शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मलेसियाबाट फर्केका विकलाई कोरोनाले कुखुरापालनमा जगायो

मलेसियाबाट फर्केका विकलाई कोरोनाले कुखुरापालनमा जगायो


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७८, बिहिबार

बागलुङ/ कोरोना संक्रमणले संसारलाई पिरोल्नुअघि उनी मलेसियामा होटल क्षेत्रमा काम गर्थे । झण्डै १२ बर्षको बसाइमा उनले धेरै पैसा कमाउन सकेनन् । तर काम र सिप भने धेरै सिकेका थिए । गलकोट नगरपालिका–११ रिघाका भबिन्द्र बिकले देश फर्केर होटल चलाउने चाहना राखेका थिए ।

लगानी गर्न नसके अन्य देशमा गएर होटलमै काम गर्ने चाहना उनको थियो । मलेसियाभन्दा खाडीका अन्य मुलुकमा धेरै तलब पाइने थाहा पाएपछि नेपाल फर्केर त्यता जाने योजनामा थिए । त्यस्तैमा संसारभर कोरोनाको संक्रमण फैलियो । काम छाडेर नेपाल फर्कन बाध्य भएका भबिन्द्र कोरोनाले दुई बर्षदेखि नेपालमै रोकिए ।

गाउँमा खेतीपाती खासै थिएन । ठूलो लगानी गर्ने पैसा पनि भएन । न त बिदेश जान संभव भयो । त्यसपछि भने उनले कृषि पेशामा लाग्ने चाहना राखे । छोराछोरी पढाएर सदरमुकाम बसेकी पत्नी जुनमायाको सल्लाहमा बिकले सदरमुकाम आसपास कुनै व्यवसाय गर्ने चाहना बढाए । बजारमा कुनै पसल वा अन्य व्यवसाय गर्न लाखौं रकम चाहिने भएपछि उनले बजार नजिकैको गाउँ रोजे ।
रात्माटास्थित खाली रहेका घरको सदुपयोग गर्दै कृषि कर्म गर्ने उनले चाहना बढाए । त्यसमा उनले स्थानीय लक्ष्मण सापकोटाको घर भेटाए । सदरमुकाममा व्यवसाय गरेर बसेका उनको घर खाली थियो । त्यहीं घर भाडामा लिएर उनले अहिले कुखुरा, हाँस र बट्टाइ पालन थालेका छन् ।

यो पेशामा अहिलेसम्म १० लाख लगानी गरेका बिकले बिस्तारै फाइदामा जान लागेको बताए । ‘गाउँ गएर पनि केही गर्न सकिंदैन, त्यसैले यहीं बसेर काम गर्ने सोचाइले लगानी बढाएँ’ बिकले भने, ‘अझै लगानी थप्नुपर्ने छ, फाइदा कमाउन थालेको छु ।’ उनको फर्ममा अहिले २ सय हाँस, २ सय बट्टाइ र ३ सय कुखुरा छन् ।

उनले लोकल कुखुरा पालेकोले दाना धेरै चाहिंदैन । केही दानासँगै दिउँसो बारीमा चराउने समेत गर्छन् । बट्टाइको अण्डा धेरैले खोज्ने भएकोले लगानी बढाएर अझै फाइदा लिने योजनामा उनी छन् । ‘मलेसियामा पनि बट्टाइको अण्डा देखेको थिएँ, तर त्यतिबेला थाहा थिएन, ढुकुरको अण्डा पनि बिक्री हुने रहेछ भन्थें’ बिकले भने, ‘बल्ल थाहा पाएँ, बट्टाइ अण्डाका लागि बढी महत्व रहेछ ।’

कोरोना संक्रमणपछि बट्टाइको अण्डाको माग बढेको उनले बताए । बट्टाइको अण्डा बालबालिकालाई खुवाएमा निमोनियाबाट बचाउने, अन्य मानिसले खाँदा रोगप्रतिरोधी क्षमता बढ्ने स्वास्थ्यकर्मीले समेत बताएपछि उनी यो पेशामा हौसिएका छन् ।
बार्षिक ७० हजार भाडा तिरेर भाडामा लिएको घरको बारी पनि उनले सदुपयोग गरेका छन् । बारीमा सागपात लगाएका उनले केही खण्डमा बेमौषमी तरकारीको समेत योजना बनाएको सुनाए । ‘पुराना र अग्ला रुखहरु काटेर कागती रोप्ने, बारीमा तरकारी लगाउने योजना छ’ उनले भने, ‘घरका साहुसँग पनि छलफल भैरहेकोले अब त्यसतर्फ लगानी गर्नुपर्ला ।’

लगानी बढ्दै गएपछि उनले सरकारी निकायमा अनुदान बारेपनि खोजी गरेका थिए । तर उनले अनुदान पाएनन् । ‘कागज मात्रै मिलाएर खानेलाई अनुदान पाइने रहेछ, काम गरेकाहरुले कागज राम्रो बनाउन नसकिने रहेछ’ उनले भने, ‘तरपनि हिम्मत हारेको छैन, काम गरेरै देखाउने हो ।’ ‘जग्गा भाडामा लिएर पनि यतिको मेहेनत गर्ने चाहना राख्नु भएको छ, उहाँलाई हामीले हौसला दिएका छौं’ स्थानीय कल्पना शर्माले भनिन्, ‘मेहेनती किसानलाई साथ दिने निकाय चाहिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->