बागलुङ/आफ्नी ८४ वर्षीया आमाको नाममा यहाँका सामाजिक अगुवाले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं. १ का रामप्रसाद शर्माले आफ्नी आमा ताराकुमारी शर्माको नाममा रामरेखा आधारभूत विद्यालयमा ५१ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । यो कोषबाट वर्षेनी विपन्न र जेहेन्दार बिद्यार्थीको हितमा खर्च गर्ने लक्ष्य राखिएको छ ।
आमाको चौरासी पूजा गर्दा बचाएको पैसाबाट शर्माले विद्यालयमा कोष स्थापना गरेको बताए । ‘आमाले पनि चाहना राख्नुभयो, हामीले पनि कोष राखेर आमाको कृति राख्ने योजना राख्यौं’, उनले भने,‘आफ्नो पालामा पढ्ने लेख्ने अवसर नभएकोले आमाले पनि शिक्षा क्षेत्रमा लगानी गर्ने चाहना राख्नु भएपछि यो लगानी गरियो ।’ उनले कोषलाई अझै बढाउने योजना सुनाए ।
यो विद्यालयमा माझी, विपन्न र मजदुरका बालबालिका धेरै पढ्ने गर्छन् । उनीहरुका लागि छात्रवृत्ति दिन यो कोष उपयोगी हुने विद्यालयका अध्यक्ष भूपेन्द्र केसीले बताए । उनले विद्यालयमा अन्य कोषसमेत राखेर बालबालिकालाई छात्रवृत्ति बढाउने योजना सुनाए । कोष स्थापना कार्यक्रममा सामाजिक अगुवा केवी रानामगरले शिक्षाको विकास गर्न राजनीतिबाट अलग बन्नुपर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वप्रधानाध्यापक धनकुमारी शर्मा, शिक्षा विकास तथा समन्वय इकाइका उपसचिव कृष्णराज रेग्मीलगायतले विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षक र अभिभावकको साझा पहल हुनुपर्ने बताए । अध्यक्ष केसीले भने कार्यविधि बनाएर कोष संचालन गर्ने जानकारी दिए ।





