तनहुँ/अंगे्रजी नयाँ बर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा २ दिने सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ मिलेर महोत्सवको आयोजना गरेका हुन् ।
महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल रहने क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । ‘एकै स्थानमा फरक फरक स्वादको स्थानीय परिकार आन्तरिक र बाह्य पर्यटकलाई चखाइन्छ । सडकमा खाएर सडकमै रमाउने वातावरण बनाउदैछौँ’, उनले भने । विशेषत नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार हुनेछन् । महोत्सव अवधीभर यहाँका हरेक होटलले आफ्ना खानाको परिकारको प्रदर्शन गर्दै पर्यटकलाई पस्कनेछन् ।
महोत्सवले बन्दीपुरको पर्यटन प्रर्बद्धनमा सघाउने प्रधानको विश्वास छ । महोत्सवले बन्दीपुर आउने पर्यटक बढाउने अपेक्षा राखएिको छ ।२ दिने महोत्सवमा मात्र कम्तीमा सात हजार पर्यटक बन्दीपुर भित्र्याउने लक्ष्य राखेका छौँ’, उनले सुनाए ।





