बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘आचारसंहिता हरेक दिन पालना गरौं’

‘आचारसंहिता हरेक दिन पालना गरौं’


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०७८, बुधबार

बागलुङ/ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्र सधै आचारसंहिताको सिमामा बस्नुपर्ने बताएका छन् । उनले काउन्सिलको काम आम पत्रकार र संचारक्षेत्रलाई आचारसंहिताको बाटो हिँडाउने काम भएपनि पत्रकारहरु बढी सचेत बन्नुपर्ने बताए । उनले सयौं राम्रो काम गरेपनि एउटै नराम्रो कामले टिकाटिप्पणी बढाउने भन्दै हरेक दिन पत्रकारले परीक्षा दिनुपर्ने समेत बताए ।

नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा काउन्सिलले आयोजना गरेको पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै बस्नेतले राज्यका तीन अंगलाई समेत टिप्पणी गर्न सक्ने अंग महत्वपूर्ण चौथो अंग भएको बताए । ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको समेत आलोचना गर्न हामी आँफै स्वच्छ र मर्यादित बन्नुपर्छ’ उनले भने, ‘आफ्नो क्षमता र दक्षता बढाउने, निरन्तर आचारसंहितामा दृढ बन्ने अवस्थाबाट मात्रै अर्काको टिप्पणी गर्न सकिन्छ ।’ उनले काउन्सिलको काम पनि जागरण फैलाउने भएकोले निरन्तर चासो गरिएको बताए ।

हरेक पत्रकार नागरिकले पत्याउने बन्नुपर्ने भन्दै कार्यक्रममा आएका सहायक प्रजिअ गणेश पौडेलले हरेकको आचारसंहिता हुने बताए । पत्रकार, कर्मचारी वा जो–सुकै पेशाकर्मीले आफ्नो आचारसंहिता पालना नगरे देशको अखण्डतामा असर पर्ने बताए । ‘महत्वपूर्ण सूचना भएका कर्मचारी र सूचना प्रवाह गर्ने पत्रकार संवेदनशिल नभएमा राज्यले ठूलो क्षति व्यहोर्छ’ उनले भने,‘समग्रतामा संविधानको पालना गर्ने र गर्न लगाउने काम पत्रकारको हो ।’ आचारसंहिता सबैलाई लागेपनि पत्रकार र कर्मचारीको संहिताप्रति धेरैको चासो हुने उनलेब ताए ।

नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विकको अध्यक्षता, सहसचिव तारानाथ आचार्यको संचालन र सदस्य नारायण रिजालको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, प्रहरी निरिक्षक विराट शर्मा लगायतले आचारसंहिताबारे बोलेका थिए । पछिल्लो समय साइबरक्राइमको रुपमा मुद्दाहरु प्रहरीमा आउने गरेको दृष्टान्त पनि उनले सुनाए ।

कार्यक्रममा पत्रकार पुण्य पौडेलले पत्रकार आचारसंहिताबारे सहजीकरण गरेका थिए । बिसं १९५८ बैशाख ११ गतेनै नेपाल सरकारले पत्रकार आचारसंहिता जारी गरेर त्यसको १३ दिनपछि बैशाख २४ गते गोरखापत्र प्रकाशन थालेको उनले जानकारी दिए । ‘आचार संहिता पालना गराएर मात्रै पत्रिका प्रकाशन सुरु भएको इतिहासले पनि हामी सचेत बन्नुपर्छ भन्ने सन्देश दिन्छ’ उनले भने, ‘हरेक पत्रकारले नागरिकभन्दा आफ्नो अधिकार बढी छैन भन्ने सोचेमा पत्रकारिता पनि स्वच्छ र मर्यादित बन्छ ।’ कार्यक्रममा जिल्लाका पत्रकार, रेडियोकर्मी तथा कार्यक्रम संचालकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->