बागलुङ/ कुश्मीशेरा बजारको सडक कालोपत्रे थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि पालिकाले कालोपत्र थालेको हो ।
नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भएपनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको इञ्जिनियर विवेक सापकोटाले बताए ।
जैमिनी नगरपालिकाको जैमिनीधामदेखि कुश्मीशेरा बजार निस्किने २.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो । ५२ लाख रुपैयाँको लागमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ ।
पुरानो बजारक्षेत्र कालोपत्रे भएपनि नयाँ बजार विस्तार भइरहेको क्षेत्रमा पनि कालोपत्रे गर्ने योजना नगरपालिकाको छ । सहरी विकास मन्त्रालय सँगको समन्वयमा नयाँ बजार क्षेत्र कालोपत्रको काम गरिने उनले बताए । दक्षिण बागलुङको केन्द्र मानिने कुश्मीशेरा बजारमा बजार विस्तार भएपनि सडक विस्तार हुन सकेको थिएन । पछिल्लो समय नगरपालिकाले सडक नाली, असजिलो सडकमा ढलान तथा ग्राभेल र साँघुरा सडक फराकिला बनाउँदै आएको छ ।
२०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न झन्डै १७ वर्ष कुर्नुपरेको थियो । सदरमुकामदेखि जैमिनी नगरको मुकाम जाने सडकमध्ये डेढ किलोमिटर सडकमात्रै जैमिनी नगरपालिकामा कालोपत्रे छ । बजारको सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई आवातजावतमा सहज हुने वडाध्यक्ष भुपेन्द्र थापा बताउँछन् । व्यापारिक केन्द्रसमेत भएकाले यहाँ सर्वसाधारण चाप धेरै छ ।





