बलात्कार प्रयास गर्दादेखि नै हेमनले पीडित युवतीलाई मुद्दामामिला गरे फसाइदिने धम्की दिएका थिए । मुद्दा चल्दै गर्दासमेत पटकपटक धम्की दिएर बाउन्स चेकमा फसाइदिने धम्की दिँदै आएका थिए ।
पोखरा/ पोखरामा बलात्कार पीडित महिलालाई थुनामा पठाउन ५५ लाख रुपैयाँको ठगीको झुटो मुद्धा चलाइएको छ । त्यतिका रकम कारोबारको प्रमाणसमेत नजुटाई प्रहरीले उच्च अदालत पोखरामा मुद्धा दायर गरेर अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
लमजुङबाट पोखरा पढ्न आएकी एक युवतीलाई बागलुङको जैमिनी नगरपालिकाका हेमन पुनले २०७७ साउन ३१ गते बलात्कार प्रयास गरेका थिए । कार्यालयमा सामान लिन जाँदा ती युवतीलाई हेमनले बलात्कार प्रयास गरेको जिल्ला अदालत कास्कीले फैसला गरेको थियो ।
फैसलामा हेमनले बलात्कार प्रयास गरेकाले ३ वर्ष ६ महिना कैद र पीडित युवतीलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको थियो । अहिले उनी कारागार पुगेका छन् । बलात्कार प्रयास गर्दादेखि नै हेमनले पीडित युवतीलाई मुद्दामामिला गरे फसाइदिने धम्की दिएका थिए । मुद्दा चल्दै गर्दासमेत पटक –पटक धम्की दिएर बाउन्स चेकमा फसाइदिने धम्की दिँदै आएका थिए ।
युवती हेमनको कम्पनीका व्यवस्थापक थिइन् । उनले कार्यालयमा आफ्नो टेवलको घर्रामा सही गरेर छाडेको चेक लिएर हेमनले अझै पनि तनाव दिने र फसाइदिने धम्की दिइरहेका छन् । पीडित युवतीलाई फसाउन उक्त चेकमा एउटामा ८ लाख र अर्कोमा ४७ लाख लेखेर आफूले लिनुपर्ने ५५ लाखको चेक बनाएका छन् । त्यतिका रकम कारोबार नै नगरेका युवतीको खाताबाट रकम निकाल्दा खोज्दा चेक बाउन्स भएपछि हेमनले मुद्दा हालेका थिए ।
हेमनले दिएको ४७ लाख चेक बाउन्सको मुद्धा उच्च अदालतमा पुगेको छ भने जिल्ला अदालतमा चेक अनादरको मुद्धा हालेका छन् । उच्च अदालतले प्रारम्कि सुनुवाई गरी कारोबार भएको प्रमाणित नहुँदा समेत बलात्कार पीडित युवतीलाई थुनामा पठाएको छ ।
युवतीको टेवल घर्राबाट सही गरेर चेक निकालेर आफूलाई बाउन्स चेकमा फसाइदिने धम्की दिएको भन्दै उक्त बोहोराको निवेदन युवतीले जिल्ला कार्यालय र बैंकमा दिएकी थिइन् । उनले प्रहरीलाई दिएको उक्त निवेदनमा आफूलाई बलात्कार गरेको र त्यसको कानुनी कारबाहीमा गएपछि फसाउन उक्त प्रपञ्च रचेको र उक्त चेक उपलब्ध गराई पाऊँ भनी निवेदनसमेत गरेकी थिइन् ।
तर, प्रहरीले उक्त निवेदन उपर कुनै कारबाही चलाएन । उल्टै बलात्कार पीडित युवतीलाई फसाउने पीडकको योजना अनुसार कारोबारको प्रमाण समेत नखोजी उच्च अदालतमा मुद्धा दिएका छन् । पीडित युवतीले उक्त चेकको सही आफ्नो र भरिएको विवरण आफ्नो नभएको बताएकी छिन् । हेमनलाई कुनै पैसा दिन नभएको तर आफूले साढे २ महिनाको ८० हजार तलब पाउनै बाँकी रहेको युवतीले बताएकी छिन् ।
हेमनले ५५ लाख रुपैया युवतीलाई उपलब्ध गराएको प्रमाण समेत दिन सकेका छैनन् । उनले नगदै त्यतिका रकम दिएको दाबी दिएका छन् । जबकि बैंकबाट एक लाख बढी रकम निकाल्दासमेत स्पष्ट प्रयोजन खुलाउनुपर्ने प्रावधान छ । हेमनले त्यतिका रकम कहाँबाट कुन मितिमा उपलब्ध गराए र कुन मितिमा के प्रमारण लिएर पीडित युवतीलाई उपलब्ध गराएको खोजविन समेत गर्न सकेको छैन ।
यता, युवतीले खाता खोलेको प्रभु बैंक र कामना सेवा विकास बैंकले समेत पीडित युवतीले आफ्नो खाताबाट कुनै पनि चेक कारोबार नगर्न दिएको निवेदनको पनि उल्लङ्घन गरेको छ । चेकमा पैसा नभएर बाउन्स जनाएको दुबै बैंकबाट कारोबार सम्बन्धी कुनै काम कारबाही नगर्न युवतीले निवेदन दिएकी थिइन् ।
प्रहरीको लापरबाही, फितलो अनुसन्धान र बैंकको गलत नियतले पीडित युवतीलाई नै थुनामा पठाएको हो । उक्त मुद्धामा उच्च अदालतले समेत पीडित युवतीलाई झनै पीडा हुने गरी ४७ लाख रुपैयाँको धरौटी बुझाउन र नबुझाए जेल चलाउन गर्न दिएको आदेशले बलात्कार पीडितलाई झनै पीडा दि राज्यको अंगहरुले लागिपरेको यस घटनाले देखाएको छ । अदालतले समेत पीडित युवतीलाई दिएको भनिएको रकमको प्रमाण, पीडक हेमनले दाबी गरेजस्तो कुनै कम्पनीमा गरिएको लगानीको प्रमाण र युवतीसँगको सम्पत्तिको अवस्था समेत बुझ्न आवश्यक ठानेन ।
अदालतको आदेश शिरोधार्य गर्दै पीडित युवतीका परिवारले धरौटी राख्ने रकमको जोहो गर्दैछन् । उनीहरुले वडा कार्यालयबाट ४७ लाख रुपैया बराबर घरखेतको मुल्याङ्कन गरेर ल्याए पनि अदालतले स्वीकार गरेन । मालपोतबाट सरकारी दर अनुसार घरखेतको मुल्याङ्कन गर्दा १ लाख पनि आउन नसकेको एक जनप्रतिनिधिले बताए ।
‘पीडितलाई यति ठुलो रकम लिएको आरोप लगाएर बलात्कारीले खुशीयाली मनाएको छ,’ ति जनप्रतिनिधिले भने, ‘हाम्रो प्रहरी, प्रशासन र अदालतले बलात्कार जस्तो संवेदनशील घटनाका पीडितलाई न्याय दिन भन्दा पीडितलाई नै पीडा दिन उद्धत देखियो ।’
यस विषयमा उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले अदालतबाट आदेश भइसकेपछि फिर्ता गर्न नमिल्ने बताए । ‘उहाँहरु सर्वोच्च अदालत गएर आदेश रद्द गर्न सक्नुहुन्छ, यहाँबाट आदेश भइसकेपछि फिर्ता गर्न मिल्दैन,’ पौडेलले भने, ‘हामीसँग अरु विकल्प छैन ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले पनि उक्त घटनाका बारेमा आफुले बुझ्न पर्ने बताए । ‘यसबारे बुझेर मात्र भन्न सक्छु,’ उनले भने ।





