बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सफा गलकोट अभियान सुरु

सफा गलकोट अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७८, सोमबार

बागलुङ/ गलकोटस्थित हटिया बजारको फोहोर व्यवस्थापन गर्न थालिएको छ । लामो समयदेखि डम्पिङका लागि जग्गा नपाएर रोकिएको काम फोहोरको पुनप्रयोग हुनेगरी व्यवस्थापनको काम सुरु भएको हो ।
नगरप्रमुख भरत शर्मा गैरेले उनले अब फोहोरलाई मोहोर बनाउनेसमेत बताएका छन् । ‘हाम्रो पुरानै योजना हो, जग्गाको समस्याले धेरै समय रोकिएका थियौं, अब बजार सफाइ पनि हुन्छ,’ गैरेले भने, ‘यस्तो कामलाई अब नगरका सबै वडासम्म पु¥याउँछौै ।’ मुख्यबजार रहेको हटियाका ४ सय ५० बढी घरबाट फोहोर संकलन गरेर कुहिने र नहुहिने गरी छुट्टयाउने र नकुहिने फोहोर बिक्री गर्ने काम सुरु भएको नगरप्रमुख गैरेले बताए ।

गैरेका अनुसार पहिलो चरणमा गलकोट नगरपालिका ३, हटिया बजारस्थित ४ सय ५० घरबाट फोहोर उठाउन थालिएको हो । फोहोर संकलनका लागि नगरपालिकाले सबै घरमा कार्ड बनाएर दिएको छ । उनीहरुले घर घरमा कुहिने र नकुहिने फोहोर जम्मा गर्छन् । त्यसपछि हरेक साताको आइतबार र बुधबार आउने ट्रयाक्टरले नकुहिने तथा प्लाष्टिकजन्य वस्तु संकलन गर्छ । उक्त प्लाष्टिकलाई वडा नं. ८ को कांडेवास नजिकै व्यवस्थापन गरिने छ ।

‘प्लास्टिकहरु डल्लो पारेर बिक्री गर्ने, कुहिने फोहोर कम्पोष्ट मल बनाउने काम शुरु भएको हो,’ वडा अध्यक्ष वीरजंग भण्डारीले भने, ‘यो अभियान सफल हुँदा सरसफाइमा नगरपालिका उत्कृष्ट बनाउन सकिन्छ ।’ उनले प्रदेश सरकार तथा अन्य साझेदार संस्थाको सहयोग र सहकार्य भएमा छिट्टै नगरपालिकाका सबै वडाबाट प्लास्टिकमुक्त बनाउन सकिने समेत बताए ।

फोहोर व्यवस्थापनमा नगरपालिकाले ४ जना सफाई कर्मचारी खटाइसकेको छ । एक ट्रयाक्टरलाई नकुहिने वस्तु मात्रै संकलन गर्न लगाइएको छ । केही समय अघिदेखि दरमखोला र गौंदीखोलाको फोहोरले हटिया बजारको सौन्दर्य घटेको टिप्प्णी भएको थियो । त्यस्तै बजार क्षेत्रमा रहेका ग्यारेज लगायतका व्यवसायिक प्रतिष्ठानबाट पनि खोलामा फोहोर फाल्ने प्रवृत्ति छ । उक्त प्रवृत्तिलाई पनि कम गर्न नगरपालिकाले थप सरसफाइका अन्य कार्यक्रम ल्याउने उनले बताए ।

यो अभियानले नगरपालिकाको सभ्यता पनि झल्कने गैरेले बताए । ‘पाँच वर्षे कार्यकाल सकिन लाग्दा पारदर्शी, न्यायोचित र कानुनी सीमामा रहेर काम गरेका छौं, आगामी जनप्रतिनिधिले पनि यो विषय अनुशरण गर्न सकून् भन्ने मान्यतामा काम गरेका छौं,’ गैरेले भने, ‘कतिपय काममा केन्द्रले लाद्ने तर बजेट नदिने अवस्था भएको छ ।’ आफ्नै क्षमतामा सक्ने काममा भने नरोकिएको उनले बताए ।

फोहोरका कारण दरमखोलाका असला माछा समेत लोप हुने चिन्ता थियो । नगरप्रमुख शर्माले निर्वाचित भएपछि नगर गौरवको योजनाको रुपमा फोहोर व्यवस्थापनको नारा लगाएका थिए । साथै उनले फोहोरलाई मोहोर बनाउने भन्दै प्रशोधन केन्द्र बनाउन पहल गरेका थिए ।
जग्गा खोजी गरेर बसपार्क र जिपपार्क बनाउन सकेमा फोहोरको दर कम हुने उनीहरुको चाहना छ । डम्पिङ साइटको साटो कम्पोस्ट मल बनाउने र प्लास्टिकजन्य फोहोर प्रशोधन गरेर पुनः प्रयोगका सामाग्री बनाउने उद्योग संचालन गर्ने नगरको लक्ष्य रहेको गैरेले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->