बागलुङ/ गण्डकी प्रदेश सरकारका वन, वातावरण, भूसंरक्षणमन्त्री दीपक थापाले वन पैदावारको संरक्षण र उचित निकासी गर्दा देश धनी बन्न सक्ने बताएका छन् । उनले गण्डकी सरकार वन ऐन ल्याउने बिषयमा गम्भिर बनेको बताए ।
उनले खेतबारी र जंगलमै रुख कुहिने अवस्था हटाएर उपयोगी काठ निकासी र राज्यलाई कर तिर्ने वातावरण बनाउनुपर्ने बताए । नेपाल वन पैदावार फर्निचर उद्योग व्यवसायी संघ बागलुङको छैठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसनको उद्घाटन गर्दै मन्त्री थापाले केन्द्रीय ऐन अभावले प्रादेशिक ऐन ल्याउन ढिला भएको बताए । उनले छिटै वन ऐन ल्याउने बताए । ऐन अभावमा धेरै काम रोकिएकोले ऐनकालागि तयारी गरेको बताए ।
मन्त्री थापाले वन ऐन नआएर धेरै समस्या भएको महसुस भएको बताए । ‘लामो समयदेखि ऐन नभएर काम रोकिएका रहेछन्, जनताले दुःख पाएका रहेछन्’, उनले भने, ‘अब छिटै ऐन आउँछ, वन क्षेत्र व्यवस्थित बन्छ ।’ फर्निचर व्यवसायीले काठको उपयोग गर्न नपाएको, विदेशबाट महंगोमा काठ किन्नु परेको गुनासो गरेपछि उनले उक्त जानकारी दिएका हुन् ।
साधारणसभाको अबसरमा व्यवसायीले बजारको माग अनुसार काठ उपयोग गर्न दिनुपर्ने माग गरेका थिए । उनीहरुले स्वदेशमै रोजगारी बढाउन वन पैदावारको सदुपयोग गर्ने वातावरण चाहिएको समेत बताए ।
संघका अध्यक्ष डम्बर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, बागलुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजन कुमार शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राज थापालगायतले वन ऐन समयमा ल्याउन सुझाव दिएका थिए ।





