पोखरा/ गण्डकी प्रदेश सरकारले एकैदिन ३ वटा सामाजिक कार्यको घोषणा गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सरकारले एकसाथ सडकमा बस्दै आएका र सहयोग आवश्यक रहेकाहरुलाई व्यवस्थापन गर्दै मानवमुक्त प्रदेश घोषणा, लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान तथा कोभिडबाट आमाबुबा गुमाएका बालबालिकालाई राहत रकम प्रदान कार्यक्रम सुरु गरेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तीनवटै कार्यक्रमको सुरुवात गरे ।
गण्डकी सरकारले कोभिड–१९ बाट आमाबुवा गुमाएकामध्ये ६० जना बालबालिकाहरुलाई पहिलो किस्ताबापत्को रकम वितरण गरियो । उनीहरुले मासिक ५ हजार रुपैयाँ पाउने छन् । गण्डकी सरकारले यसअघि नै कोभिडबाट अभिभावक गुमाएकहरुलाई मासिक सहयोग गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारले राहतका लागि आह्वान गरेअनुसार १ सय ७० जना बालबालिकाको निवेदन परेको थियो । कागज पुगेका ६० जनाको प्रमाण पुगेकाले रकम दिइएको, ८ जना बालबालिका १८ वर्ष नाघेका कार्यविधि अनुसार सहयोग पाउनबाट वञ्चित भएको सामाजिक विकासमन्त्री मेघलाल श्रेष्ठले बताए । बाँकीको पुनः आवश्यक कागजात मागिएको उनले सुनाए । सरकार प्रदान गर्ने उक्त राहतका लागि बालबालिकाको नाममा वा अभिभावकले बालबालिकाका लागि खोलिदिएको बैंक खातामा भुक्तानी दिनेछ ।
शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले सडक मानवमुक्त प्रदेश घोषणा प्रस्ताव पेश गर्दै गण्डकीमा ९ सय जना व्यक्तिहरुलाई विभिन्न संस्थामा आश्रित रहेको जानकारी गराए । उनले ७ सय जनालाई सुधारपश्चात पारिवारिक पुनर्मिलन गराइएको तथा २ सय ५० जना अल्पकालीन सेवा दिइएको जानकारी दिए । अभियानले २०८२ सालभित्र शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन विवश घरबारविहीन,वेसहारा, परित्यक्त तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र निमार्ण गर्ने योजना रहेको मानव सेवा आश्रम केन्द्रीय उपाध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।





