बागलुङ/बुधबार बिहान पाँच बजेको थियो । मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँखण्डमा रातो प्लेट पिकअप भ्यान आफ्नै गतिमा ओर्लियो । बिहुँहुँदै बागलुङ बजारका लागि हिँडेको पिकअपमा तीन जना यात्रुमात्रै थिए ।
मंगलबारनै काम विशेषले बिहुँ पुगेका बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्मा र उनका साथीहरु बिहुँको ओरालोमा पैदलनै बागलुङ बजारका लागि हिँड्दै थिए । बिहानको हिँडाइ स्वास्थ्यका लागि लाभदायक हुन्छ भनेर हिँडेका उनीहरु पिकअप भ्यान खाली देखेपछि रोके र त्यसमा चढे ।
काठेखोला गाउँपालिका–५ बिहुँबाट अक्षेतेहुँदै पिकअप वडा नं. १ खरेमा आईपुग्यो । बीच बाटोमा चालकसँग ख्यालठट्टा गर्दै आएका यात्रुहरुलाई सवारी चालक २३ बर्षिय हेमन्त परियारले गीत सुनाए । आफैले कम्पोज गरेको गीत भन्दै हेमन्तले यात्रुलाई सुनाउँदै थिए । आफ्नै रफ्तारमा गुडिरहेको पिकअपले भने उनको लय सुनेनन्, सडकको लय छोडेर खस्यो । साथीभाईसँग बिहुँको काम सकेर फर्किएका बागलुङ नगरपालिकाका कर्मचारीसमेत रहेको श्याम शर्मा घर फर्किन पाएनन् । सडकबाट ३० मिटर तल खसेको पिकअपले च्यापिँदा शर्माको घटनास्थलमै मृत्यु भयो । उनीसँगैका साथीहरु सामान्य घाइते छन् । बा १८ च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीपले एक जनाको ज्यान लिएपछि फरार भएका चालक परियार भेटिएका छैनन् । ‘शवको पोष्टमार्टम भैसकेको छ, चालकको खोजी गर्दैछौं’, प्रहरी नायव उपरीक्षक इकवाल हवारी भन्छन् ‘आँफैले कम्पोज गरेको गीत गाउँदै गर्दा पिकअप दुर्घटना भएको प्रारिम्भक अनुमान छ ।’
घाइतेहुनेहरु बागलुङ नगरपालिका–१ रामरेखाका ४० बर्षिय टक बहादुर बोहरा, ४४ वर्षीय दीनेश श्रीष र २५ बर्षिय अजय शिवाकोटी हुन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किएका छन् । दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन् । उक्त पिकअप भ्यानमा सवार अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।





