बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ । उपभोक्ता समितिमार्फत् काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजनाहरु खोजीखोजी सम्झौता गर्न थालिएको हो ।
गाउँपालिकाका प्राविधिक सहितको समूह गाउँ गाउँमा पुगेर उपभोक्तालाई अनुशिक्षण तथा योजना सम्झौता गरिरहेको अध्यक्ष अमर थापाले बताए । गाउँपालिकामा आर्थिक वर्ष २०७८÷०७९ को लागि १ सय ५० योजनाहरु सम्झौता भैसकेका छन् । वडा तहमा सम्झौता भएका केही योजना अध्यावधि गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाअन्र्तगत रहेको २ ७९ योजनाहरुमध्ये मंसिरको पहिलो सातासम्म १ सय ५० योजनाहरु सम्झौता भएर कार्यान्वयन अघि बढेको योजना शाखाले जनाएको छ ।
‘निर्वाचनको वर्ष हो, पुसपछि निर्वाचनको महोल हुन्छ, योजनका काम गर्न कठिन हुनसक्छ’, गाउँपालिका अध्यक्ष थापा भन्छन् ‘नीतिगत बाध्यता होईन व्यवहारिकता हेरेर योजनाका काम छिटो सकौं भनेका छौं ।’ हिउँदका महिनामा काम गर्दा कामका लागि असार मसान्त कुर्नुनपर्ने उनले बताए ।
गाउँपालिकाले गत आर्थिक बर्षको तुलनामा यस बर्ष योजनाहरुको काम छिटो थालेको र काम पनि भैरहेको जनाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत हुने योजनाहरुको वडामै पुगेर सम्झौता गर्ने गरेको छ । गाउँपालिकाले यस वर्ष ६ वटा वडामा पुगेर योजना सम्झौता गरिसकेको छ ।
‘२, ४, ५, ६, ७ र ८ नम्बर वडामा पुगेर योजना सम्झौता गरिसकेका छौं,’ प्राविधिक शाखाका प्रमुख बिनोद शर्माले भने– ‘वडा नं. १ र ३ मा पनि पुगेर योजना सम्झौता गर्ने तयारी भइसकेको छ ।’ समयमै यौजनाहरुको सम्झौता हुँदा आर्थिक वर्षको अन्त्यतिर पूँजीगत खर्च बढ्ने पुरानै प्रवृत्तिको अन्त्य हुने गाउपालिकाले अपेक्षा छ ।





