बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गाजा दहलाई पर्यटन क्षेत्र बनाउन माग

गाजा दहलाई पर्यटन क्षेत्र बनाउन माग

यो दहले गलकोट नगरपालिका १, काठेखोला गाउँपालिका ७ र बरेङ गाउँपालिका २ को सीमाना समेत छुट्टयाउँछ ।


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७८, शुक्रबार

बागलुङ/ गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा भएको छैन । तत्कालीन जिविसले थालेको अभियानलाई मुर्तरुप दिन अझै पनि स्थानीयले माग गरिरहेका छन् ।

दुई हजार ४ सय मिटर उचाइको गाजाको धुरीलाई पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड्न सकेमा फाइदा कमाउन सकिने स्थानीय नरबहादुर थापाले बताए । ‘हामीले पटक पटक पर्यटन क्षेत्र बनाउन भनेका छौं, तर कसैले चासो राखेन,’ थापाले भने, ‘स्थानीय विकासमा पनि राज्य र स्थानीय तहको चासो भएन ।’ गाजाको पोखरी संरक्षण, यहाँ पर्यटन पूर्वाधार बनाउने र सडक स्तरीय बनाउन सकेमा बर्सेनि सयौं पर्यटक भित्राउन सकिने उनले बताए ।
बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट गाजा दह पुगिन्छ । यो पर्यटकीय र धार्मिक गन्तव्यसमेत हो । यो जैमिनी नगरपालिका ३ मा पर्छ । तर, यो दहले गलकोट नगरपालिका १, काठेखोला गाउँपालिका ७ र बरेङ गाउँपालिका २ को सीमाना समेत छुट्टयाउँछ ।

यो दहमा पुग्दा अन्नपूर्ण र धौलागिरि हिमालका श्रृंखला पनि देखिन्छ । बर्षात्मा पनि धमिलो देखिँदैन । हिउँदमा पनि सफा र उत्तिकै पानी रहन्छ । त्यसैले पोखरीमै हिमाल र गाउँबस्तीको छायाँ तैरिन्छ । गाजा पुगेपछि बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र प्रष्ट देखिन्छन् ।

गाजा दहमा बाला चर्तुदर्शीमा सतबिज झर्नेको भिडसमेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ ।

तर, पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीय यानुकला थापाले बताइन् । ‘पर्यटकीय क्षेत्र त भनेका छन्, तर विकासमा एक रुपैयाँ पनि बजेट परेको छैन,’ थापाले भनिन्, ‘कम्तिमा आउने सडक मात्रै स्तरीय भएमा हामीले स्थानीय विकास गर्न सक्थ्यौं ।’
यो दहसम्म पुग्ने २४ किमी सडकमध्ये झण्डै १० किमी चिप्लो र जोखिमयुक्त छ । अन्य खण्ड पनि कच्ची हो । उक्त खण्डमा भने केही सुधार भएकोले जिपको यात्रा गर्न सकिन्छ । सिगानाको बौडेचउरदेखि गाजा पुग्ने झण्डै १० किमी खण्डमा फोरहिल गाडी मात्रै लैजान सकिने स्थानीय तुलबहादुर पुनले बताए ।

गाजा दहमा सामुदायिक होमस्टे पनि खोलिएको छ । १० घरले होमस्टे सञ्चालन गरेकोले आएका पर्यटक राख्न सकिने स्थानीयले बताए । गाजालाई पर्यटन क्षेत्र बनाउन दशकअघि तत्कालिन जिल्ला परिषद्ले पनि माग गरेको थियो । पर्यटन मन्त्रालयमा समेत यसको महत्व र आवश्यकताबारे पत्र पठाएको पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->