बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका ‘पेपरलेस’ गाउँपालिका बनेको छ । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो ।
दशवटा स्थानीयतह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा काठेखोला सूचना प्रविधिमा पहिलो भएको थियो । गाउँपालिकाले आँफुलाई ‘डिजिटलाइज’ गाउँपालिका घोषणा गरेर अभियान थालेको थियो । ‘डिजिटल गाउँपालिका’ बनाउने अभियानअन्र्तगत कार्यापालिकाको कार्यालयदेखि वडा तहसम्मका सबै काम अनलाईनमार्फत गर्न थालिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए ।
‘विभिन्न घटना दर्तादेखि पञ्जीकरणका कामहरु सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो,’ अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भने, ‘आधिकारिक जानकारी दिने निकाय त कोही छैन । तर, पञ्जीकरणका काम अनलाइन प्रविधिमा भएको यसअघि हामीबाहेक अरु कोही छ भन्ने लाग्दैन ।’
गाउँपालिकाले राजश्व संकलनका कामसमेत अनलाईन प्रविधिबाट गर्ने गरेको छ । निर्माणका काममा उपभोक्ता समितिको विवरणदेखि कर्मचारीको हाजिरीसम्मका काम सबै अनलाइन प्रणालीमा छन् । ‘गाउँपालिकाको चित्र बोल्ने डिजिटल प्रोफाइल हामीले तयार गरेका छौं,’ थापा भन्छन्, ‘अब किसानका उत्पादनदेखि बजारीकरणका लागि आवश्यक कृषि एपको तयारीमा छौं ।’
विद्यालय, स्वास्थ्य संस्था र अन्य विषयगत शाखामार्फत सञ्चालन हुने कार्यालयहरु समेत अनलाईन प्रविधिको सहायता सञ्चालनको तयारी भइरहेको थापाले बताए । ‘पाँच वर्षको अवधिमा हामीले प्रविधिको क्षेत्रमा फड्को मारेका छौं, यो सुखद पक्ष हो,’ गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछानेले भने ‘कम्तीमा हामीले आत्माग्लानी हुने काम गरेका छैनौं, कुनै न कुनै क्षेत्रमा हामी अव्बल छौं भन्ने कामहरुले देखाउने छन् ।’
भौगोलिक बिकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंक तथा बित्तिय संस्थाहरुको सहकार्यमा डिजिटल तथ्यांक रहने गरी सामाजिक सुरक्षा भक्ता गाउँ गाउँमा पुगेको सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यप्रगति र तथ्यांकहरु समयमा अध्यावधि गरेका कारण पटक पटक उपहारस्वरुप थप बजेट प्राप्त गरेको उदाहरण गाउँपालिका अध्यक्ष थापाले सुनाए । ‘प्रविधिको प्रयोग गरेर काम गर्दा धेरै सहज र सरल हुन्छ, सुरुआत गर्न कठिन हो, काम थालेपछि सहज हुन्छ,’ अध्यक्ष थापा भन्छन्, ‘हामी जिल्लाभरका पालिकाका लागि उदाहरण बनेका छौं ।’ गाउँपालिकाले विदेशमा रहेका नागरिकको डिजिटल तथ्यांक तयारीको कामसमेत थालेको छ ।





