बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिकाले हिउँदे सभाले विभिन्न तीन विधेयक पारित गरेको छ । गाउँपालिकाको कला संस्कृति र भाषाको संरक्षणसम्बन्धि विधेयक, स्वास्थ्य व्यवस्थापन सम्बन्धि विधेयक र टोल विकास संस्था सम्बन्धि विधेयक गाउँसभाले पारित गरेको हो । तीनवटै विषयका विधेयक शुक्रबार दशौं गाउँसभाबाट पारित भएसँगै कानून कार्यान्यनको बाटो खुलेको हो ।
गाउँपालिकाका भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका लागि आवश्यक कानुन तयार पारेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम ल्याउनका लागि गाउँपालिकाले कानून निर्माण गरेको हो ।
त्यस्तै टोल विकास संस्था गठन र काम कारवाहीका लागि आवश्यक कानूनसमेत गाउँपालिकाले तयार गरेको प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदीले बताए । ‘कानून अभावमा कतिपय कार्यक्रम कार्यान्वयन हुन सकेका थिएनन्, गाउँपालिकाले कानून निर्माण गरेपछि कार्यक्रम बनाउन र कार्यान्वयन गर्न बाटो खुलेको छ’ सुवेदीले भने ‘केही योजनाहरु संशोधन भएका छन्, सर्वसम्मतले तयार गरेको कानूनले काममा नतिजा राम्रो ल्याउँछ ।’
टोल विकास संस्था सम्बन्धि विधेयक वडा नं. १ का अध्यक्ष बमबहादुर थापा, स्वास्थ्य व्यवस्थापन सम्बन्धि विधेयक वडा नं. ३ का अध्यक्ष खड्क पुन र कला, संस्कृति, भाषा संरक्षण सम्बन्धि विधेयक वडा नं. ५ का अध्यक्ष अर्जुन खरेलले गाउँसभामा पेश गरेका थिए ।
गाउँपालिकाले सञ्चित कोषबाट प्राप्त २ करोड ८८ लाख रुपैयाँ बजेट गत असोजमा पारित गाउँपालिकाको बजेटमा थप गरेको छ । हिउँदे सभाले बजेट थप तथा बिनियोजनलाई सर्वसम्मतीले पारित गरेको हो । गाउँसभामा अध्यक्ष मेहरसिंह पाईजाले पाँच बर्षे कार्याकालका प्रगतिको विषयमा जानकारी गराएका थिए । उपाध्यक्ष अमरबहादुर श्रीषले संशोधनसहितको आर्थिक प्रस्ताव पेश गरेका थिए ।





