बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि १ करोड ३० लाख रुपैयाँ संकलन भएको छ । २०५८ शालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भैरहेका बेला पाठशालाका लागि दाताहरुले सहयोग जुटाएका हुन् ।
पाठशाला पुनः सञ्चालनका लागि आगामी माघ १ गतेदेखि ७ गतेसम्म बिहुँकोटको रामकोट मन्दिरमा धार्मिक महोत्सवको आयोजना गरिएको छ । महोत्सवको पूर्व तयारीकै क्रममा उक्त रकम संकलन भैसकेको मुल आयोजक समितिका सह–संयोजक गौरीशंखर शर्माले बताए । बिहिबार पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिले देश–विदेशमा रहेका दाताहरुले उक्त रकम मुल आयोजक समितिलाई उपलव्ध गराईसकेको जानकारी गराए । धार्मिक महोत्सवबाट चार करोड बढी रकम संकलन गर्ने लक्ष राखिएको छ ।
महोत्सवको मूल संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सशत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द भएको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा गुरुकुल सञ्चालनमा आएको थियो । समाजकै परिकल्पना र संकल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताए । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
महोत्सवमा धौलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवबाट संकलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाई छ । गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।
रामकोटधामका प्रधान संरक्षक एवं राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राखे । उनले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताए ।





