तिम सम्म पनि थप सम्बोधन गरेर काम सक्ने लक्ष राखेको बताए ।





