पोखरा / गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरणसम्बन्धी कानुन निर्माण बनाउन आफू अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रममा उनले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानुन निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उल्लेख गरेका हुन् ।
मन्त्री थापाले शिक्षा नै महिला हिंसा न्यूनीकरणको आधार भएकोजिकिर गरे। ‘शिक्षित समाजमा हिंसात्मक गतिविधि पनि कम हुने गर्छन् । त्यसैले सबैमा शिक्षाको पहुँच हुनुपर्ने आवश्यकता छ । जसमा हामी प्रतिबद्ध छौं,’ उनले भने ।
पछिल्लो समय महिलाहरु व्यवसायिक क्षेत्रमा समेत सक्रिय रुपमा लाग्दा सामाजिक विकृति विसंगति केही हदसम्म भएपनि हराउँदै गएको मन्त्री थापाको दाबी छ । ‘महिलाहरु पनि सक्षम छन् भन्ने सन्देश समाजमा प्रवाह भइरहेको छ । समाजिक र राजनीतिक रुपान्तरणमा महिलाहरुको भूमिका अब्बल सावित भएको छ । सरकारले महिलाहरुलाई सहजै व्यवसाय गर्ने सजिलो होस् भन्दै सुलभ ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउने कार्यले सकरात्मक सन्देश प्रवाह गरेको अवस्था छ,’ उनले भने ।
महिला हिंसा हुँदा लुकाउने प्रवृतिले समाजमा अपराध गर्नेहरु बढ्दै गएको र कामभन्दा कुरा बढी गर्ने समस्याबाट समाज ग्रसित भएको अभिव्यक्ति मन्त्री थापाको थियो । यस्तो समस्यालाई समाधान गर्दै सभ्य समाज निर्माणमा सबै लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।
गण्डकी प्रदेश सांसद मिना गुरुङले द्वन्द्वकालीन समयदेखि आजसम्म महिलाहरु अधिकारका लागि लडिरहेको बताइन् । ‘जबसम्म महिलाहरुको एउटै आवाज हुँदैन तबसम्म अधिकारबाट बञ्चित भइराख्नुपरेको छ,’ उनले भनिन् । गुरुङले देशमा महिला अधिकारका कानून निर्माण भएता पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएकोसुनाइन् ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महिला हिंसा न्यूनीकरणका लागि शिक्षा महत्वपूर्ण भएको बताइन् । शिक्षित समाजमा महिला हिंसाका गतिविधि शून्य रहेको तर्क उनको थियो ।
टेवानकी संस्थापक अध्यक्ष तथा सफल पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले परम्परा र संस्कृतिमाथि औंला नउठाई आइपर्ने अवरोध र बाधालाई उजागर गर्नुपर्ने आवश्यकता अहिलेको भएको बताइन् । ‘हिसांत्मक घटनाले सम्पत्तिको क्षति हुनु, शारिरिक कमजोरी हुँदा उत्पादकत्व घट्नु, हिंसामा परेका महिलाहरुले लिएको मानसिक चिन्तनले काममा बाधा आउनु सबै व्यवसाय क्षेत्रमा देखिएका महिला हिंसाका उदाहरण हो,’ उनले भनिन् ।





