शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

१५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

१५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७८, बिहिबार

पोखरा/कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः परीक्षाफल प्रकाशन गर्ने सहमति भएको छ । सहमतिअनुसार कानुनसम्मत प्रक्रिया पूरा गरेर परीक्षापत्र पुनःपरीक्षणका लागि निवेदन दिएका विद्यार्थीको १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको हो ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्ड, संयुक्त विद्यार्थी संगठन, विद्यालय प्रतिनिधिबीच १५ दिनभित्र परीक्षापत्र पुनः परीक्षण गरेर नतिजा प्रकाशन गर्ने र आन्दोलनका क्रममा घाइते विद्यार्थीको निशुल्क उपचार गर्ने मंगलबार सहमति भएको समाजवादी निकट विद्यार्थी संगठनकी विद्यार्थी नेतृ आस्था नेपालीले जानकारी दिइन् ।

‘नतिजा सकभर छिटो प्रकाशन गर्ने गरी लिखित सहमति भएको छ । कानुन संकायको पेपरको पुनपरीक्षणको शूल्क पश्चिमाञ्चल र केफ क्याम्पसको स्कुलले नै तिरिदिने भएको छ,’ नेपालीले भनिन्, ‘बाँकी स्कुलहरुको विद्यार्थीले आफैं तिर्ने हो वा स्कुलले तिर्ने सहमति हुन बाँकी छ ।’

कानुन संकाय संकायबाट गण्डकीबाट परीक्षा दिएका विद्यार्थीले बोर्डले प्रकाशन गरेको नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ गतेबाट आन्दोलनमा थिए । आफूहरुले लेखेको भन्दा नियतवश कम प्राप्तांक दिइएको र जाँचकले हेलचक्य्राइँ गरेको विद्यार्थीको आरोप छ ।
परीक्षापत्र पुन परीक्षण हुनुपर्ने र प्रक्रियाका लाग्ने समय र शूल्कमा समेत पुनर्विचार गर्नुपर्ने माग राख्दै विद्यार्थीले आइतबार बोर्ड परिसरमा धर्ना दिएका थिए । तर, धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि केही विद्यार्थी घाइतेसमेत भएका थिए ।

गण्डकीका ७ वटा विद्यालयमा यसै वर्षदेखि कानुन संकाय पढाइ शुरु भएको थियो । ७ विद्यालयका करिब २ सय जना विद्यार्थीकै नतिजा आशातीत नआएपछि उनीहरुले परीक्षापत्र पुनः परीक्षण गर्न माग राख्दै आएका थिए । प्रदेशभरमै कानुन संकायमा उच्च अंक ल्याउने विद्यार्थीको ग्रेड ‘बिप्लस’मात्रै आएको र बाँकी विद्यार्थीले पनि स्नात्तक पढ्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताउँदै आएका छन् ।
प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने धेरै विद्यार्थी भएका विषयमा प्रदेशमै जाँच गरिएको र थोरै विद्यार्थी भएका परीक्षापत्र केन्द्रमा पठाइएकाले नतिजा कमजोर कसरी आएको भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताउँदै आएको छ ।

कोरोनाका कारण २ पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनाभित्रै बोर्डले मंसिर १७ गते नतिजा प्रकाशन गरेको हो । कोरोनाका कारण विद्यार्थीले आफू पढेकै स्कुलबाट परीक्षा दिएका थिए । अघिल्लो पटक स्कुल आफैंले परीक्षापत्र जाँच गरेको थियो भने यसपटक बोर्डले नै जाँचेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->