एमालेको इतिहासमा पहिलो जिल्ला अध्यक्ष बनेकी उनीसामु अब पहिलो जिल्ला अध्यक्ष बन्ने अवसरको ढोका खुलेको छ ।
पोखरा/२०७४ सालको संसदीय चुनावमा तत्कालीन वाम गठबन्धनले स्याङ्जा क्षेत्र नम्बर २ मा आफ्नोतर्फबाट पद्यमा अर्याललाई उम्मेदवार बनायो । नेपाली कांग्रेसका ‘पावर सेन्टर’ मानिने बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराएर पद्यमाले आफूलाई प्रमाणित गरिन् । पद्यमाले ३५ हजार १४१ मत ल्याउँदा गोपालमानले ३१ हजार ४२६ मतमात्र प्राप्त गरे । पद्यमाको चर्चा चुलियो । कांग्रेसका हस्तीलाई हराएको उपहारस्वरुप उनले केपी ओली नेतृत्वको सरकारमा भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने मौका पाइन ।
राष्ट्रवादको नारासहित सत्तारोहण गरेका एमाले अध्यक्ष केपी ओली मन्त्रीपरिष्दमा रहँदा पद्यमाले नै चर्चालायक काम गरिन् । भारतले मिचेको लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्ने कामले उनको उचाई ह्वात्तै बढ्यो । ‘चुच्चे नक्सा’केपी ओलीको लागि आफूलाई राष्ट्रवादी देखाउने गतिलो हतियार प्रमाणित भयो । ललीता निवास जग्गा प्रकरण होस् वा सुकुम्बासी समस्या समाधानमा नै किन नहोस् ? उनको चर्चा सेलाएन ।
अखिलबाट राजनीतिक यात्रा सुरु गरेकी एमालेको इतिहासमै पहिलो जिल्ला अध्यक्षको इतिहास बनाएकी केद्रीय सदस्य पद्यमा अध्यक्ष ओलीको विश्वासपात्रमा दरिइन् । २०२५ सालमा स्याङ्जाको वालिङमा जन्मेकी तथा २०६४ सालमा समानुपातिक सभासद बनेकी पद्यमाको लागि राजनीतिमा माथि उक्लन यी गतिविधिहरु सहायक बने । उनले सम्भावन बोकेको महिला नेतृको छवि बनाइन् । मुख्य कुरा,पार्टी अध्यक्ष केपी ओलीको विश्वासपात्रमा उनी दरिइन् ।
अन्ततः एमालेको १४ औं महाधिवेशनअन्तर्गतको चुनावी कार्यक्रममा उनी एकाएक सचिवको रुपमा उदाइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिको लागि भन्दै प्रस्तुत ७ सचिवको लिस्टमा उनको नाम आयो । राजनीतिमा उनीभन्दा पाका र योगदान गरेका गण्डकीकै किरण गुरुङ र खगराज अधिकारीले सचिवमा दावी गरिरहँदा ओलीको खल्तीबाट पद्यमाको नाम निस्कँदा धेरैले आश्चर्य माने । समाचार तयार पार्दासम्म निर्वाचित भएको घोषणा नभए पनि पद्यमाले एकाएक अग्रज र समकालीन नेतालाई पछि पार्दै शक्तिकेन्द्रको रुपमा दर्ज गराइन् ।
राष्ट्रवादी तुरुपकी एक्का !
१४ औं महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने जिकिरमात्रै गरेनन्,राष्ट्रियताको पक्षमा दह्रो गरी उभिने प्रतिवद्दता पनि व्यक्त गरे । उनले उद्घाटनसत्रमा भने,‘ ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’
विदेशी पाहुनासामु ओलीले दिएको प्रष्ट सन्देश थियो– भारतसँग एमालेको सम्बन्ध सुमुधुर छैन र उनी आउँदो चुनावमा पनि राष्ट्रवादलाई मूल एजेण्डा बनाएर चुनावी मैदानमा जाने तयारी गर्दैछन् । चुच्चे रेल र पानीजहाजका सपना पूरा नभएको सन्दर्भमा चुनावी मुद्दाको रुपमा राष्ट्रवाद बिक्छ भन्ने ओलीलाई राम्रैसँग थाहा छ । अघिल्लो चुनावको अचुक हतियार चलाउने उपयुक्त मौका यो पनि रहेको उनले बुझेका छन् । अदालतर्ले ‘सेटिङ’बाट आफूलाई सत्ताबाट हटाएको आरोप लगाउँदै आएपनि त्यो बलियो चुनावी मुद्दा बन्न नसक्ने उनले बुझेकै छन् । सार्वजनिक खपतका लागि बोलिने भाषा र जनतालाई प्रभावमा पार्ने भाषा फरक हुन्छ । भारतसँग खासै राम्रो सम्बन्ध नभएको बेला राष्ट्रवादको कार्ड बरदान सावित हुने यो अभियानको नेतृत्वकर्ताको रुपमा पद्यमाको काम आउने देखेरै अध्यक्ष ओलीले सचिवको जिम्मेवारी पद्यमालाई सुम्पेको आंकलन एमाले वृत्तमै गरिएको छ । त्यसो त, अघिल्लो चुनावमा सघाएका चिकित्सा क्षेत्रका चर्चित व्यवसायी खुमा अर्यालको जोडबल पनि पद्यमा अगाडि बढ्नुको कारक हो भन्नेहरुको कमी छैन । ‘नेपाली कांग्रेस निकटका भएपनि खुमाको राजनीतिक पहुँच र सहयोग पद्यमा अगाडि बढ्न सहयोगी देखियो’,एक एमाले नेताले भने,‘ पद व्यवस्थापन गर्न धौ–धौ परेका बेला पद्यमालाई सचिव ल्याउनुमा राष्ट्रवाद र धनवाद दुबै जोडिएको छ ।’ उनले महिला संघमा रहँदाको क्रियाशिलतामात्रै नभएर व्यवसायीहरुको सिफारिसका कारण पनि पद्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको आँखामा परेको जिकिर पनि गरे ।
छिटो यात्रा
पद्यमा एमालेको केन्दीय सदस्यमात्रै हुन् । गण्डकीमा उनीभन्दा बढी योगदान गरेका नेताहरुको कमी छैन । यसअघि ओली समूहबाटै उपाध्यक्षको प्रत्यासी बनेका स्थायी कमिटी सदस्य किरण गुरुङ र पूर्वमन्त्री खगराज अधिकारीमात्रै नभएर दलिततर्फका जगत विश्वकर्मालाई उछिनेपछि पद्यमा गण्डकीको दोस्रो ‘पावर सेन्टर’ बनेकी छन् । उनीभन्दा माथि यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङमात्रै रहेका छन् । भनिन्छ, अध्यक्ष ओलीले पद्यमालाई अगाडि सार्ने सुइँको पाएका तथा पद्यमा अगाडि बढ्दा आफ्नो प्रतिष्र्धी घट्ने देखेर नै पदाधिकारी तथा केन्द्रीय सदस्यको अन्तिम लिस्ट बनाउने टिममा रहेका पृथ्वीसुब्बाले पनि पद्यमाको नाममा समर्थन जनाएका थिए । पार्टी राजनीतिमा पदको महत्व बढी हुन्छ । उपमहासचिव पृथ्वीसुब्बा र पद्यमाको सम्बन्ध सुमुधुर छ । यी दुई जना गण्डकीमा हावी हुँदाको परिणाम आंकलन गर्न हतार हुन्छ तर पद्यमा स्वयंको राजनीतिक यात्रा भने उकालो लागेको छ । अहिलेकै विधान र उमेरले उनलाई अध्यक्षमा बन्न रोक्ने छैन । पहिलो जिल्ला अध्यक्षको इतिहास बनाएकी उनी सामु अब पहिलो केन्द्रीय अध्यक्ष बन्ने अवसरको ढोका खुलेको छ ।





