बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

नचल्ने विमानस्थलमा लगानी : बालुवामा पानी

नचल्ने विमानस्थलमा लगानी : बालुवामा पानी

देशभर ५४ वटा विमानस्थल छन् । जसमध्ये ३५ वटाको धावनमार्ग कालोपत्र गरिएको छ । संचालनमा भने ३२ वटामात्रै छन् ।


  • Dhorpatan News
  • पुष २० २०७८, मंगलबार

पोखरा/ लमजुङको बेसीशहर नगरपालिका– ५ बाख्रेजगतका सिँहराज तामाङ १०१६ सालमा कोदालो बोकेर हवाइमैदान बनाउन निस्किए । लमजुङबाट निर्वाचित तत्कालीन कांग्रेस सांसद श्रीकान्त अधिकारीले बाख्रेजगतमाथिको डाँडा शितलेस्वाँरामा विमानस्थल बनाउन भन्दै गाउँलेलाई कुटो र कोदालो बोकेर डाँडा खन्न लगाएका थिए ।

विमानस्थल बनाउन शितलेस्वाँरा डाँडा खार्दा दिनगन्तीका हिसाबले पैसा आउने भनिएको थियो । सोही प्रलोभनले बाख्रेजगत गाउँका मात्र होइन,अन्यत्रबाट पनि ज्यालादारीमा विमानस्थल बनाउन गाउँलेहरु डाँडा खन्न गए । तर, काम गरेको पैसा नपाएको तामाङले गुनासो गरे ।‘हामीलाई डाँडा खन्दा दिने भनेको पैसा दिएनन्’, उनले भने, ‘सित्तैमा काम लगाए ।’
शितलेस्वाँवारमा विमानस्थल बनाउने सांसद अधिकारीको धोको एक वर्ष पनि टिकेन । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले संसद विघटन गरिदिए । अधिकारीको सांसद पद रहेन । त्यसपछि शितलेश्वाँरामा विमानस्थल बनाउने योजना ओइलायो ।

गौचरणका रुपमा अलपत्र शितलेस्वाँरा विमानस्थलमा स्थानीय युवा फुटबल खेल्थे । विमानस्थल बन्ला र हवाइजहाज आउला भन्ने स्थानीयको आशा मरिसकेको थियो । यत्तिकैमा लमजुङकै एमाले नेता पृथ्वीसुब्बा गुरुङले २०६४ मा फेरि त्यही विमानस्थल बनाउने योजना ब्यूँताइदिए ।

त्यतिबेला पर्यटन तथा नागरिक उड्ययनमन्त्री रहेका गुरुङले विमानस्थल बनाउन स्थानीयलाई कुटो र कोदालो बोकेर डाँडा खन्न लगाएनन् । डाँडा सम्याउन बजेट विनियोजन गरेर डोजर पठाए । पहिलो संविधान सभा निर्वाचन अघिदेखि डाँडा डोजरले चिथोर्न थाल्यो । त्यतिबेला स्थानीयलाई फेरि विमानस्थल बन्ने आशा जागेको तामाङले बताए । ‘डोजर आएर डाँडा खन्न थालेपछि अब त हवाइजहाज आउला भनेर सोचेका थियौं’, उनले भने ।
लमजुङमा विमानस्थल बनाउने नारा दिएर पहिलो संविधान सभा निर्वाचनमा होमिएका तत्कालीन पर्यटनमन्त्री गुरुङ पहिलो पटक सांसद निर्वाचित भए । तर, विमानस्थल निर्माणले निरन्तरता पाउन सकेन । उनी निर्वाचित भएको केही समयमै डोजर फर्कियो । डाँडा आधा खारेर छाडियो । जसका कारण डाँडाको एकातर्फको भाग अग्लो र अर्कोतर्फ होचो बन्न पुगेको छ ।

विमानस्थल बनाउने भनिएको डाँडा अहिले पनि गौचरण नै छ । उक्त स्थानमा अहिले पनि स्थानीय युवा फुटबल खेल्छन् । तर एकातर्फ अग्लो र अर्कोतर्फ होंचो भएकाले फुटबल मैदान पहिले भन्दा खुम्चिन पुगेको स्थानीय युवाहरु बताउँछन् ।
पहिलो संविधान सभा निर्वाचन जितेका गुरुङ दोस्रो संविधान सभा निर्वाचनमा हार्न पुगे । संविधान जारी भएपछि प्रदेश सभा निर्वाचन त्यही क्षेत्रबाट जितेर गण्डकीको पहिलो मुख्यमन्त्री बने । मुख्यमन्त्री बनिसक्दा गुरुङले शितलेस्वाँरा विमानस्थलको नाम लिन छाडिसकेका थिए ।
पृथ्वी राजमार्ग बन्नुअघि त्रिभुवन विमानस्थलदेखि गोरखाको पालुङटार विमानस्थलसम्म नेपाल एयरलायन्सको हवाइसेवा नियमित संचालनमा थियो । जब राजमार्ग बन्यो, विमानस्थल बन्द हुन पुग्यो । पालुङटार विमानस्थल बन्द भएको ४१ वर्ष वितिसकेको छ ।

पालुङटार विमानस्थलजस्तै सडकले विस्थापित गरिदिएको अर्को विमानस्थल हो, बागलुङको बलेवा विमानस्थल । २०२२ सालमा निर्माण भएको यस विमानस्थल पोखरा– बागलुङ सडक २०४८ मा निर्माण भएपछि बन्द भएको थियो । पालुङटार र बलेवा यी दुबै विमानस्थल संचालन गर्न अहिले पनि त्यस क्षेत्रका स्थानीय र केन्द्रीय स्तरका नेताहरु लागिपरेका छन् ।

पालुङटार र बलेवा विमानस्थल जस्तै धुले मैदानमा चलेको थियो, मनाङको हुम्डे विमानस्थल । २०३९ सालदेखि संचालमा आएको हुम्डे विमानस्थल २०७० सालदेखि बन्द छ । लमजुङ सरदमुकाम बेसीशहरदेखि मनाङ सदरमुकाम चामे–हुम्डे हुँदै उपल्लो मनाङसम्मै मोटरबाटो बनेपछि विमानस्थल संचालनमा आउन सकेको छैन । विमानस्थलको धावनमार्ग कालोपत्र गरेर आधुनिक बनाइए पनि यात्रुको अभावले विमानस्थल संचालन हुन नसकेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

नेपालका धेरै जिल्लाहरुमा मोटर भन्दा अगाडी हवाइजहाज पुगेका थिए । पोखरा, बलेवा, पालुङटार, हुम्डे, जोमसोम लगायतका विमानस्थलहरु यसका उदाहरण हुन् । मोटर पु¥याउन बाटो चाहिन्थ्यो, हवाइजहाज पु¥याउन हवाइमैदान । मोटरबाटो भन्दा हवाइमैदान बनाउन छिटो हुने भएकाले पहाडका फराकिलो उपत्यका र डाँडामा कालोपत्रे धावनमार्ग बिना नै विमानस्थल अवतरण र उडान गरिएको थियो । विस्तारै जिल्ला–जिल्लामा मोटरबाटोको संजाल जोडिन पुग्यो । जिल्लाबाट गाउँ गाउँ मोटर पुग्न थाल्यो । त्यसपछि हवाइमैदान बन्द हुँदै गएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशभर ५४ वटा विमानस्थल छन् । जसमध्ये ३५ वटा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । संचालनमा भने ३२ वटा विमानस्थल मात्र छन् । मोटरबाटोअघि बनेका देशभरका २२ वटा विमानस्थल बन्द छन् ।

मोटरबाटो बन्नुअघि चलेका विमानस्थल चलाउन दलका स्थानीय नेता र स्थानीय सरकारहरु लागिपरेका छन् । यसका उदाहरण हुन्, बलेवा र पालुङटार विमानस्थल ।
बागलुङ सदरमुकामदेखि बलेवा विमानस्थल जाने मोटरबाटो अझै कच्ची छ । गएको बर्खामा बाढीले बागलुङ बजारदेखि बलेवा जाने मोटरबाटो ४ महिना बन्द भएको थियो । त्यही बेला बलेवा विमानस्थल संचालन गर्न सरकारले ८ करोड बढी बजेट छुट्याएर विमानस्थलका संरचना बनाउन खर्चदै थियो ।

बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र बाहेक अरु काम सकिएको बताए । धावनमार्ग कालोपत्र गर्ने काम पनि छिट्टै थालिने उनको भनाई छ ।
बलेवा विमानस्थलको संरचना तयार भएपछि नियमित हवाई उडान हुने उनको दाबी छ । मुस्ताङको जोमसोम विमानस्थल विहान ११ बजेपछि संचालन हुन नसक्ने भएकाले बलेवा विमानस्थल विकल्प हुने उनले बताए ।
‘बलेवा विमानस्थल मज्जाले चल्न सक्छ, बागलुङ, मुस्ताङ, पर्वत, म्याग्दी र गुल्मीका मान्छे हवाइजहाज चढेर बलेवा झर्न सक्छन्,’ उनले भने, ‘नियमित उडान हुने हो भने यात्रुको अभाव हुँदैन ।’

पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल पनि पालुङटारमा नियमित उडान भर्न सम्भव हुने दाबी गर्छन् । पालुङटार विमानस्थल बनाउन ४ करोड बढी बजेट सरकारले विनियोजन गरेको भन्दै उनले ठेकेदारले विमानस्थलको जग्गा तारबार गरेर हराएको बताए ।

काठमाडौंबाट सडकमार्फत पालुङटार पुग्न कम्तिमा ४ घण्टा लाग्ने भन्दै उनले विमानस्थल चल्न सके १५ मिनेटमा पुग्न सकिने उनको भनाई छ । ‘मान्छेको क्रयशक्ति बढाउन सक्नुपर्छ, विमानस्थल चल्छ,’ उनले भने, ‘गोरखा, लमजुङ, तनहुँ र मनाङसम्मका मानिसलाई पालुङटार विमानस्थलले सेवा दिनसक्छ ।’
नेपाल विद्युत प्राधिकरणका एक अधिकृतले यी विमानस्थलमा आधुनिक पूर्वाधार बनाए पनि संचालन गर्न असम्भव भएको दाबी गरे । ‘नेताको लहडमा बजेट विनियोजन गरेर विमानस्थलका संरचना बनेका छन्, यी विमानस्थल चल्न सक्दैनन्’,ती अधिकारीले भने, ‘यी विमानस्थलमा गरिएका लगानी खेरजाने निश्चित छ ।’

मोटरबाटो बन्नुअघि चलेका विमानस्थल ब्युउँताउन स्थानीय जनप्रतिनिधी र दलका नेता लागिपरे पनि अहिले सडक संजालमै पनि थप लगानी भएकाले ति विमानस्थल आवश्यक नरहेको ति अधिकारीको भनाई छ ।
‘पोखरादेखि बागलुङ जाने मोटरबाटो मध्यपहाडी लोकमार्गले फराकिलो बन्दैछ, यस्तै, मुग्लिन पोखरा सडक ४ लेनको बनाउन प्रक्रिया सुरु भइसकेको छ,’ ति अधिकारीले भने, ‘यी बाटो बनिसकेपछि मोटरबाटै अहिले भन्दा छोटो गन्तव्यमा पुग्न सकिने अवस्था आएपछि विमानस्थल झनै संचालन हुन सक्दैनन् ।’

यता, विमानस्थल संचालन गर्न स्थानीय जनप्रतिनिधी र दलका नेताले पालुङटार हवाइमैदानमा अन्य पूर्वाधार बनाउन पनि दिएका छैनन् । मस्र्याङ्दी करिडोर प्रशारण लाइन बनाउन विमानस्थलको जग्गा प्रयोग गर्न नदिएपछि लामो समय विवादित बनेको थियो । जसका कारण विद्युत प्राधिकरणले पालुङटार विमानस्थललाई छलेर थप खर्चमा अर्को रुटबाट प्रशारण लाइन बनाउने निर्णय गर्नुपरेको थियो ।

मनाङको हुम्डे विमानस्थल र बागलुङको बलेवा विमानस्थल संचालन गर्न गण्डकी सरकारले विमान चार्टर गरेर लगेको थियो । यी दुबै विमानस्थल नियमित संचालन गर्न प्रदेश सरकारले सघाउने भन्दै तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको जम्बो टोली चार्टर जहाज चढेर ति विमानस्थल ओर्लेका थिए । तर चार्टर विमान फर्केपछि फेरी यी विमानस्थलमा हवाइजहाज गएन । हवाई कम्पनीले ति गन्तव्यमा जाने यात्रु पाएनन् ।

नेपालमा रहेका विमानस्थल संचालनका संभाव्यता अध्यन नै नगरी जथाभावी लगानी भइरहेको अध्येता दिनेश प्रसाइले बताए । लहडमा बजेट विनियोजन गरेर पूर्वाधार बनाए पनि सडक बन्नुअघि चलेका विमानस्थल अब चलाउन गाह्रो हुने उनको भनाई छ ।
‘बलेवा, पालुङटार जस्ता विमानस्थल भविष्यमा पनि संचालन हुन धेरै गाह्रो छ,’ उनले भने, ‘त्यहाँ हवाइ यात्रामा जाने यात्रु को हुन्, कसरी संचालन हुन सक्छ भनेर अध्यन नै नगरी बजेट खर्च भएको देखिन्छ ।’
पोखरा विमानस्थलबाट उक्त गन्तव्यमा जहाज उड्न नसक्ने प्रसाइले दाबी गरे । सडकबाटै २ घण्टाको बाटोमा हवाइ कम्पनीले उडान भर्न नसक्ने उनको भनाई छ । बलेवा र पालुङटार एयरपोर्ट जाने यात्रु पोखरा विमानस्थलबाटै यात्रा गर्न सक्ने उनले बताए ।

नयाँ आन्तरिक विमानस्थल संचालन गर्न अहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुट पाउन अप्ठ्यारो अवस्था आइसकेको प्रसाइको तर्क छ । ‘काठमाडौंबाट आत्रिक उडान भर्न अहिले नै रुट पाउन मुस्किल भइसक्यो, त्यही कारण आन्तरिक उडानमा ढिलाई भइरहेको छ,’ उनले भने, ‘यस्तो स्थितिमा पालुङटार वा बलेवा विमानस्थलमा हवाइसेवा संचालन गर्न एयर कम्पनीले रुट पाउन गाह्रो देख्छु ।’
राजमार्ग बन्नुअघि चलेर अहिले बन्द भएका उक्त विमानस्थलहरु संचालन भए पनि महँगो पर्ने उनले बताए । नेताहरुले भोटका लागि मात्र विमानस्थल बनाउन खोजेको देखिएको टिप्पणी गर्दै उनले चल्नै नसक्ने विमानस्थल बनाएर राज्यले आम नागरिकले तिरेका करको दुरुपयोग गरेको बताए ।

‘बलेवा र पालुङटार जस्ता धेरै विमानस्थल अहिले फेरि चलाउने भनेर बजेट खर्च भइरहेका छन्, ती ठाउँमा दिनदिनै जहाज चढेर मानिस किन आउजाउ गर्ने,’ उनले भने, ‘कम्तिमा ति क्षेत्रबाट दिनहुँ कति मानिसले हवाई सेवा लेलान् अध्यन गर्नुपर्ने हो, हचुवामा बजेट खर्च गरेर संचालन हुन सकेन भने सर्वसाधारणको करको दुरुपयोग मात्र हुन पुग्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->