४० करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त योजनाअन्तर्गत अहिलेसम्म आधा अर्थात २० करोड रुपैयाँ बराबरको काम सकिएको छ । अझै २० करोडको संचना बनाउन बाँकी नै छ ।
पोखरा/ ५ वर्षअघि पोखराका चन्द्रकान्त बरालले सपनामा हिन्दु देवादीदेव महादेव तलाउमा तैरिरहेको देखे । सपनामा भगवान शिवको जुन प्रतिमा देखेका थिए, तत्काल उनले त्यही प्रतिमा बनाउन लगाए । आप्mनो कार्यकक्षमा त्यही प्रतिमा राखे ।
पोखरामा दानाको व्यवसाय गर्दै आएका बरालले कार्यकक्षमा राखिएको शिव मूर्ति देखाउँदै भने, ‘शिवजीको यही प्रतिमा मैले सपनामा देखेको थिए, त्यसै प्रकारको मूर्ति पुम्दीकोटमा स्थापना गर्ने अठोट गरे ।’
सपनामा शिवजी देख्नु अघिदेखि नै बराल शिवभक्त भइसकेका थिए । भारतमा भगवानका रुपमा पुकारिएका साइबाबालाई भेटेर फर्केपछि उनी झनै शिवभक्त बने । ‘भगवान ठानिएको साइबाबा पनि शिवभक्त रहेछन्,’बरालले भने,‘शिवजी भगवानको पनि भगवान हुनुहुन्छ ।’
बरालको पुरानो घर पुम्दीकोट हो । कोटमा मन्दिर बनाएर स्थानीय परम्परादेखि नै भुमेश्वरको पूजा गर्छन् । त्यही मन्दिर भएको ठाउँमा सपनामा देखेको शिवजीको विशाल प्रतिमा बनाउन बरालले प्रतीज्ञा गरे ।
मन्दिर भएकै ठाउँमा यसअघि शान्ति मन्त्रालयको सहयोगमा भ्यु टावर बनाइएको छ । टावर बनाउने समितिको अध्यक्ष पनि बराल नै थिए । शिव मन्दिर बनाउन गठन गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष पनि उनै बराल छन् ।
शिव मन्दिर बनाउन गठित सो समितिले शुरुमा स्थानीयसँग सल्लाह गरे । फेवाताल पारी वनमाथि रहेको उक्त जग्गामा विशाल शिव मन्दिर बनाउन जिल्ला वन कार्यालयसँग अनुमति लिए । समितिले शिव प्रतिमा बनाउन गाउँमै महायज्ञको आयोजना ग¥यो ।
महायज्ञ लगाउँदा गाउँबाटै ८ करोड रुपैया उठ्यो । शिव प्रतिमासहित मन्दिर र विभिन्न धार्मिक संरचना बनाउन ४० करोडको योजना बन्यो । त्यसपछि समितिले आर्थिक संकलन अभियानलाई तीव्रता दियो । उक्त धार्मिक संरचना बनाउन पोखरा महानगर, गण्डकी सरकार र संघीय सरकारसँग पनि आर्थिक सहयोग जुटाउन सफल भए ।
आर्थिक संकलनका क्रममा शिव प्रतिमा बनाउन अहिलेसम्म १२ सय जनाले आर्थिक सहयोग गरिसकेको समितिले जनाएको छ । यद्यपी आर्थिक संकलन अभियान अहिले पनि चलिरहेको छ । सहयोग अभियानका क्रममा सबैभन्दा धेरै ३ करोड रुपैया मूल्य बराबरको शिव प्रतिमा काठमाडौंका व्यवसायी कमल जैनले सहयोग गरेका छन् । विरगंजका उद्योगपति मुरलीधर रुँगटाले १ करोड रुपैया नगद दान दिएको अध्यक्ष बरालले बताए ।
विशाल शिव प्रतिमा राखिएको पुम्दीकोटमा अहिले नेपालीको भिडभाड बढिसकेको छ । उक्त स्थानबाट उत्तरतर्फ अन्नपूर्ण श्रृंङ्खलाका सबै हिमाल देखिन्छ भने तल फेवाताल र पोखरा शहरको मनोरम दृश्य देखिन्छ । दक्षिणतर्फ फर्किएका शिव प्रतिमा निर्माण अहिले पनि जारी छ ।
४० करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त योजनाअन्तर्गत अहिलेसम्म आधा अर्थात २० करोड रुपैयाँ बराबरको काम सकिएको छ । अझै २० करोडको संचना बनाउन बाँकी नै छ । अध्यक्ष बरालका अनुसार कुमार–पार्वती स्ट्याचु, सुमेरु पर्वत, ग्रिनरी पार्क, पार्किङ, विभिन्न देव–देवीको प्रतिमा राख्न बाँकी नै छ ।
सार्वजनिक र सरकारी गरी यति ठूलो लगानीमा शिव मूर्ति स्थापना गर्दा धार्मिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको अध्यक्ष बरालले बताए । उनले उक्त शिव मूर्तिलाई दक्षिण एसियाकै ठूलो भएको दाबी गरेका छन् । उनले शिव मूर्तिको उचाइलाई नभई संरचना ठुलो भएको दाबी गरेका हुन् ।
शिव मन्दिरको साटो यति ठूलो लगानी गरेर पुस्तकालय, स्कुल वा अस्पताल जस्ता आधारभुत आवश्यकता पूरा गर्न सक्ने संरचना बनाउनुपर्नेमा कतिपयको जोड छ । बराल भने त्यही मन्दिरको माध्यमबाट यस्ता संरचना बनाउन सकिनेमा जोड दिन्छन् ।
‘मान्छेलाई के लाग्छ भने अरबौं खर्च गरेर मन्दिर बनाउनुभन्दा कलेज, स्कूल बनाइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ’, उनले भने, ‘धार्मिक पर्यटनको हब बनाउने हाम्रो लक्ष्य हो, परम्परा धान्नुपर्छ, यसले भविश्यमा कलेज, अस्प्ताल धान्न सक्छ ।’
पोखरा घुम्न आउने पर्यटकको एक दिन भएपनि बसाइ लम्ब्याउन सके देशको आर्थिक विकासमा फाइदा पुग्ने उनको ठम्याइ छ । शिव मन्दिर बनाएपछि गाउँका युवा बेरोजगार बन्न नपर्ने भन्दै उनले गाउँमै उत्पादन गरेर गाउँमै बिक्री गर्न सक्ने अवस्था सिर्जना भइसकेको बताए ।
पुम्दीकोट भन्दा करिब २ किलोमिटर तल विश्व शान्ति स्तूप छ । बौद्ध धर्मावलम्बीले पुज्ने स्तूतमाथि ठूलो संरचनामा शिव प्रतिमा बनाउँदा बौद्धमार्गीलाई कुनै हानी नहुने उनले बताए । उनले भने, ‘बुद्ध भनेको जिउँदो भगवान हो, शिवजी कहिल्यै नजन्मेको र कहिल्यै नमरेको भगवान हो, हामी भगवान बुद्धलाई पनि उत्तिकै सम्मान गर्छौँ ।’
गाउँ जाने बाटो छैन
पुम्दीकोटमा बनेको विशाल शिव प्रतिमा हेर्न जानेको भिडभाड बढेपनि बाटोको अवस्था भने नाजुक छ । पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग हुँदै पुम्दीकोटतर्फ उकालो लाग्दा यात्रुले धेरै ठाउँमा जोखिम मोल्नुपर्ने अवस्था छ । पोखरा–२२ का स्थानीय बद्रिनाथ बरालले पुम्दीकोट पुग्न विभिन्न ठाउँबाट मोटरबाटोको ट्रयाक खोलिएपनि स्तरोन्नति हुन नसकेको बताए ।
‘गाउँमा मोटरबाटोको सुविधा पुगेको छैन, मन्दिर हेर्न आउनेलाई पनि दुःख छ’, उनले भने, ‘सरकारले बाटो बनाउन ध्यान दिनुपर्छ ।’ शिव मन्दिरमा मात्र नभई गाउँलाई नै जोखिममा पर्ने गरी निजी जग्गाबाट ढुङ्गा निकाल्ने काम भइरहेको समेत उनले बताए । अहिलेसम्म त्यसतर्फ भने कसैको ध्यान जान नसकेको बद्रिनाथको भनाई छ ।
पुम्दीकोटबासी वडा सदस्य चेतभक्त शर्मा बरालले मन्दिर जाने सिँढी बनाउन वडाले ४ लाख रुपैया विनियोजन गरेको बताए । मोटरबाटो कालोपत्रे गर्न भने संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेको उनको भनाई छ ।
कात्र्तिक अन्तिममा पोखरा भ्रमणमा आएका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई स्थानीयले पुम्दीकोटमा महादेव मुर्तीको दर्शन गराएका थिए । त्यतिबेला अर्थमन्त्री प्रभाकरले बाटो कालोपत्र गर्न सहयोग गर्ने आश्वासन दिएको वडा सदस्य बरालले बताए ।
यस्तै, गण्डकी सरकारका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले पनि मन्दिरसम्म पुग्ने बाटो कालोपत्र गर्ने आश्वासन दिएका छन् । केन्द्रीय सरकारमा जस्तै गण्डकीमा पनि अर्थमन्त्री बराल माओवादीबाट चुनिएका हुन् । यस्तै, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का लगायतले पनि उक्त शिव प्रतिमा हेर्न पुगिसकेका छन् । उनीहरुले पनि स्थानीयको आवश्यकता पूरा गर्ने वचन दिएको वडा सदस्य बरालले बताए ।





