मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

२ लाख अमेरिकी डलरसहित पोखरामा युवा पक्राउ

२ लाख अमेरिकी डलरसहित पोखरामा युवा पक्राउ

सुन तस्करीमा प्रयोग ‘पोखरा ट्रान्जिट’ प्रयोग हुँदै आएको आशंका ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

पोखरा/ कास्की प्रहरीले मुस्ताङको चराङ– ४ का छिरिङ डुन्डुक गुरुङलाई करिब २ लाख डलरसहित पक्राउ गरेको छ । शुक्रबार माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका गुरुङलाई १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

गुरुङले बोकेको अमेरिकी डलर आजको नेपाली मूल्य २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ हुन्छ । काठमाडौंबाट डलर बोकेर कोही पोखरा आउँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले पृथ्वी राजमार्गको कास्की खण्डको मझुवामा चेकजाँच बढाएको थियो । गुरुङले सिटमुनिको झोलामा डलर राखेका थिए । नेपालमा १ हजारभन्दा बढी डलर बोक्न पाइँदैन । डलरको कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । तर, गुरुङसँग त्यस्तो कागजात भेटिएन । प्रहरीले यति ठूलो परिणामको डलर किन र के प्रयोजनको लागि ल्याइएको हो भन्नेबारे अनुसन्धान थालेको छ ।

‘ठूलो परिमाणमा डलर लिएर एक जना आउँदैछ भनेर सूचना पाएका थियौं’,उनले भने ‘नभन्दै काठमाडौंबाट आउँदै गरेको हाइस गाडीबाट १ लाख ९४ हजार २ सय डलरसहित पक्राउ गर्न सफल भयौं ।’ उनको झोलामा ५० अमेरिकी डलरको नोट ७२ वटा र १०० डलरको नोट १ हजार ९ सय ६ वटा भेटिएको उनले जानकारी दिए । डलर सुन तस्करीमा प्रयोग गर्न लागिएको प्रहरीको आशंका छ । पोखरा हुँदै ठूलै गिरोहले यस्तो तस्करी गरिरहेको हुनुसक्ने एसपी थापाले अनुमान लगाए ।

‘एकजना व्यक्तिले मात्र यति धेरै डलर बोकेर हिँड्न सक्दैन, संगठित अपराध भएकाले यसको विस्तृत छानविन गर्दैछौं’, उनले भने । अन्तरदेशीय सुन तस्करीका लागि उक्त डलर प्रयोग हुन सक्ने उनीहरुको अनुमान छ । उत्तरी गोरखाबाट तिब्बत जोड्ने नाकाबाट बेलाबखत सुन तस्करी पक्राउ पर्ने गरेका छन् । यस्तै, मनाङ र मुस्ताङको बाटोबाट पनि तस्करी हुन सक्ने प्रहरीले आशंका गरेको छ । चीनबाट अवैध रुपमा सुन ल्याएर भारत पठाउन डलरको प्रयोग भएको आशंका गरिएको एसपी थापाले बताए । प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकारेका छन् । प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिक लगेर बरामद डलर सक्कली रहेको पुष्टि गरेको छ । डलरसहित पक्राउ परेका गुरुङको साथबाट प्रहरीले २ वटा मोबाइल, नेपाली नागरिकता र १ थान चेकबुक पनि नियन्त्रणमा लिएको छ । गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग काठाडौंको जिम्मा लगाउने प्रहरीको तयारी छ । गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->