बागलुङ/मन्दिर परिसरको ठुलो वन, काठ, दाउरा, घाँस र वन्यजन्तुको निकै चोरी शिकारी हुन्थ्यो । पर्यावरण मात्रै होईन मन्दिरको गरिमा कायम राख्नका लागि बागलुङ कालिका भगवती गुठी परिसरलाई जोगाउनु थियो । गुठी व्यवस्थापन समितिले मुढ र भेटी ठेक्का लगाउँथ्यो । ठेकेदारका आँखा मुढ भेटीमै रहे । वन परिसर जोगाउने कोही थिएन् ।
एकातर्फ बेरोजागरीको समस्या थियो, अर्कोतर्फ पोखरा बागलुङ राजमार्ग निर्माणका क्रममा घरबास उठेकाले धनबहादुर माझी यसै भौंतारिएका थिए । मन्दिरलाई रक्षक र धनबहादुरलाई हातमुख जोड्ने बाटो चाहिएको थियो । संयोग २०५४ सालमा धनबहादुरले बागलुङ कालिका मन्दिर परिसरको वन रक्षकको जिम्मेबारी पाए । केही समयपछि उनकी पत्नी रुपामायाँले पनि त्यहिँ काम पाईन् । परिसरमा रहेको सडक सरसफाई गर्ने । गुठीले दिएको जिम्मेबारी २२ वर्ष इमान्दार भएर पुरा गर्दै धनबहादुर र रुपामाया बिदा भए ।
अहिले बुढ्यौलीले उनीको हातगोडा काप्छन् । सडक बनाउँदा उठेको बस्ती पुनः बसेको छ । सन्तान नभएका दम्पत्तीलाई नयाँ माझी बस्तीमा घर मिलेको छ । त्यहीं घर वरपर रहेको बारीमा तरकारी लगाउने र उमेरमा कमाएको धनको सहारामा जीवन चालउने सपना बोकेर धनबहादुर र रुपामाया कालिका गुठीबाट बिदा भएका छन् ।
वनरक्षकको रुपमा कालिका परिसर प्रबेश गरेका धनबहादुरले पछिल्लो केही वर्ष सरसफाई मजदुरको काम गरे । कालिका मन्दिर परिसरमा रहेको वन, वनस्पती र वन्यजन्तुको संरक्षणमा उनको भुमिका महत्वपूर्ण रहेको कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । रक्षक भएकाले उनीहरुलाई मन्दिर पुग्ने सबैले चिन्छन् ।
शुक्रबारदेखि कामबाट बिदा भएका धनबहादुर रुपामायालाई गुठीले दोसल्ला ओढाएर सम्मान ग¥यो । जीवन ज्युने स्रोतका रुपमा प्रोत्साहन स्वरुप २ लाख रुपैयाँ गुठीले उनीहरुलाई दिएको छ । ‘अब भत्ता पनि आउने बेला भएको छ, पहिलेको केही पैसा बैंकमा छ’ रुपामाया भन्छिन् ‘हामी एकदमै खुसी छौं, मन्दिरले ज्यूने खर्च दिएर पठायो, किन चाहियो र पेन्सन ।’
गुठीका अध्यक्ष खड्काले उनीहरुसँग रहेको पैसा मुद्धतीमा राखेर व्याजले खर्च चलाउन आग्रह गरे । गुठीले पहिलोपटक लामो समय काम गरेर निबृत्त हुने कर्मचारीका लागि प्रोत्साहन रकम दिन थालेको हो । ‘हामीले कर्मचारीको लागि सञ्चय कोषको व्यवस्था गरेका छौं, मर्दा पर्दा २० हजार रुपैयाँ सहयोग गर्छौं’ खड्काले भने ‘हामी पहिलो हौं भन्ने लाग्छ, मन्दिरमा काम गर्ने कर्मचारीलाई उपादानकै हैसियतमा प्रोत्साहन रकम दिने ।’
यहाँ सरसफाई, व्यवस्थापन र कार्यालय सञ्चालनमा काम गर्ने सबै कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिने उनले बताए ।





