बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नामजस्तै काम ! विद्यालयमा फूलदेखि मल्टिमिडियासम्म

नामजस्तै काम ! विद्यालयमा फूलदेखि मल्टिमिडियासम्म


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७८, शनिबार

बागलुङ/विद्यालय प्रवेश गरेपछि हरेकले फूल रोप्ने, तरकारी फलाउने र कृषिका सबै काम जान्नैपर्छ । विद्यालय हाताभित्रै ताजा तरकारी फलाउन खनजोत पनि गरिन्छ । माछापालनको पोखरी छ । विद्यार्थीले पढाइसँगै ती काम पनि सिक्छन् ।

सरसफाइका लागि धेरै सूचक पूरा गरिएको छ । साना बालबालिकादेखि ठूला सम्मका लागि कक्षाभित्र र सामूहिक पुस्तकालय र प्रयोगशालाको व्यवस्था छ । गलकोट नगरपालिका ३ को गलकोट नमुना माविले कृषि कर्मदेखि
मल्टिमिडियाको प्रयोगसहितको उत्कृष्ठ शिक्षण र व्यवस्थापन गरेको हो ।

विद्यालयमै फूलबारी र हरियाली बनाउने अभियानमा प्रधानाध्यापक देवेन्द्र खत्रीसहितका शिक्षक र विद्यार्थीले साथ दिन्छन् । सबैले सफाइको काम गर्छन् । व्यवस्थापन र चुस्त प्रशासनले विद्यालय अब्बल ठहरिएको छ ।
तोकिएका सूचक पुगेकोले सरकारले नमूना माविको रुपमा सूचिकृत गरेको छ । सामुदायिक भएपनि अंग्रेजी माध्यममा पढाइ, कक्षाकोठा व्यवस्थापन, प्राथमिक तहमा एउटा कक्षामा २५ जना मात्रै पढाउने, हरियाली पार्क निर्माण, खेलेर सिक्ने व्यवस्था गरिएको हो ।

हरेक कक्षा कोठाभित्रै शौचालय, साबुनपानीले हात धुने व्यवस्था, शुद्ध खानेपानी, जंकफुड निषेध, कम्प्युटर शिक्षा, विज्ञानका चारथरि प्रयोगशाला र विद्यालयभित्रै संग्रहालयसमेत बनाइएको छ । झन्डै ५ करोडमा विद्यालयको दुईवटा भवन सञ्चालनमा आइसकेको छ ।

विद्यार्थीले विद्यालयमै काउली, मुला, साग र गोलभेडा फलाएका छन् । विद्यालयमा कृषि विज्ञान विषयको पढाइसमेत भइरहेको छ । ‘पढाइस्वरुप फूल रोप्ने र हरियाली बढाउने काम पनि गरेका छौं,’ कक्षा ८ का सुमन खत्रीले भने, ‘पानीअमला र धुपीजस्ता विरुवा खोजेर विद्यालयमा रोपेका छौं ।’ सुन्तला र लालुपाते फूल रोपिएको उनले बताए ।

विरुवा रोप्ने र गोड्ने काममा पनि सबैले मिलेर काम गर्छन् । फूल र विरुवाले विद्यालयको आर्कषण थपेको स्थानीय मञ्जु चालिसेले बताइन् । ‘देवेन्द्र सरको अगुवाइ र व्यवस्थापनले विद्यालयमा बालबालिका रमाएका छन्,’ उनले भनिन्, ‘विद्यालयलाई वास्तविक नमूना बनाउनुभएको छ ।’ २८ वर्षदेखि खत्री यो विद्यालयको प्रधानाध्यापकको रुपमा क्रियाशील छन् ।

राजधानीको त्रिचन्द्र र पाटन संयुक्त क्याम्पसमा नेपाली विषय प्राध्यापन गर्दागर्दै छाडेर उनी गलकोट आएका थिए । राजधानी छाडेर घर फर्कंदा धेरैले खत्रीले गरिखाने भएनन् भनेर सरापेको सम्झन्छन् । तर, विद्यालयमा प्रवेश गरेपछि निरन्तरको खटाइले उनले ल्याएको परिवर्तनपछि आलोचक पनि नतमस्तक छन् ।

‘राष्ट्रिय पहिचान बनाउने अवसर त मैले छाडेकै हो । तर, गाउँबाट गुणस्तरीय शिक्षा दिने योजना बनाएर फर्केको थिएँ,’ खत्रीले भने, ‘सामुदायिक विद्यालयमा पढेर पनि उत्कृष्ट स्थान पाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं ।’ त्यसका लागि सफलता मिल्दै गएको उनले बताए ।

विद्यालयका संरचना अपांग र बालमैत्री पनि बनेका छन् । हरेक कक्षा कोठामा मल्टी मिडियाबाट पढाउने व्यवस्था छ । कक्षा ५ सम्मका बालबालिकालाई कक्षा कोठाभित्रै टेलिभिजनमार्फत सकारात्मक सन्देश दिने सामाग्री देखाउने व्यवस्था छ ।

माथिल्लो कक्षामा पुगेका छात्राको महिनावारीको बेला पर्ने समस्या समाधानका लागि तातोपानीसहितको स्नान गृह बनाइएको छ । उनीहरुका लागि सेनिटरी प्याड र भित्री वस्त्र फेर्नुपर्ने भएमा पनि व्यवस्थापन गरिएको छ ।
आफ्नो कार्यकालमा सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र टुर एन्ड ट्राभल विषयको कक्षा सञ्चालन गर्ने योजना खत्रीले सुनाए । छात्राका लागि सिलाइकटाई र छात्रलाई प्लम्बिङ तालिम पनि दिने गरेको उनले बताए ।
‘एसइईपछिको समयमा हरेक विद्यार्थीले आधारभूत सीप सिकेर कक्षा ११ पढ्नेछन्,’ उनले भने, ‘विद्यालयमा छिरेको विद्यार्थी पढाइ सकेर निस्किँदा सबै क्षेत्रको विज्ञ बन्नुपर्छ भन्ने लक्ष्यले काम गरेका हौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->