तनहुँ/ पहिलो र दोस्रो लहरको कोरोना कहरमा घिरिङ गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुदाँको अभाव धेरै खड्कियो । कोरोना संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनलाई पनि समस्या भयो । गाउँपालिकाले भाडामा गाडी लिएर चलायो । भाडाको गाडी मंहगो परेपछि गाउँपालिकाको गाडी समेत प्रयोग गरियो ।
गाउँपालिकामा भुप सैनिकले सञ्चालन गरेको एउटामात्रै एम्बुलेन्स थियो । त्यो पनि भनेको बेलामा चढ्न नपाउने समस्या थियो पालिकावासीलाई । गाउँपालिकाले आफ्नै एम्बुलेन्सको आवश्यकता महशुस गर्दैआर्थिक बर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रममा ‘सुत्केरी, दुर्घटनामा परेका घाईते र ७५ बर्ष उमेर माथीका विरामीलाई अस्पतालसम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ’, भनेर उल्लेख ग¥यो ।
नीति तथा कार्यक्रममा एम्बुलेन्सको व्यवस्था गरिनेछ भनेर बुदाँमात्र राखेन गाउँपालिकाले १५ लाख रुपैयाँ एम्बुलेन्स खरिद शिर्षकमा बजेट पनि छुट्यायो । सोही बजेटले गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ ।
भन्सार छुट गरेर १० लाख ८० हजार रुपैयाँमा खरिद गरी ल्याईएको एम्बुलेन्स घिरिङ सुन्धारा स्वास्थ्य चौकीलाई हस्तानतरण गरेको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए । उनका अनुसार एम्बुलेन्स सञ्चालन र व्यवस्थापन स्वास्थ्य चौकीमार्फत हुनेछ ।
गाउँपालिकाको एम्बुलेन्स सञ्चालनमा आएपछि विरामीले छिटो, सहज र सर्वसुलभ तरिकाले अस्पताल आउजाउ गर्न पाउने अध्यक्ष रानाले बताए । ‘गाउँपालिकामा भुपु सैनिकले चलाएको एउटामात्रै एम्बुलेन्स थियो । बर्खाको बेला जताततै गाडी चल्न नसक्ने अवस्थामा अस्पताल जानलाई गाउँगाउँका विरामीलाई समस्या भएको थियो । घिरिङमा एम्बुलेन्स अति आवश्यकथियो । गाउँपालिकाले खरिद गरेर सञ्चालन गरेको छ । अब त्यो समस्याहट्छ’, उनले भने ।
७५ बर्ष उमेर पुगेका ज्येष्ठनागरिक, दुर्घटनाका घाईते र सुत्केरीलाई एम्बुलेन्सले निशुल्क सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले बताए । ‘सुत्केरीको हकमा यहाँको स्वास्थ्य संस्थाबाट रिफर गरेकालाई निशुल्क बोक्छ’, रिमालले भने ।
आँबुखैरेनी गाउँपालिकाले पनि कोरोनाको बेला अभाव खड्किएपछि एम्बुलेन्स खरिद गरेर पुसको अन्तिमदेखी सञ्चालनमा ल्याएको छ ।
आफ्नै एम्बुलेन्स नभएको देवघाट गाउँपालिकाको हालै सम्पन्न नवौ गाउँ सभामार्फत गाउँपालिका अन्तर्गत रहने गरेर एम्बुलेन्स खरिद गर्ने प्रस्ताव पारित गरेको छ ।





