बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

दलभित्र मन जितेका मेयरसापहरु

दलभित्र मन जितेका मेयरसापहरु

दलभित्र समिक्षा भयो भएन त्यो खोजीको विषय हो तर जनप्रतिनिधि भैसकेका नेताहरुले दलभित्र पाएको मतले उनीहरु दलप्रति वफादार छन् भन्ने बुझिन्छ ।


  • तारानाथ आचार्य
  • मंसिर १० २०७८, शुक्रबार

बागलुङ/स्थानीय सरकार गठनको पाँच वर्ष पूरा हुनै लागेको छ । नेपालको संविधानले तीन तहका सरकारको परिकल्पना गरेपछि गठन भएको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि साढे चार वर्ष पुग्यो । निर्वाचनका समयमा गरेका प्रतिवद्धता, दलका घोषणापत्र र जनचाहना अनुसार काम भए वा भएनन् भनेर समीक्षा गर्ने बेला आएको छ ।

भवितव्य नभए आउँदो वैशाखभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था छ । नयाँ नेतृत्व आउँदा सत्ता हस्तान्तरण पूर्वजनप्रतिनिधि र उनीहरुका दलले कामको समिक्षा गर्ने नै छन् । आम जनसमुदायले गर्ने समीक्षा र आन्तरिक रुपमा गरिने समीक्षा फरक– फरक हुन् । सबै जनप्रतिनिधि कुनै न कुनै दलको टिकट लिएर निर्वाचनमा होमिएका उम्मेदवार हुन र जितेपछि साझा भए । उनीहरु आफ्नो दल, कार्यकर्ता र आम जनताप्रति कति उत्तरदायी थिए भन्ने कुरा समीक्षा र मूल्यांकन भएपछि मात्रै जानकारी हुने कुरा हो ।

अहिले दलहरुका अधिवेशन चलिरहेका छन् । आन्तरिक प्रतिष्पर्धा र नेतृत्व चयनको महामेला चलिरहेका बेला राजनीतिक दल र दलको तर्फबाट उम्मेदवार भएर जनप्रतिनिधि भएकाहरुको पनि कार्यकर्ताले समीक्षा गर्नुपर्दछ ।
लोकतन्त्रको सुन्दर पक्ष राजनीतिक दलहरुको अधिवेशन, त्यसभित्र हुने प्रतिस्पर्धा । अहिले चलिरहेको अधिवेशनको महामेलामा जनमानसमा असन्तुष्टि हुँदाहुँदै बागलुङका केही स्थानीय तहका प्रमुखहरु पार्टीभित्र अनुमोदित भए । उनीहरुले पार्टीको निर्वाचन जितेका छन् । यसको अर्थ विपक्षीलाई चिढ्याएरै भएपनि, आम सर्वसाधारण्को चित्त दुखेका भएपनि दलभित्र उनीहरु बफादार छन् ।

कात्तिक २७ गते भएको नेकपा एमाले बागलुङको महाधिवेशन छनौट प्रक्रियामा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिए । अध्यक्ष मण्डलको सहायतमा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले उनको उम्मेदवारीमा कसरत गर्न परेन । दलित कोटामा उम्मेदवारी दिएका नेपाली सर्वसम्मत चयन भए । अरु कसैको उम्मेदवारी नै नपरेकाले उनी दलभित्र अनुमोदित भए भन्न सकिन्छ ।

सोही मितिमा खुल्ला महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल पनि अरु उम्मेदवारलाई अध्यक्ष मण्डलले फिर्ता गरेपछि सर्वसम्मत भए । नगरका कामका बिषयमा चित्त नबुझेको भन्दै तीन वर्षअघि नगरकार्यपालिकाको कार्यालयमै ताला लगाएकाहरुले समेत उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि हुँदा आफू पछि हटे । दलप्रति र कार्यकर्ता प्रतिको बफादारिता उनमा देखियो ।

मंसिर ३ गते भएको नेपाली कांग्रेस प्रदेश महाधिबेशनको निर्वाचनमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवार भए । ४ गते भएको मतदानमा सबैभन्दा धेरै मत ल्याउने उनै भए र चुनाव जिते । चार वर्षअघि नगरका कामका विषयलाई लिएर कांग्रेसकै नगर सभापतिले ज्ञापनपत्र बुझाएका थिए । छोटो समयमा उनले कामको प्रकृति फेरे, सुधारे वा उस्तै छ । त्यो त समिक्षाको बिषय भयो तर दलभित्र उनी बफादर भएर न चुनाव जिते ।

मंसिर ६ बाट सुरु भएको कांग्रेसको क्षेत्रीय महाधिबेशनमा क्षेत्र नं. २ बागलुङबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे । उनले पनि चुनाव जिते । विपक्षी दलहरुलाई बेवास्ता गर्ने गरेको आरोप सहितको ज्ञापनपत्र एक वर्षअघि बुझेका गैरेलाई पनि पार्टीले अनुमोदन गरेको छ । उनले पनि अरु नगरप्रमुखले जस्तै पार्टीभित्र सबैको मन जितेका छन् तर नगरभित्रका कामका बिषयमा भने न पार्टीले समीक्षा गरेका छन् न उनी आफैले ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा कांग्रेस क्षेत्र नं. २ को सभापति बने । मतदानमार्फत नै उनी सभापति बन्दा अपेक्षा गरेभन्दा बढी मत उनले पाए । गाउँपालिकाका गतिविधिको विषयमा दुई वर्षअघि गाउँसभा नै अबरोध हुनेगरी एमालेसँग चिडिएका बुढाले पार्टीमा भने बफादार रहेको प्रमाणित गरे ।

दलभित्र समीक्षा भयो भएन त्यो खोजीको विषय हो । तर जनप्रतिनिधि भैसकेका नेताहरुले दलभित्र पाएको मतले उनीहरु दलप्रति बफादार छन् भन्ने बुझिन्छ । आम सर्वसाधारणको हितमा काम गरे गरेनन् भन्ने विषयमा समिक्षा भने आउँदो स्थानीय तहको निर्वाचनमा उनीहरु र उनीहरु सहभागी दललाई जनताले गर्ने विश्वासका आधारमा मात्रै भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->