बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार

बागलुङ/ किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बालीको प्रशोधनका लागि बागलुङ नगरपालिका ३, गौंडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा आएको छ । कृषि उत्पादन तथा बजारीकरणको काम गरिरहेको मिर्मिरे कृषि सहकारीले उद्योग सञ्चालनमा ल्याएको हो ।

उद्योगको शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गरिन् । उद्योगमा खाद्यान्न बालीको प्रसोधन, तोरी लगायतका तेलहन बालीको प्रशोधन र दुधबाट खुवा बनाउने मेसिन जडान गरिएको अध्यक्ष गंगबहादुर थापाले जानकारी दिए । झन्डै ५ सय किसान सहभागि सहकारीले प्रशोधन उद्योग सञ्चालनमा ल्याएसँगै कृषि उत्पादनको प्रशोधन तथा बजारीकरणको काम सहकारीले नै गर्ने थापाले बताए ।

किसानले पालेका गाईभैंसीको दुधलाई प्रशोधन गरेर खुवा बनाउने काम उद्योगमा हुन्छ । खुवाको माग बजारमा उच्च रहेकाले दैनिक उत्पादन थालिएको सहकारीले जनाएको छ । प्रतिकिलो खुवा बागलुङ बजारमा एक हजारदेखि एक हजार एक सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘उद्योगले उत्पादन गरेको दाना पशुचौपायका लागि हुन्छ, दुधको प्रशोधन गरेर खुवा बजार गैरहेको छ,’ अध्यक्ष थापा भन्छन् ।

गौंडाकोटमा रहेको झन्डै ३ रोपनी जमिन भाडामा लिएर उद्योग सञ्चालन गरिएको हो । सहकारीले ३० लाख रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएको कोषमध्यक्ष थानेश्वर सुवेदी बताउँछन् । गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालयले ९ लाख २ हजार रुपैयाँ अनुदान उपलव्ध गराएको थियो ।

तरकारी र खाद्यान्न बालीको व्यवसायीक उत्पादन गरिरहेका किसानले साना कृषि उद्योग पनि सञ्चालन गर्दा उत्पादन, प्रशोधन र बजारीकरण सम्मको सबै काम एकद्वार प्रणालीमार्फत हुने सहकारीका सदस्यहरुको विश्वास छ ।
‘किसानका उत्पादन प्रशोधनको समस्या सहकारीले समाधान गरेको छ, यसले कृषि उपजको मुल्यमा हुने मोलमोलाई कम गर्न सहयोग गर्छ,’ सुवेदीले भने, ‘उद्योगले किसानका उत्पादन लिने र उपभोक्तालाई प्रांगारिक खाद्यान्न उपलव्ध गराउँछ ।’

सहकारीले बँदेल पालनसमेत सुरु गरेको छ । जंगलमा पाइने बँदेलको माग बजारमा अत्याधिक रहेको भएपनि व्यवसायिक उत्पादन नहुँदा आपूर्ति कम रहेको भन्दै सहकारीले सामुहीक बँदेल पालन थालेको अध्यक्ष थापाले बताए । ‘घाम, पानी, हावा हुरी र वर्षामा समेत खेतबारीको आलीमा भेटिने किसानको आज आफ्नै उद्योग छ,’ सहकारीका सचिव नारायण शर्माले भने, ‘यो उद्योग उपभोक्ता र उत्पादक सबैका लागि सहयोगी बन्ने छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->