बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मानवीय सेवामा खटिंदै २० वर्षीया पुजन

मानवीय सेवामा खटिंदै २० वर्षीया पुजन


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७८, मंगलबार

बागलुङ/ युवाहरुमा केही पढ्ने लेख्ने बित्तिकै राम्रो तलब भएको जागिर खोज्ने चलन छ । तर, बागलुङकी एक २० वर्षीया युवती पाएको तलब पनि छाडेर सामाजिक सेवामा होमिएकी छन् ।

अहेब पास गरेपछि बागलुङ नगरपालिका–६ की २० वर्षीया युवती पुजन आचार्य मानवसेवा आश्रममा बसेर सेवा गरिरहेकी छन् । आश्रममा बसेका असहायको स्वास्थ्य परीक्षण र उपचारलाई दैनिकी बनाएकी छन् । आश्रममा रहेका ५० जना बेवारिसे व्यक्तिको दैनिक स्वास्थ्य परीक्षण, औषधि वितरण उनको काम हो । आश्रम बाहिरबाट आउने बिरामी र आश्रम संचालक र संरक्षणमा खटिने अभिभावकको समेत गरी नियमित ७० जना बढीको उपचारमा खटिने गरेको आश्रम संचालक सुमिरा लामाले बताइन् ।

सडकमा अलपत्र भेटिएकालाई ल्याएर सरसफाइ गर्ने, उपचार गराउने र आश्रममा खानलाउन दिएर राख्ने गरिन्छ । यसरी भेटिने अधिकांश मानसिक रोगीहरु छन् । घरपरिवारले त्यागेका, मानसिक रोग भएकोले घरपरिवारबाट भागेर हिंडेकाहरुलाई आश्रममा राखिएको छ । ‘यहाँ आइपुगेका केही बालबालिका र केही अन्य मानिसबाहेक अधिकांश मनोरोगी छन्’, आचार्यले भनिन्, ‘दैनिक बिहान २२ जना र बेलुकी ३२ जनाले मानसिक रोगको औषधि खानुहुन्छ ।’ यहाँ मासिक ४० हजारसम्मको औषधी खपत हुने गरेको छ ।

सरकारले विभिन्न ७२ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरेपनि मानसिक रोग, सुगर र प्रेसरको औषधि किनेरै खानुपर्छ ।आश्रमले संकलन गरेको दानमुठीबाटै उनीहरुलाई औषधिसमेत किन्नु् परेको संकालक सुमिरा लामाले बताइन् । ‘यहाँ बस्ने हरेकको फरक चाहना, समस्या र फरक भाषा धर्म छ तर एउटै छानामुनी मिलाएर राख्ने प्रयास गरेका छौं’, उनले भनिन्, ‘नियमित उपचार नभए कतिको ज्यानै जोखिममा पर्छ ।’ त्यसैले एक वर्षअघिदेखि पुजनलाई तलब दिने गरी राखिएको थियो ।

दुई महिना तलब खाएपछि पुजनले तलब खान मानिनन् । ‘आश्रमको अवस्था देखेर मलाई तलब खाने इच्छा जागेन, त्यसैले म निःशुल्क काम गर्छु भनेर बसेकी छु’, उनले भनिन्, ‘आमाबाबुले पहिला अप्ठ्यारो मान्नुभयो, अहिले मेरो चाहनालाई बुझिदिनु भएको छ ।’ बाबु नारायण आचार्यले दुई छाक खानका लागि अन्य श्रोतबाट पनि सकिने भन्दै छोरीको कामको प्रशंसा गरेका छन् । बाबुको प्रेरणाले सकेसम्म लामो समयसम्म निःशुल्क सेवा गर्ने उनले चाहना राखेकी छिन् ।

उनको काम देखेर धौलागिरि अस्पतालले पछिल्लो ६ महिनादेखि करारमा जागिर दिएको छ । उनले दैनिक ६ घण्टा अस्पतालमा काम गर्छिन् । बिहान र बेलुकी तथा समय पाउँदा दिउँसो पनि आश्रममै आएर बिरामीको हेरचाह गर्न थालेकी छिन् । उनले अन्य स्थानका आश्रमबारे पनि जान्न पाएको बताइन् । देशभर यस्ता आश्रम खुलेको र अधिकांश बिरामी तथा मानसिक समस्या भएकाहरु राखिने भएकोले राज्यले औषधिको व्यवस्था गर्नुपर्ने उनले सुझाव दिइन् ।
आश्रमका संचालकहरुले पनि अत्यावस्यक औषधिहरुको खोजी गरिरहेको लामाले बताइन् । ‘कहिलेकाहीँ नगरपालिका र औषधि व्यवसायीले सहयोग गर्नुभएको छ, नियमित सहयोग नभएपछि खर्च गरेर ल्याउनुपर्छ’ लामाले भनिन्,,‘नीतिगत रुपमा सम्बोधन गरिदिन पत्रचार गरेको केही जानकारी आएको छैन ।’ पुजनले मानसिक रोग विशेषज्ञसंग सम्पर्क गर्दै बिरामीको उपचार गरेको बताइन् ।

बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले मन्त्रालय तहमा जानकारी गराउन सकिने बताए । ‘नगरपालिकाले नियमित दिन सक्ने अवस्था छैन, मन्त्रालयबाट नीतिगत व्यवस्था भयो भने केही होला’, खनालले भने, ‘बिहान बेलुकी खानेबस्नेभन्दा यो ठूलो खर्च र जोखिमको काम समेत हो ।’स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यो विषयलाई नीतिगत तहमा लैजाने बताएका छन् । ‘सानै उमेरमा गरेको सेवा उदाहरणीय छ तर औषधि नियमित आउने व्यवस्था गर्न सके झनै राम्रो हुन्छ ।’ यहाँ ५ जना साना बालबालिकासमेत आश्रित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->