सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

अन्नपूर्ण पदमार्गको लान्द्रुकमा ‘हनी हन्टिङ फेष्टिभल’

अन्नपूर्ण पदमार्गको लान्द्रुकमा ‘हनी हन्टिङ फेष्टिभल’


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

पोखरा/ मलेसियामा ६ वर्ष काम गरेर फर्केका अर्जुन गुरुङ विगत ३ बर्षदेखि भीरमौरीको मह काढ्छन् । मंसिर र जेठ महिनामा गरी बर्षमा २ पटक मह काढ्न भीरमा चढ्ने अर्जुनले मर्दी हिमाल पदमार्गको फरेष्ट क्याम्पमा होटल सनराइज चलाएका छन् । कोरोना भाइरस महामारीले शिथिल पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न उनले भीरमौरीको मह शिकारलाई उत्सवका रुपमा मनाउन खोजेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ७ लान्द्रुकका अर्जुनसहित युवा व्यवसायीहरुको समुहले परम्परागत भीरमहको शिकारलाई यसपाली महोत्सवका रुपमा मनाउन खोजेका हुन् । ‘कोरोनाले गाउँका होटल र होमस्टेमा पाहुना आउन छाडे’, उनले भने, ‘अन्ततिर नपाइने भीरमह काढ्दा महोत्सबका रुपमा मनाएर पर्यटक तान्न खोजेका छौं ।’ उनका अनुसार यही मंसिर २१, २२ र २३ गते हनी हन्टिङ फेष्टिभल आयोजना गरिएको छ ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने लान्द्रुकमा अहिले १३ वटा होटल र १० घरमा होमस्टे संचालन छ । यी होटल र होमस्टेमा कोरोना महामारी अघि नेपाली भन्दा विदेशी पर्यटकको घुइचो हुन्थ्यो । सिजनका बेला पर्यटकका भिडभाडले बस्ने ठाउँ पाउनसमेत मुश्किल पथ्र्यो । महामारीपछि भने अवस्था फेरिएको छ । अहिले सिजनका बेला नेपालीहरु मात्र घुम्न जाने गरेका छन् । लान्द्रुकको पर्यटन व्यवसाय शिथिल बनेकाले ‘हनि हन्टिङ फेष्टिभल’ आयोजना गर्न लागेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कमल गुरुङले बताए ।

लान्द्रुकका स्थानीयले १३ वर्ष पहिले पनि हनि हन्टिङ फेष्टिभल आयोजना गरेका थिए । त्यतिबेला पनि गाउँमा पर्यटक भित्राउन उक्त कार्यक्रम आयोजना गरिएको थियो । त्यसपश्चात गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय व्यवसायी बताउँछन् । त्यसयता, बर्षेनी भीर मौरीको मह काढिदै आएपनि महोत्सवका रुपमा मनाइएको थिएन ।

‘कोरोना आउनुअघिसम्म पर्यटक तान्न मेला महोत्सब गर्नुपर्ने अवस्था थिएन, त्यही भएर १३ बर्षसम्म हनि हन्टिङ फेष्टिभल गरिएन’, गुरुङले भने, ‘फेरि पर्यटक तान्न सकिन्छ कि भनेर यो कार्यक्रम आयोजना गरेका हौं ।’ अन्यत्र आयोजना हुने जस्ता मेला महोत्सब गर्नुभन्दा गाउँमा बर्षौदेखि गरिदै आएको भीरमौरीको मह शिकारलाई महोत्सबका रुपमा मनाउन खोजेको बताए ।
गाउँभन्दा केही तल रहेको कोटेसाङ महभीरमा अहिले ४० वटा भन्दा बढी भीरमहको गोला रहेको स्थानीयले बताएका छन् । यस बर्ष हिउँदसम्मै पानी परेकाले भीरमौरीलाई मह जम्मा गर्न चुनौती भएको हुन सक्ने महशिकारी एवं हनि हन्टिङ फेष्टिभलका अध्यक्ष अर्जुनले बताए । उनका अनुसार अहिले भीरमहको मुल्य प्रतिलिटर कम्तिमा २ हजार ५ सय रुपैयाँ पर्छ ।

महोत्सबमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा र नौमती बाजा प्रदर्शन लगायतका कार्यक्रम समेत आयोजना गरिएका छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल पदमार्ग र लान्द्रुक– घान्द्रुक– घोरेपानी– पुनहिल पदमार्गमा पर्ने यो यो गाउँमा हनी हन्टिङ फेष्टिभल पश्चात नेपाली पर्यटक आउने स्थानीयको विश्वास छ ।

‘पर्यटक तान्न हामीले गाउँमै अर्गानिक कार्यक्रम गर्दैछौं, हनी हन्टिङ फेष्टिभलमा मह काढेको हेर्न जो पनि आउन सक्छन्’, महोत्सबका संयोजक राम गुरुङले भने, ‘लान्द्रुकमा हनी हन्टिङ हेरेर घुम्न जान चाहनेलाई ३ वटा पदमार्ग खुला छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->