बागलुङ/ बागलुङ नगरपालिका वडा नं. ८ का अनन्त खड्काको बारीमा दुई सयबढी सुन्तलाका बोट छन् । अघिल्लो बर्षको तुलनामा उनको बगैचामा सुन्तला उत्पादन घटेको छ ।
बोटमा सेतो रंग देखिने पोतो लागेको छ । दानामा औसा किरा लागेर झरेका छन् । त्यसले गर्दा गत बर्षको तुलनामा १५ देखि २० प्रतिशत उत्पादन घट्ने चिन्ताले उनलाई सताएको छ ।
बिहान उठ्दा बारीमा सुन्तला झरेर थुप्रो लाग्ने गरेको छ । झरेका सुन्तलामा औसाकिरा देखिन थालेका छन् । गत बर्ष केही स्थानमा मात्रै देखिएको औशा किराको समस्या अहिले भने बागलुङका अधिकांस बस्तीमा पुगेको छ ।
उनकै छिमेकी टोपबहादुर खड्का, भकुडेका देवीराम थापा, बिहुँका भवानी कंडेलको बारीमा पनि अहिले उस्तै समस्या छ । बागलुङ बजारदेखि तमानखोला र निसीखोला सम्मका किसानको बारीमा सुन्तला कुहिएकोले साझा समस्या भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए । ‘सबै ठाउँमा एउटै समस्या देखियो, त्यसैले तत्काल रोकथामका उपाया खोजी गर्दैछौं’ पुनले भने, ‘त्यसका लागि निशुल्क प्लाष्टिकका झोल बितरण गरेर झरेका सुन्तला प्याक गर्ने र नष्ट गर्ने काम थालिएको छ ।’
तत्काल अन्य औषधी गरेर औसाकिरा रोक्न नसकिने भएपछि झरेका सुन्तला नष्ट गर्ने मात्रै उपाय लगाएको उनले बताए । औसा किराकै कारण यो वर्ष जिल्लाको कुल उत्पादनमा २० प्रतिशत गिराबट आएको पुनको भनाइ छ । यकिन तथ्यांकका लागि भने अझै खोजी भैरहेको उनले बताए ।
केही वर्षअघिदेखि सिगानाका किसानले मात्रै २ करोड बढीको सुन्तला बिक्री गर्थे । गाउँमै सुन्तला महोत्सव समेत गरेका किसानले अहिले भने नोक्सानी व्यहोर्नुपर्ने चिन्तामा छन् । ‘हामीले खबर गरेपछि कृषिका प्राविधिकहरु घरघरमा आउनुभएको छ, तर तत्कालको उपचार नभएकोले बाँकीलाई किराबाट बचाउने उपाया खोजेका छौं’ खड्काले भने, ‘अर्को वर्षको उत्पादन राम्रो बनाउन सुन्तला टिपेपछि उपचार पद्दती थाल्ने कुरा छ ।’
झरेका सुन्तलाबाट निस्कने औसाकिरा बारीको माटोमै बस्ने र फागुन चैतमा उड्ने किराको रुपमा फुलमा पुग्ने भएकोले तत्काल रोकथाम चाहिएको पुनले बताए । त्यसका लागि सुन्तला टिपेपछि बिषादी झर्कने तयारी समेत उनले सुनाए ।
बागलुङ नगरपालिकाले चार बर्षदेखि सिगानामा सुन्तला पकेट क्षेत्र बनाउन ५० हजार बिरुवा रोपेको थियो । हरेक वर्ष १० हजार बढी बिरुवा रोप्दै गएपछि सिगाना र बिहुँमा मात्रै बर्षेनी ५ करोड भित्रन थालेको थियो । आगामी ४ वर्षभित्र किसानले ३० करोडका सुन्तला बेच्न सक्ने लक्षले बिरुवा बढाएका छन् । ती वडाहरुमा सुन्तला उत्पादन बढाउन अन्य रुखबिरुवा काट्ने अभियान समेत चलेको छ ।
काठेखोला गाउँपालिकाले बिहुँमा उत्पादन बढाउन सुन्तलामा लगानी गरेको छ । सिगानामा दुइवटा सुन्तला भण्डार केन्द्र पनि स्थापना भएका छन् । केही समयदेखि बिहुँ र जैमिनीमा सुन्तलाको हाँगा समेत मर्ने समस्या भएको किसानले बताए ।
यहाँका सुन्तलादेखि ज्यामिर र निबुवा लगायतका फलमा पनि किरा लाग्न थालेको छ । त्यसका लागि दिगो व्यवस्थापन गर्न ज्ञान केन्द्रलाइ हम्मेहम्मे परेको छ । ‘किसानको समस्या र गुनासो धेरैनै आएको छ, हामीले प्राविधिक रुपमा जिल्लाभरीनै के गर्न सकिन्छ भन्ने सोचमा छौं’ ज्ञानकेन्द्र प्रमुख भानुभक्त भट्टराइले भने, ‘किसान निरास हुन नदिने गरी पहल गर्दैछौंं ।’ किसान उत्साही नभए आगामी वर्ष समेत उत्पादन घट्दै जाने अबस्था आउने उनले बताए ।





