बागलुङ/ कोरोना महामारीका कारण दुई वर्ष यता रोकिएको परिवार नियोजन शिविर यसवर्ष जिल्लाका बिभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल बागलुङ र सरोकारवाला संस्थाहरुको सहकार्यमा हरेक वर्ष जिल्लाका बिभिन्न स्थानमा शिविर हुँदै आएका थिए ।
दुई वर्षयता कोरोना महामारीका कारण हुन नसकेको परिवार नियोजन शिविरले यसवर्ष निरन्तरता पाउँदै छ । चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ । मेरिस्टोप्स सेन्टरका चिकित्सक राम यादव नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय र ताराखोला गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको समुहले बन्ध्याकरण गरेको हो ।
ताराखोला गाउँपालिकाको मुकाममा आयोजना गरिएको शिविरमा २२ जना पुरुषहरुको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गरिएको छ । ३ जना महिलाको अस्थायी बन्ध्याकरण (इम्प्लान्ट) राखिएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी आचार्यले बताईन् । स्वास्थ्य कार्यालयका अनुसार मंसिर १३ गते प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा र १४ गते धौलागिरी अस्पताल बागलुङमा शिविर सञ्चालन हुँदैछ ।
‘लामो समय रोकिएकाले यसपटक ५० जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष हो’ आचार्यले भनिन् ‘हामी लक्षभन्दा धेरैको बन्ध्याकरण गर्छौं ।’ गत आर्थिक वर्षमा बुर्तिबाङमा भएको शिविरमा ८ जनाको मात्रै बन्ध्याकरण भएको थियो । त्यसयताका शिविरहरु कोरोना त्रासका कारण सञ्चालन हुन सकेका थिएनन् ।





